• १६ भदौ २०८१, आइतबार

पूरा भएनन् बजेटका लक्ष्य

blog

काठमाडौँ, साउन २ गते । स्रोतको चरम दबाबमा रहेको सरकारले गत आर्थिक वर्ष २०७९/८० मा खर्च र आम्दानीको कुनै पनि लक्ष्य पूरा गर्न सकेन । खर्चमा भएको वृद्धि अनुसार आम्दानी विस्तार हुन नसकेपछि सङ्घीय सञ्चित कोष सवा खर्बभन्दा बढीले घाटामा पुगेको छ । 

२०७९ वैशाखदेखि विभिन्न १० वस्तुमा गरिएको आयात प्रतिबन्धले भन्सार राजस्व खुम्चिएको छ भने बढ्दो ब्याजदरका कारण लगानी प्रभावित हुँदा अर्थतन्त्र विस्तार हुन सकेन । जसले आन्तरिक राजस्वको लक्ष्य पनि पूरा हुन सकेन । समग्रमा गत आवमा सरकारले बजेटमार्फत लिएका स्रोत व्यवस्थापन र खर्चको कुनै पनि लक्ष्य पूरा गर्न नसकेको पाइएको छ । अघिल्ला आवमा पनि यस्ता लक्ष्य पूरा हुन नसके पनि गत आवमा भने सञ्चित कोष घाटा उच्च हुन पुगेको छ । 


महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा सरकारले कर, अनुदान र अन्य प्राप्तिमार्फत १० खर्ब ३१ अर्ब ६९ करोड रुपियाँ आम्दानी गरेको छ । जुन बजेटमा लिइएको १४ खर्ब ५८ अर्ब ६० करोड रुपियाँ लक्ष्यको तुलनामा ७०.७३ प्रतिशत मात्र हुन आउँछ । 

अर्कोतिर सरकारको सुरु विनियोजनको तुलनामा ७९.६९ प्रतिशत अर्थात् १४ खर्ब २९ अर्ब ५६ करोड रुपियाँ मात्र खर्च गरेको छ । नपुग खर्चका लागि सरकारले दुई खर्ब ५६ अर्ब आन्तरिक ऋण र एक खर्ब १७ अर्ब रुपियाँ वैदेशिक ऋण उठाएको छ । ऋणसमेत गर्दा सरकारले १४ खर्ब चार अर्ब रुपियाँ स्रोत व्यवस्थापन गरेको छ । कुल राजस्वमध्ये एक खर्ब १५ अर्ब रुपियाँ राजस्व बाँडफाँटबापत प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने भएकाले त्यसलाई कुल स्रोतबाट घटाउँदा १२ खर्ब ८९ अर्ब रुपियाँ कायम हुन्छ । यसरी स्रोत र खर्चबिच एक खर्ब ४० अर्ब रुपियाँ अन्तर देखिन्छ । जुन सङ्घीय सरकारको सञ्चित कोष घाटा रकम हो । 

पाँच अर्ब कम उठ्यो आन्तरिक राजस्व

गत आवमा आन्तरिक राजस्व पाँच अर्ब रुपियाँले कम उठेको छ । आन्तरिक राजस्व विभागका अनुसार गत आवमा चार खर्ब ७८ अर्ब दुई करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । जब कि आव २०७८/७९ मा चार खर्ब ८३ अर्ब ५२ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो । 

गत आवमा सबैभन्दा धेरै आयकरतर्फ दुई खर्ब १२ अर्ब २४ करोड रुपियाँ सङ्कलन भएको विभागले जनाएको छ । त्यसपछि मूल्य अभिवृद्धि करतर्फ एक खर्ब १७ अर्ब २० करोड रुपियाँ राजस्व सङ्कलन भएको छ जुन त्यसअघिको तुलनामा दुई अर्ब ७० करोड रुपियाँले बढी हो । 

प्रतिबन्धले भन्सार राजस्व घट्यो

आयात प्रतिबन्धको असर गत आवको भन्सार राजस्वमा देखिएको छ । राजस्वको प्रमुख स्रोतका रूपमा रहेको भन्सार राजस्व गत आवमा लक्ष्यको तुलनामा ४१.५ प्रतिशतले कम उठेको छ । भन्सार विभागका अनुसार गत आवमा लक्ष्यको ५८.५ प्रतिशत अर्थात् तीन खर्ब ९१ अर्ब रुपियाँ मात्र भन्सार राजस्व सङ्कलन भएको छ । भन्सार राजस्व नै घटेपछि सरकारको कुल आम्दानीमा असर देखिएपछि गत आवमा सङ्घीय सञ्चित कोष उच्च रूपले घाटामा पुगेको छ ।