• २४ चैत २०८२, मङ्गलबार

गुल्मीमा विद्यार्थीलाई मनोसामाजिक परामर्श

blog

कार्यक्रममा सहभागी अतिथि र आयोजक ।

रमेश विश्वकर्मा 

गुल्मी, पुस ९ गते। गुल्मीमा विद्यार्थीलाई उत्प्रेरणा तथा मनोसामाजिक परामर्श दिन थालिएको छ। राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपाल गुल्मीले सदरमुकाम तम्घासका विद्यालयबाट ‘स्वस्थ मनस् स्वस्थ जीवन’ भन्ने नारासहित मानसिक स्वास्थ्य सचेतना अभियान थालेको हो। 

विद्यार्थीका लागि गरिएको मनोसामाजिक परामर्शमा मनोसामाजिक समस्या तथा समाधान, तनाव व्यवस्थापन, बाल मनोविज्ञान सकारात्मक सोच, आत्मविश्वास विकास तथा समाजिक सद्भाव, द्वन्द्व व्यवस्थापन, बालअधिकार बाल अपराध, आत्महत्या न्यूनिकरण, मानसिक स्वास्थ्य, रिस र रिसका प्रकार तथा रिसले गर्ने असरको बारेमा जानकारी गराइएको छ। 

विद्यार्थीलाई सकारात्मक चिन्तनको विकाससँगै मनोसामाजिक स्वास्थ्य, तनाव व्यवस्थापन, सकारात्मक सोच र जीवन उपयोगी सीपको विकास गर्नका लागि उत्प्रेरणा तथा मनोसामाजिक परामर्श थालिएको हो। पछिल्लो समय विद्यार्थीमा बढ्दो मानसिक तनाव, चिन्ता, डर र व्यवहारगत समस्यालाई मध्यनजर गर्दै यस्तो अभियान सञ्चालन गरिएको नार्डेक नेपाल गुल्मीका सदस्य धर्मराज पाण्डेले बताउनुभयो।

उहाँका अनुसार रेसुङ्गा नगरपालिकाभित्र रेसुङ्गा क्याम्पससहित सात वटा माध्यमिक विद्यालयमा सञ्चालन गरिनेछ। इस्मा गाउँपालिकाका सात वटा माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिने योजना छ। कालीगण्डकी गाउँपालिकामा केही माध्यमिक विद्यालयसंगै समुदायस्तरमा पनि कार्यक्रम गरिने उहाँले बताउनुभयो।

आठ कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई कार्यक्रममा सहभागी गराइएको छ। कार्यक्रमको उद्घाटन गर्नुहुँदै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बालबालिकाको मानसिक स्वास्थ्य मजबुत बनाउन स्थानीय सरकारले बजेटमै समावेश गरी कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। 

नार्डेक नेपालका कार्यकारी निर्देशक रेशम कुँवरका अनुसार तालिमको मुख्य उद्देश्य विद्यार्थीहरुमा मनोसामाजिक स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्नु आवश्यक रहेको बताउनुभएको छ ।