नेपाली राजनीतिमा २००७ सालको परिवर्तनदेखि २०८२ सम्म सात दशक लामो प्रयोग र परीक्षण हुँदै आएको छ । प्रजातन्त्रदेखि गणतन्त्रसम्म प्रत्येक चरणमा नयाँ व्यवस्था, नयाँ नेतृत्व र नयाँ आशा जन्मिए । हरेक पटक नयाँ सत्ताले पुरानो प्रणालीको आलोचना ग¥यो र जनताले नयाँपनलाई स्वीकार गरे । समयक्रमसँगै नयाँ भन्नेहरूको प्रवृत्ति, चरित्र र सोच फेरिएको छैन । परिणामस्वरूप, संरचनागत परिवर्तन भए पनि सोच र संस्कारमा स्थिरता आउन सकेको छैन ।
अबको राजनीति केवल सत्ता कब्जा गर्ने माध्यम होइन, राष्ट्र पुनर्निर्माणको जिम्मेवारी हो । नयाँ पुस्ताले केवल गल्ती नगर्ने मात्र होइन, ढिलो नगर्ने पनि सङ्कल्प लिनु पर्छ । देशलाई व्यावहारिक, जिम्मेवार र निष्ठामूलक वैकल्पिक राजनीतिमा डोहो¥याउने समय आएको छ । वैकल्पिक राजनीति केवल अर्को पुरानो पार्टीको विकल्प होइन; यो विचार, संस्कार र जिम्मेवारीको पुनर्निर्माण हो । नयाँ दल बनाएर मात्र होइन, पुराना दलमा नेतृत्व हस्तान्तरण, पार्टी रूपान्तरण र पुस्तान्तरणमार्फत पनि सम्भव छ । समस्या सिद्धान्तमा होइन, नेताहरूको प्रवृत्ति, सोच र कार्यक्षमतामा छ ।
राजनीतिले शिक्षा र स्वास्थ्यलाई राज्यको केन्द्रीय जिम्मेवारी मान्नु, भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चित गर्नु र दलित, महिला, मधेशी तथा अल्पसङ्ख्यक समुदायको हित राज्यको मूल प्रवाहमा समेट्नु आवश्यक छ । सङ्कटग्रस्त समाजमा जब शिक्षा, व्यापार र स्वास्थ्य सुविधा हैसियतको विषय बन्छ, तब नयाँ मूल्य, आचरण र चेतनाको राजनीति अपरिहार्य हुन्छ । भदौ २३–२४ को जेनजी आन्दोलनले स्पष्ट ग¥यो, सत्ता तत्काल बदलिन सक्छ तर संस्कार बदल्न समय लाग्छ ।
सत्ता बदल्न समय लाग्दैन भन्ने पुष्टि भदौ २३ र २४ को प्रदर्शन र ध्वंसले प्रमाणित गरिसकेको छ । जेनजी आन्दोलनको बलमा दुई तिहाइको दुई ठुला र पुराना दलको सरकार कसरी दुई दिनमै गल्र्याम गुर्लुम्म ढल्यो । सायद विश्वकै लागि यति शीघ्र सत्ता उलटपुलटको घटना दुर्लभ र अनुसन्धानको विषय बन्ने छ । जसरी सरकार रातारात बदलियो त्यसरी संस्कार बदल्न सकिन्न । समय लाग्छ । तसर्थ यथास्थितिवादसँग सम्झौता नगरी व्यवहारसँग तादात्म्य राख्ने नयाँ राजनीतिक मूल्यको उद्घोषको अपरिहार्यता देखिएको छ ।
अब नयाँ वैकल्पिक राजनीतिक दलले भ्रष्टाचारप्रति शून्य सहनशीलता, निष्ठा, सेवा र सार्वजनिक उत्तरदायित्वको संस्कार निर्माण गर्नु पर्छ । राजनीति अब कमाउने पेसा र व्यवसाय नभई जनताको विश्वास जित्ने माध्यम हुनु पर्छ । अबको वैकल्पिक राजनीति जातीय छुवाछुत, लैङ्गिक भेदभाव, वर्गीय शोषण र जातिवादलाई अस्वीकार गर्दै, समता र सम्मानमा आधारित समाजको परिकल्पना प्रस्तुत गर्नु पर्छ । देश र कर्मलाई प्राथमिकतामा राखेर चेतना, विवेक र मूल्यको राजनीतिमा विश्वास गर्ने, कर्म श्रेष्ठतालाई मर्यादा दिने र जीवनपद्धतिमा देशप्रेम खोज्ने नेतृत्व आवश्यक छ । वैकल्पिक राजनीति आकस्मिक प्रतिक्रिया होइन; यो विगतको समीक्षा, वर्तमानको आत्मावलोकन र भविष्यप्रतिको जिम्मेवार सङ्कल्प हो । समय आएको छ केवल सत्ता मात्र होइन, संस्कार र मूल्य परिवर्तनको राजनीति अघि बढाउने । यही मूल्य र दृष्टिकोणले मात्र सामाजिक र राजनीतिक रूपान्तरण सम्भव छ ।
शिक्षा र स्वास्थ्य : अधिकार होइन, आधार
हाम्रो वैकल्पिक राजनीतिको पहिलो सूत्र हो शिक्षा र स्वास्थ्यमा समान पहुँचको ग्यारेन्टी । हामी मान्छौँ, कुनै पनि राष्ट्रको समुन्नत आधार त्यस्तो शिक्षा प्रणाली हो, जुन सोच्न सिकाउँछ, प्रश्न गर्न सिकाउँछ र आफ्नो अधिकार बुझ्न सिकाउँछ । स्वास्थ्य यस्तो सेवा हुनु पर्छ जुन सुविधा होइन । अधिकारको रूपमै रहेको संवैधानिक हकको व्यावहारिक कार्यान्वयन शीघ्रातिशीघ्र हुनु पर्छ ।
निष्ठा र भ्रष्टाचारशून्य शासन
राजनीतिको त्यो अनुशासन निर्माण होस् जहाँ भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरियोस् । भ्रष्टाचार अब सामान्यीकरण भएको छ । वैकल्पिक राजनीति भनेको स्वार्थ होइन, सेवा हो । त्यस्तो राजनीति जसले जनताको भरोसा गुमाउँदैन, जनतालाई प्रयोग गर्दैन, बरु जनताको आवाज बन्छ । यसका नेता पदमा होइन, आचरणमा ठुला हुन्छन् भन्ने दृष्टान्त बनोस् ।
श्रम र सिर्जनशीलताको सम्मान
वैकल्पिक राजनीतिले श्रमको मूल्य बुझ्नु पर्छ । समाजको परिकल्पना हुनु पर्छ । जहाँ हातको पसिना र मस्तिष्कको सिर्जनालाई बराबरीको सम्मान मिल्छ । श्रमिक, किसान, सिपालु हात, कलाकार, लेखक, शिक्षक, सुरक्षाकर्मी यी सबै राष्ट्रनिर्माणका असल आधार हुन् । आजसम्म उनीहरू उपेक्षित छन् । श्रमिकमुखी, उत्पादकत्वमुखी र सिर्जनशीलतालाई सम्मान गर्ने राजनीतिको केन्द्र रहनु पर्छ ।
भेदभावरहित समाजको प्रतिज्ञा
राजनीति तबसम्म नैतिक हुँदैन, जबसम्म त्यो सबैका लागि बराबरीको ग्यारेन्टी गर्दैन । वैकल्पिक राजनीतिको मूल आत्मा बन्नु पर्छ । जातीय छुवाछुतको पूर्ण अन्त्य, लैङ्गिक समानताको प्रत्याभूति, र वर्गीय विभाजनको खारेजी । यो राजनीति शक्तिमा आधारित हैसियत होइन, मानवीय गरिमा र अवसरको समता सुनिश्चित गर्न सिपालु बन्ने छ ।
स्वतन्त्रता र मर्यादाको समन्वय
स्वतन्त्रता र मर्यादा एकै सिक्काका दुई पाटा हुन् । स्वतन्त्रता व्यक्तिगत आकाङ्क्षाको प्रतीक हो, मर्यादा सामाजिक उत्तरदायित्वको बोध । आजको राजनीतिको चुनौती यही दुई बिच सन्तुलन ल्याउनु हो । अब अभिव्यक्ति स्वतन्त्र हुने छ तर अनियमित, अराजक र अमर्यादित हुने छैन । यही सन्तुलित स्वतन्त्रता नै नागरिक परिपक्वताको सूचक हो । जिम्मेवार स्वतन्त्रता र विवेकपूर्ण व्यवहार यसको मूलधार हुने छ ।
देश र कर्म : प्राथमिकताको शिखर
वैकल्पिक राजनीतिमा देश र कर्म सर्वोच्च छन् । देशप्रेम नारामा होइन, व्यवहारमा देखिन्छ । साँचो देशभक्ति कर्तव्य र उत्तरदायित्वमा निहित हुन्छ । नागरिकले राज्यबाट मात्र होइन, आफ्नै कर्मबाट पनि राष्ट्र निर्माण गर्ने संस्कारविकास गर्नु पर्छ । राजनीति त्यसको नेतृत्वकर्ताको भूमिका निर्वाह गर्ने छ ।
राजनीतिक कर्तव्यको निष्ठा
हामी मान्छौँ राजनीति भन्नाले केवल संसद्, सरकार वा दलको काम मात्र होइन । राजनीति त्यो चेतना हो, जसले व्यक्तिको कर्म, कर्तव्य र उत्तरदायित्वलाई सामाजिक रूपान्तरणको औजार बनाउँछ । जसले जहाँ बसेर जे काम गरिरहेको छ । ऊ त्यो काम कर्तव्यनिष्ठ भएर, इमानदार रूपमा, परिणाममुखी ढङ्गले गरिरहेको छ भने ऊ आफैँमा एक राजनीतिज्ञ हो ।
वैकल्पिक राजनीतिको मूल दृष्टिकोण यस्तो हुने छ : राजनीति केवल नेतृत्व गर्ने होइन, कर्तव्यपूर्वक कर्म गर्ने चेतना हो । कुनै शिक्षकले विद्यार्थीसँग न्याय गर्छ भने त्यो राजनीति हो । एक नर्सले बिरामीको सेवा इमानदारीपूर्वक गर्छ भने त्यो राजनीति हो । एक किसानले आफ्नो जमिन इमानले जोत्छ भने त्यो राजनीति हो । एक श्रमिकले पसिनाको कमाइमा गर्व गर्छ भने त्यो पनि राजनीति हो । यस्तो दृष्टिकोणले राजनीति सानो दायराबाट बाहिर निकालेर जनजीवनमै राजनीति हुन्छ भन्ने बोध जन्माउँछ । यसले राजनीतिलाई केवल ‘राजनीतिज्ञहरू’ को सम्पत्ति बनाउने परम्परालाई भत्काउँछ र नागरिकलाई नै यसको केन्द्रमा राख्छ । नागरिकलाई केन्द्रमा राख्ने र नेतालाई भगवान मान्ने परिपाटी भत्काउने राजनीति अबको मार्गचित्र र नयाँ नेपालको खाका हो । यही राजनीतिक चेतनाले नेतृत्वमा पनि परिवर्तन ल्याउँछ । नेता बन्नका लागि नारा होइन, कर्तव्य र परिणामको प्रमाण चाहिन्छ । राजनीति जहाँ नीतिनिर्माणको माध्यम होस्, न कि अवसर र पहुँचको साधन ।
निष्कर्ष
वैकल्पिक राजनीति कुनै दलविशेषको कार्यक्रम मात्र होइन, यो हाम्रो सामूहिक सपना, साझा उत्तरदायित्व र आगामी पुस्ताप्रतिको प्रतिबद्धता हो । आज हामीले नयाँ राजनीति सुरु गर्न सकेनौँ भने भोलि हाम्रो पुस्ताले पुराना गल्तीको मूल्य फेरि चुकाउनुपर्ने छ । आजैबाट सुरु गरौँ । संवेदनशील, विवेकशील, श्रममैत्री, विभेदरहित, निष्ठामूलक र अनुशासित वैकल्पिक राजनीतिको यात्रा । वैकल्पिक राजनीति असन्तुष्टिको मात्र भाष्य होइन; यो जनजीवनसँग प्रत्यक्ष जोडिने नीति, दृष्टिकोण र व्यवहारको मार्गदर्शन पनि हो ।
व्यवस्था बदल्न सजिलो हुन्छ तर व्यवस्थालाई व्यवस्थित र न्यायसङ्गत बनाउनु कठिन छ । यो कठिनाइ पार गर्ने वैकल्पिक शक्ति र सामथ्र्य हामीलाई चाहिएको छ । वैकल्पिक राजनीति असन्तुष्टिको भाष्य मात्र होइन, जनजीवनसँग प्रत्यक्ष जोडिने नीति र दृष्टिकोण पनि हो । व्यवस्था बदल्न सजिलो हुन्छ तर व्यवस्थालाई बनाउन कठिन हुन्छ । यो कठिनाइबाट पार लगाउने वैकल्पिक शक्ति र सामथ्र्य हामीलाई चाहिएको हो । वैकल्पिक नामधारी पुरानाहरूको नयाँ संस्करण अर्को एक थान नयाँ दल मात्र चाहिएको होइन । व्यवस्थालाई नैतिकता, पारदर्शिता र जनउत्तरदायित्वका साथ व्यवस्थापन गर्नु नै असली क्रान्ति हो, सामाजिक र राजनीतिक रूपान्तरण हो । मूल विषय राजनीतिको स्वच्छता हो । राजनीति निष्ठा र नैतिक हुनु पर्छ भन्ने आवाज नयाँ पुरना, वैकल्पिक निर्विकल्प सबैका लागि हो ।