• ८ मंसिर २०८१, शनिबार

गोरखा सैनिकको मुद्दा निष्कर्षमा पुर्‍याउन सरकार लागिपरेको छ: मन्त्री बस्नेत

blog

करुण अर्याल

लण्डन,साउन २ गते । गोरखा सैनिकको हक अधिकारका विषयमा उठेका मुद्दालाई निष्कर्षमा पुर्‍याउन सरकार लागिपरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बताउनुभयो । यस विषयमा  द्विपक्षीय छलफल भइरहेको उहाँले बताउनुभयो । 

नेपाली काङ्ग्रेसनिकट जनसम्पर्क समिति बेलायतले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा मन्त्री बस्नेतले डायोस्पाेराबाट देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुगेको चर्चा गर्दै गैर आवासीय नेपालीको मागप्रति सरकार सदैव सकारात्मक रहेको प्रस्ट पार्नुभयो । उहाँले सरकारले सङ्घअन्तर्गतका १६ वटा अस्पतालमा तीन हजार पाँच सय शय्या निःशुल्क गरेको जानकारी दिँदै सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बिरामीप्रति थप जिम्मेवार र जवाफदेही बनाउन सरकारले कुनै कसर बाँकी नराखेको बताउनुभयो । 

समितिका अध्यक्ष युवराज गुरुङले गैर आवासीय नेपालीलाई मतदानसहितको अधिकार दिनुपर्ने माग राख्दै गोरखाको मुद्दाका विषय चाँडो टुङ्गाउनुपर्नेमा जोड दिनुभयो । उहाँले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालोमा गोरखाको विषयले प्रवेश पाएको चर्चा गर्दै गोरखाको समान पेन्सन र आवासीय अधिकारको विषयलाई काङ्ग्रेसले प्राथमिकतामा राखेको बताउनुभयो ।