• ६ वैशाख २०८३, आइतबार

अदालतको न्यायिक संवाद कार्यक्रम

blog

जुम्लाको सिँजा गाउँपालिकामा स्थानीयसँग न्यायिक संवाद कार्यक्रम । तस्बिर : नेत्र शाही

जुम्ला समाचारदाता

जुम्ला, वैशाख ६ गते । जिल्ला अदालत र उच्च अदालत सुर्खेत (जुम्ला इजलास) ले यहाँको सिँजा गाउँपालिकाको सिँजामा न्यायिक संवाद तथा न्यायिक बाह्य पहुँच कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा पछिल्लो समयमा स्थानीय तहमा न्यायिक समितिले हेर्न सक्ने मुद्दा तथा मेलमिलाप गर्न मिल्ने विषयबारे जानकारी दिइनुका साथै कुन मुद्दा स्थानीय तहमा समाधान गर्न सकिन्छ र कुन मुद्दा औपचारिक कानुनी निकायमा पठाउनुपर्ने हुन्छ भन्ने विषयमासमेत स्पष्ट पारिएको छ । 

उच्च अदालत सुर्खेत (जुम्ला इजलास) का मुख्य न्यायाधीश वसन्तराज पौडेलले अदालतले प्रमाणका आधारमा निष्पक्ष फैसला गर्ने भए पनि जनताले अदालतलाई कसरी हेर्छन् भन्ने विषयमा बुझ्न कार्यक्रम गरिएको बताउनुभयो । उहाँका अनुसार न्याय केवल कानुनी प्रक्रिया मात्र नभई मानव अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । जुम्ला जिल्ला अदालतका न्यायाधीश आनन्दराज पन्तले अदालतले दुवै पक्षको कुरा र प्रमाणका आधारमा मात्र न्याय दिने प्रक्रिया अपनाउने बताउनुभयो । उहाँले न्याय ढिलो हुने गुनासोप्रति सम्बोधन गर्दै विधिसम्मत प्रक्रिया अनुरूप न्यायसम्पादन हुने जानकारी दिनुभयो । उच्च अदालतका रजिस्ट्रार देवेन्द्र ढकालले न्याय पहुँचमुखी मात्र हो भन्ने धारणा गलत रहेको उल्लेख गर्दै आर्थिक अवस्था कमजोर भएकाका लागि निःशुल्क कानुनी सहायता तथा वैतनिक वकिलको व्यवस्था पनि रहेको बताउनुभयो । 

सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले न्यायाधीशहरूको उपस्थितिले स्थानीय न्यायिक समितिको क्षमता अभिवृद्धिमा सहयोग पुगेको बताउनुभयो । सहभागीलाई स्थानीय तहमा न्यायसम्पादन प्रक्रिया, मेलमिलापका माध्यमबाट विवाद समाधान तथा नागरिकले सहज रूपमा न्याय प्राप्त गर्ने उपायबारे विस्तृत जानकारी दिइएको छ । साथै सहभागीले अदालतले सञ्चालन गरिरहेका यस्ता जनमुखी कार्यक्रमले न्यायप्रणालीलाई पारदर्शी, पहुँचयोग्य र नागरिकमैत्री बनाउने दिशामा सकारात्मक सङ्केत दिएको बताए ।