• १३ साउन २०८१, आइतबार

चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख पर्यटक

blog

चितवन समाचारदाता

चितवन, साउन ५ गते । चितवन घुम्न आउने पर्यटकको सङ्ख्या गत आर्थिक वर्षमा उच्च रहेको छ । कोरोना सङ्क्रमणको समयपछि सबैभन्दा धेरै पर्यटक आव २०७९/८० को असारसम्म आएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गत आवमा निकुञ्ज प्रवेश गर्ने पर्यटकको सङ्ख्या तीन लाखनजिक पुगेको जानकारी दिनुभयो ।

गत आवमा निकुञ्ज प्रवेश गर्नेको सङ्ख्या दुई लाख ९९ हजार ४१२ जना रहेको छ । यो निकुञ्ज प्रवेश गरेर जङ्गल सफारी गर्नेको सङ्ख्या मात्र रहेको हो । यसबाहेक जिल्लाका सौराहा, मेघौली, पटिहानी, देवघाटलगायतका स्थानमा आएर निकुञ्ज प्रवेश नगर्ने पनि छन् । सङ्कटमा पुगेको पर्यटन व्यवसायका लागि निकुञ्ज आउने पर्यटकका कारण केही राहत मिलेको छ । 

निकुञ्जले दिएको जानकारी अनुसार पर्यटकबाट मात्रै १८ करोड पाँच लाख १९ हजार ७५० रुपियाँ राजस्व सङ्कलन भएको छ । निकुञ्ज प्रवेश गरेबापत नेपाली, सार्क र बाह्य मुलुकका पर्यटकलाई फरक शुल्क निर्धारण गरेर लिने गरिएको छ । 

विगतका वर्षमा भन्दा अहिले पर्यटकको सङ्ख्या वृद्धि भएकाले व्यवसायलाई राहत महसुस भएको क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो । 

असार–साउन महिनामा मुग्लिनको बाटो अवरुद्ध भएकाले पर्यटकको सङ्ख्या कमी भए पनि अन्य महिनामा भने राम्रो सङ्ख्यामा आएको पूर्वअध्यक्ष भट्टराईले बताउनुभयो । चैत, वैशाख धेरै राम्रो सङ्ख्यमा पर्यटक आएका थिए । पर्यटन प्रवर्धनका लागि नेपालको सीमावर्ती भारतको पटना, वनारस, गोरखपुरलगायतका सहरमा पुगेर सौराहा, चितवन, नेपालको पर्यटन क्षेत्रको विषयमा जानकारी दिने कार्यव्रmमसमेत गरिएको थियो । पर्यटन बोर्डको उपस्थितिमा ती सहरमा पुगेर नेपाल भ्रमणको निम्तासमेत दिइएको थियो । 

“निकुञ्ज कार्यालयको तथ्याङ्कमा भारतसहित सार्क मुलुकबाट आउने पर्यटकको सङ्ख्या ३८ हजार रहेको छ । विदेशी पर्यटकको सङ्ख्या घटेको भन्दै चिन्ता भएको थियो । यस वर्ष बढेका छन्,” पर्यटक व्यवसायी दामोदर रेग्मीले भन्नुभयो । 

निकुञ्ज प्रवेश गर्नेमा सबैभन्दा धेरै आन्तरिक पर्यटक रहेका छन् । एक वर्षमा दुई लाख पाँच हजार छ सय जना नेपालीले भ्रमण गरेका छन् । निकुञ्जभित्र सफारी गर्नेमा सबैभन्दा धेरै नेपाली रहेको कार्यालयले जानकारी दिएको छ ।