• २३ कात्तिक २०८२, आइतबार

टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन

blog

नेपाल टेलिकमको निरीक्षणपछिको कार्यक्रममा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायत ।

काठमाडौँ, कात्तिक  २३ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको पहुँच विस्तारसँगै सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। 

आइतबार नेपाल टेलिकमको निरीक्षण तथा ‘एनटी फाइबर विद्यार्थी अफर’ घोषणा कार्यक्रममा मन्त्री खरेलले नेपाल टेलिकमलाई सुशासनयुक्त कम्पनीको रुपमा स्थापित गर्न निर्देशन दिनुभएको हो। 

उहाँले भन्नुभयो,“सरकारको पहिलो प्राथमिकता निर्वाचन र सुशासन हो, त्यसैले अब टेलिकमको सेवालाई सुशासनसँग जोडेर हेर्नैपर्छ। सुशासनसँगै जोडेर मैले यो कुरा भनेको हुँ, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि प्रयास गर्नैपर्छ। छोटो अवधि भएपनि केही न केही काम गर्नुपर्ने यो सरकारलाई दबाब छ, चुनौती र ऊर्जा पनि छ।”

सञ्चारमन्त्री खरेलले नेपाल टेलिकमको काममा ढिलाइ गर्ने वा जनतालाई गुणस्तरीय सेवा नदिने ठेकेदारहरुको सम्झौता तत्काल रद्द गर्न पनि निर्देशन दिनुभयो। “टावरलगायत पूर्वाधारको काममा जो–जो ठेकेदारले समयमै काम नगरेर ‘होल्ड’ गरेका छन्। उनीहरुको ठेक्का रद्द गरेर काम गर्ने ठेकेदारलाई जिम्मा दिनुपर्छ”, उहाँले भन्नुभयो।

राष्ट्रको सञ्चार टेलिकमले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन आग्रह गर्दै मन्त्री खरेलले टेलिकमको कुनै पनि अफ्ठ्यारामा सरकार र मन्त्रीको सधै साथ सहयोग रहने विश्वास दिलाउनुभयो। सञ्चारमन्त्री खरेलले भन्नुभयो, ‘टेलिकमको सेवा गुणस्तरीय र प्रभावकारी हुनुपर्ने छदैछ तर टेलिकमले आफूलाई अब सुशासनयुक्त कम्पनीको रुपमा स्थापित गर्नुपर्नेछ। सुशासनका सुखद् समाचार जनमानसमा आउन जरुरी छ, यो मेरो अपेक्षा छ। टेलिकमलाई नेपालको अब्बल संस्थाको रुपमा स्थापित गर्न जरुरी छ।”

उहाँले मन्त्रालयमा टेलिफोन र इन्टरनेट प्रभावकारी नभएको गुनासो आइरहेको भन्दै दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तार र सेवाको गुणस्तर अभिवृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो।


एनटी फाइबर विद्यार्थी अफर  

नेपाल टेलिकमले विद्यार्थीवर्गलाई लक्षित गर्दै आजदेखि फाइबर विद्यार्थी अफर प्रारम्भ गरेको छ। टेलिकमले २०५४ साल वा सोपछि जन्ममिति भएका विद्यार्थीका लागि किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट प्रदान गर्न एनटी फाइबर विद्यार्थी अफर सञ्चालनमा ल्याएको हो। नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री खरेलले उक्त अफरको शुभारम्भ गर्नुभयो। 

मन्त्री खरेलले आर्थिक रुपले सक्षमता नभएका विद्यार्थीवर्गका लागि सूचना प्रविधिमा पहुँच स्थापित गर्ने उद्देश्यले सहुलियतपूर्ण विशेष उपहार प्रदान गरेकोमा नेपाल टेलिकम परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो।

सञ्चारमन्त्री खरेलले टेलिकमको ‘भ्वाइस’ र ‘डेटा’ सञ्चार सम्बन्ध र सम्पर्कका महत्वपूर्ण शूत्र हुन् भन्दै यसलाई बद्लिदो परिवेश र प्रविधियुक्त बनाइनुपर्नेमा जोड दिनुभयो।