• १३ साउन २०८१, आइतबार

खाद्य कम्पनीको चामल विक्रीमा वृद्धि

blog

ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा रहेको चामल । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन २ गते । गत असारको पहिलो साता भीषण वर्षासँगै आएको बाढी पहिरोले मेची राजमार्ग अवरुद्ध हुँदा खाद्य कम्पनीको चामल विक्रीमा वृद्धि भएको छ । राजमार्ग अवरुद्ध भएका कारण ताप्लेजुङमा खाद्यान्न चामल आपूर्ति नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल विक्री वृद्धि भएको हो । 

गत असार २ गते राति आएको बाढीले पाँचथरको सदरमुकाम फिदिम नजिक रहेको हेवाखोलाको मोटरेबल बगाएपछि मेची राजमार्ग अवरुद्ध हुन पुग्यो । राजमार्ग अवरुद्ध भएसँगै ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार लगायतमा व्यापारीले खाद्यान्न (चामल) आपूर्ति गर्न नपाएपछि खाद्य कम्पनीको चामल खपतमा वृद्धि भएको हो । 

यस वर्ष मेची राजमार्ग अवरुद्ध भएयता असार महिनामा मात्र सोना मन्सुली २७ हजार ६०० किलोग्राम र बासमती चामल तीन हजार २२० किलोग्राम विक्री अर्थात् खपत भएको छ । बजारमा चामल पर्याप्त र सहज रुपमा नपाएपछि सर्वसाधारण उपभोक्ताले खाद्य कम्पनीको चामल खरिद गरी उपभोग गर्न बाध्य भएका हुन् । यस्तै, जिल्लाका विभिन्न ठाउँमा बाढी पहिरोका कारण प्रभावित भएका परिवारलाई राहतस्वरुप वितरण गर्न पनि खाद्य कम्पनीकै चामल लगिएको थियो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका निमित्त शाखा प्रमुख गोपाल राईका अनुसार नेपाल रेडक्रस सोसाइटी, नेपाल शेर्पा सङ्घ लगायतका संस्थाले कम्पनीको चामल खरिद गरेका थिए । सर्वसाधारण उपभोक्ता बाहेक उक्त संस्थाहरुले कम्पनीको चामल लगेर पीडित परिवारलाई राहतका रुपमा वितरण गरेका राईले बताउनुभयो।

यसरी राजमार्ग अवरुद्ध भएकै कारण जिल्लामा खाद्यान्न आपूर्ति नहुँदा कम्पनीसँग मौज्दात रहेको चामल विक्रीमा वृद्धि भएको जनाइएको छ । असार महिनासहित यो वर्ष अर्थात् आर्थिक वर्ष २०७९-८० मा कुल दुई लाख १९ हजार २६५ किलोग्राम चामल विक्री भएको कम्पनीले जनाएको छ । विगत वर्षको तुलनामा चामल खपत वा विक्रीमा वृद्धि भएको शाखाले जानकारी दिएको छ । 

यस वर्ष कुल चामल खपत परिमाणमध्ये सोना मन्सुली एक लाख ६२ हजार ४२० किलोग्राम, स्टिम जिरा ४९ हजार ५९५ र बासमती सात हजार २५० किलोग्राम रहेको निमित्त शाखा प्रमुख राईले जानकारी दिनुभयो । उहाँका अनुसार शाखासँग अब सोना मन्सुली, स्टिम जिरा र बासमती समेत गरी छ हजार ५७९ किलोग्राम चामल मौज्दात रहेको छ । असार महिनाभित्रै आयात हुने ४४ हजार किलोग्राम चामल भने राजमार्ग अवरुद्ध भएका कारण उतै रोकिएको कम्पनीले जनाएको छ । 

यता ताप्लेजुङका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निर्धारण गरेको कोटा अनुसार चामल एक लाख किलोग्राम मात्र छ । निर्धारित कोटाले नधान्ने भएपछि यहाँको माग र आवश्यकता अनुसार थप चामलको आपूर्ति गरी विक्री वितरण गरिँदै आएको पनि शाखाले जनाएको छ । उता करिव एक महिनापछि हेवाखोलामा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । बेलिब्रिज निर्माण सम्पन्न भएसँगै आइतबारदेखि अवरुद्ध मेची राजमार्ग सञ्चालनमा आएको छ ।