सञ्जय कुमार मिश्र
गौर, वैशाख ६ गते । चालु आर्थिक वर्षको चैत महिनाको रौतहट प्रहरीले भन्सार छली तथा राजस्व चुहावट गरी भित्र्याइएका करिब ५७ लाख ५४ हजार रुपियाँ बराबरका मालसामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले चैत महिनाको अवधिमा सीमावर्ती क्षेत्रका विभिन्न नाकाबाट भन्सार राजस्व छली गरी नेपाल भित्र्याइएका ती सामान बरामद गरेको हो ।
बरामद गरिएका सामानसँगै ३ जना व्यक्ति र प्रयोगमा ल्याइएका ४८ वटा सवारी साधन नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप वस्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बरामद सामानमध्ये लत्ताकपडा, खाद्यान्न, कस्मेटिक, इलेक्ट्रोनिक सामग्रीलगायतका वस्तु रहेका छन् ।
यसैबीच, अपराध अनुसन्धानतर्फ ज्यानसम्बन्धी नौ, आत्महत्या आठ, चोरी सात, संगठित तथा आर्थिक अपराध २९, सामाजिक अपराध २४, सवारी ज्यान ३, महिला तथा बालबालिकासम्बन्धी सात र अन्य ११ गरी ९८ मुद्दा दर्ता भएका छन् ।
त्यस्तै जघन्य र गम्भीर अपराधतर्फ बैंकिङ कसुर १७ र ठगीसम्बन्धी २३ मुद्दा दर्ता भई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी कार्यालयले जनाएको छ ।