• ६ वैशाख २०८३, आइतबार

बक्यौता नपाएपछि उजुरी

blog

पश्चिम नवलपरासीमा रहेको इन्दिरा सुगर मिल ।

परासी समाचारदाता

परासी, वैशाख ६ गते । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा सञ्चालित इन्दिरा सुगर मिल्स एन्ड इन्डस्ट्रिजले किसानको करोडौँ रुपियाँ बक्यौता भुक्तानी नगरेको भन्दै कारबाहीका लागि गृहमन्त्रालयमा उजुरी परेको छ ।

स्थानीय युवा समाजसेवी एवं अभियन्ता विजय कँडेलले गृहमन्त्रीलाई पत्र लेख्दै उद्योगका सञ्चालक राकेशकुमार अग्रवालले किसानको पसिनाको मूल्य नतिरी सम्पर्कविहीन भएको भन्दै तत्काल कारबाहीको माग गर्नुभएको हो ।

निवेदनमा उल्लेख भए अनुसार इन्दिरा सुगर मिलले उखु किसानलाई झन्डै सात करोड रुपियाँ भुक्तानी गर्न बाँकी छ । पटक पटक ताकिता गर्दा पनि उद्योगले रकम नतिरेको र हाल सञ्चालक अग्रवाल सम्पर्कमा नरहेकाले किसान निकै मर्कामा परेका छन् । 

निवेदक कँडेलले गृह मन्त्रालयमा दर्ता गराएको पत्रमा मुख्य रूपमा दुई विषय उठान गराउनुभएको छ । सम्पर्कविहीन रहेका उद्योग सञ्चालक राकेशकुमार अग्रवाललाई सरकारले तत्काल उपस्थित गराई किसानको बक्यौता रकम भुक्तानी गराउनुपर्ने, निजी क्षेत्रबाट उद्योग चल्न नसकेको र किसानले सधैँ दुःख पाएको अवस्थामा उक्त मिललाई सरकारमातहतमा ल्याई सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने माग निवेदनमा छ ।

लामो समयदेखि भुक्तानी नपाउँदा सुस्ता र प्रतापपुर क्षेत्रका सयौँ किसानको घरखर्च र बैङ्कको ब्याज तिर्नसमेत समस्या भएको छ । “किसानको रकम नतिरी उद्योगी भाग्नु अपराध हो, यसमा सरकारले कडा कदम चाल्नु पर्छ,” कँडेलले पत्रमा उल्लेख गर्नुभएको छ ।