• ३० वैशाख २०८२, मङ्गलबार

गाँजा खेती नष्ट गर्दै प्रहरी

blog

गाँजाका बोटहरु नष्ट गर्दै प्रहरी र स्थानीयवासी । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, साउन ५ गते । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ झिगौला गाउँस्थित मानखोला नदी किनारामा रहेको गाँजाका बोटहरु प्रहरी र स्थानीयवासीको पहलमा नष्ट गरिएको छ । प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा केहि दिनअघि उक्त गाँजा नष्ट गरिएको रनियापुर प्रहरी चौकीले जानकारी दिएको छ ।

विगत लामो समयदेखि त्यहाँ आफैं उम्रिएका गाँजा लागूऔषध दुर्व्यसनको कुलतमा लागेकाले सेवन गर्दै आइरहेको स्थानीयले सूचना दिएपछि उक्त स्थानमा आफै उम्रिएका करिब ३ सय गाँजाका बोट प्रहरी र स्थानीय मिलेर नष्ट गरिएको रनियापुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक लखनलाल चौधरीले जानकारी दिनुभयो । उहाँले गाँजाको झाडीमा बाहिरबाट दुर्व्यसनीहरु आई मादक पदार्थ सेवन गर्ने, त्यही गाँजाको प्रयोग गर्ने तथा होहल्ला गर्ने थलो बनेको भन्ने थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेको बताउनुभयो । 

“स्वस्फूर्त रुपमा गाँजाका बोटहरु उम्रिएर झाडी बनेको रहेछ, युवाहरु त्यहाँ पुगेर गाँजाको सेवन गर्ने, विस्तारै कुलतमा फस्ने सम्भावना रहन्थ्यो र समाजमा उच्छृङ्खल गतिविधि हुने र विकृति फैलिन सक्ने सम्भावना हुन सक्थ्यो,” चोधरीले भन्नुभयो । गाँजाका बोट नष्ट गरिएिपछि उक्त स्थान अहिले खुल्ला र सफा देखिएको उहाँले बताउनुभयो ।

समाजमा विकृति ल्याउनेमध्ये अधिकांश लागूऔषध प्रयोगकर्ता रहेको भन्दै उहाँले लागूऔषध नियन्त्रण तथा उन्मूलन गर्नका लागि प्रहरी र स्थानीय सँगसँगै मिलेर अगाडि बढिरहेको बताउनुभयो ।