हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख ६ गते । उपल्लो मुस्ताङको लोमान्थाङ–४ न्याम्दो गाउँका कृषक काजाङ ग्याचो गुरुङको गत चैत २५ गते एउटै खोरमा रहेका २८ वटा भेडाच्याङ्ग्रा हिमचितुवाको आक्रमणबाट मरेका थिए । तारबारसहितको पर्खाल नाघेर खोरभित्र प्रवेश गरेको हिमचितुवाले माउ तथा पाठापाठी मारेपछि निराश भएका गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ कार्यालयमार्फत एक लाख ७९ हजार रुपियाँ राहत पाएका छन् । विगतमा वन्यजन्तुबाट घरपालुवा पशुचौपायामा क्षति भए पनि वर्षदिनसम्म राहत पर्खनुपर्ने अवस्था रहे पनि अहिले एक्यापले कोषमार्फत छिटो राहत उपलब्ध गराएपछि कृषक गुरुङले खुसी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “क्षति भएलगत्तै राहत पाउँदा केही सहज भएको छ, प्राप्त रकम पशुपालनमै लगानी गर्छु।” विगतमा लामो समयसम्म राहत पर्खनुपर्ने बाध्यता रहेको भए पनि अहिले विवरण संकलनसँगै राहत वितरणलाई प्राथमिकता दिइएकाले सहज भएको उहाँको भनाइ छ ।
विगतका वर्षहरूमा गोठ तथा चरन क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पठाउने प्रक्रियामा ढिलाइ हुँदा कृषकहरू गुनासो गर्ने गरेका थिए । तर शनिबार लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा वन्यजन्तु पीडित २७ घरधुरीका कृषकलाई १५ लाख ६९ हजार रुपियाँ आर्थिक सहायता वितरण गरिएको छ ।
चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि चैतसम्म हिउँचितुवा र ब्वाँसोले १४ घोडा, ३० च्याङ्ग्रा, १० भेडा र ८ याक गरी ६२ वटा पशुचौपाया मारेका थिए । सोही क्षतिबापत वन्यजन्तु क्षति राहत वितरण निर्देशिकाअनुसार राहत रकम भुक्तानी गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताउनुभयो ।
उहाँका अनुसार समयमै राहत पाएपछि कृषकहरूलाई गोठ सुधार तथा थप क्षति रोक्न आवश्यक उपायबारे समेत जानकारी दिइएको छ । साथै, आहारा प्रजातिका वन्यजन्तुको संरक्षणलाई पनि प्राथमिकता दिइएको उहाँले बताउनुभयो । उपल्लो मुस्ताङमा ब्वाँसोभन्दा बढी क्षति हिमचितुवाबाट हुने भएकाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा गोठ सुधारका कार्यक्रम समुदायसँग मिलेर सञ्चालन गरिँदै आएको छ ।
नेपाल सरकारले वन्यजन्तु क्षति निर्देशिकाअनुसार भेडाच्याङ्ग्रामा प्रति पशु अधिकतम १० हजार रुपियाँ र घोडामा ६० हजार रुपियाँसम्म राहत दिने व्यवस्था गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा १९ लाख ५० हजार रुपियाँ, २०८१/०८२ मा ११ लाख १५ हजार रुपियाँ गरी पछिल्ला तीन वर्षमा ४५ लाख ९९ हजार रुपियाँ राहत वितरण गरिएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका एक्याप इलाका कार्यालय लोमान्थाङअन्तर्गत पर्छन् भने बाँकी क्षेत्र इलाका कार्यालय जोमसोम मातहतमा पर्छन् । यी दुवै कार्यालयमार्फत वर्षेनी वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण गरिँदै आएको छ । उपल्लो मुस्ताङमा हिमचितुवा र ब्वाँसो तथा तल्लो मुस्ताङमा हिमचितुवा र कालो भालुका कारण कृषकको पशुचौपायामा बढी क्षति हुने गरेको छ ।