धनगढी समाचारदाता
धनगढी, वैशाख ६ गते । मरुभूमि जस्तै रहेको कर्णाली नदी बगरको बालुवामा स्थानीय किसानले प्याज खेती गरेर आम्दानी गर्न थालेका छन् । कैलालीको टीकापुर नगरपालिका–८, फाँटागाउँका ६० घरपरिवारले कर्णाली नदीको बालुवामा प्याज खेती गरेर फाइदा लिन थालेका हुन् । बाँझो रहेको बगरमा उनीहरूले केही वर्षयता प्याज खेती गरेर कमाइ गरिरहेका छन् ।
स्थानीय प्रेम चौधरीले नदी किनारको बालुवाबाट ओसिलोपन चाँडै नजाने गरेका कारण प्याज खेती निकै राम्रो हुने गरेको बताउनुभयो । उहाँले बालुवामा प्याज खेती गर्दा धेरै मेहनत पनि आवश्यक नपर्ने गरेको उल्लेख गर्नुभयो । “बालुवामा धेरै मेहनत गर्नु पर्दैन । गोबरमल हालेर प्याज लगाएर सिँचाइ मात्रै गर्नु पर्छ,” चौधरीले भन्नुभयो, “अन्य ठाउँको जग्गाको तुलनामा बालुवामा प्याज उत्पादन राम्रो हुन्छ ।”
फाँटागाउँका प्रायः सबैले कर्णालीको बालुवामा प्याज लगाउने गरेको जनाइएको छ । प्रत्येक परिवारले कम्तीमा एकदेखि डेढ कट्ठासम्म नदीको बालुवामा प्याज खेती गरेका छन् । आफूहरूले तीन/चार वर्षदेखि कर्णाली नदीको बगरमा प्याज खेती गर्दै आएको कृषक सहीबहादुर चौधरीले बताउनुभयो । उहाँले कर्णालीको बालुवामा प्याज पनि निकै राम्रो उत्पादन हुने गरेको जानकारी दिनुभयो ।
नदीको बालुवामा आठ/दस केजी प्याजको बेर्ना लगाउँदा पाँच क्विन्टलसम्म उत्पादन हुने गरेको किसानले जनाएका छन् । कतिपय परिवारका लागि प्याज खेती नै आम्दानीको माध्यम बनेको छ ।
कर्णाली नदीआसपास बसोबास रहेको सोनहा जातिले नदीको बालुवा चालेर सुन निकाल्ने गर्छन् । बालुवा चालेर सुन खोज्ने र त्यसबाट गुजारा गर्ने उनीहरूको परम्परागत पेसा हो तर सुन पाइने बालुवामा थारू समुदायका कृषकले प्याज फलाउन थालेका छन् ।
कर्णाली नदीको बगर उपयोगमा छैन । धेरै ठुलो बगरक्षेत्र नाङ्गो भएपछि स्थानीयले प्याज खेतीको परीक्षण गरेका थिए । केही वर्षअगाडि नदीको बालुवामा थोरै प्याज लगाएर परीक्षण गर्दा अन्यत्रको भन्दा राम्रो फलेको किसानको भनाइ छ । त्यसपछि प्रत्येक वर्ष प्याज लगाउन थालेको कृषक चौधरीले बताउनुभयो । “बालुवामा प्याज राम्रो फलेपछि सबै लोभिएर त्यसमै प्याज खेती गर्न थालेका छौँ,” उहाँले भन्नुभयो ।