• १३ साउन २०८१, आइतबार

सिधा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग

blog

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा । फाइल तस्बिर

लक्ष्मण पौडेल

भैरहवा, साउन १ गते । भैरहवाका पर्यटन तथा उद्योगी–व्यवसायीले लुम्बिनी र आसपासका क्षेत्रमा पर्यटकको सङ्ख्या बढाउन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग गरेका छन् । 

भैरहवाबाट अन्तर्राष्ट्रिय सहरमा सिधा उडान सञ्चालनमा नआएसम्म पर्यटकको सङ्ख्यामा वृद्धि नहुने व्यवसायीहरूको भनाइ छ । पर्यटन व्यवसायीले संरचना भएर पनि त्यसको सदुपयोग नहुँदा चिन्ता बढ्दैंगएको बताएका छन् ।

सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर (सोट्टो) नेपाल, लुम्बिनी प्रदेशको दोस्रो वार्षिक साधारण सभा तथा अधिवेशनमा सहभागी व्यवसायीले रुपन्देहीमा स्थल र हवाई दुवै अन्तर्राष्ट्रिय नाका भए पनि सदुपयोग हुन नसकेको बताएका छन् । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले राज्यका विभिन्न तह र तप्कामा अनुरोध गरे पनि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नियामक निकाय सकारात्मक नबनेको बताउनुभयो ।

‘नियामक संस्थाले काठमाडौंबाट धेरै उडान गर्ने विमान कम्पनीलाई भैरहवाबाट एउटा उडान थाल्न निर्देशन गर्न सकेनन्’ उहाँले भन्नुभयो, ‘त्यस्तो नियम बनाएमा विमान कम्पनी उडान भर्न बाध्य हुने र बिस्तारै यहीँबाट यात्रु पाउन थालेपछि धेरै कम्पनी आकर्षित हुनेछन् ।’ पर्यटक आगमनका लागि स्थल र हवाई मार्ग हुनु सकारात्मक भए पनि उपलब्धि हासिल हुन नसकेको उहाँले बताउनुभयो ।

पर्यटन अभियन्ता विक्रम पाण्डेले पर्यटन क्षेत्रबाट सर्वसाधारण लाभान्वित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । पर्यटन प्रवर्धनका लागि विभिन्न प्याकेज कार्यक्रम जरुरी हुने बताउँदै उहाँले आफूले सगरमाथा क्षेत्रमा ल्याएको परिवर्तनबारे जानकारी गराउनुभयो । उहाँले लुम्बिनीको पर्यटन उकास्न मायादेवी सुत्केरी मार्ग कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।

त्यस्तै, मायादेवी सुत्केरी मार्ग विकासका लागि विश्व बैङ्कले ठुलो रकम लगानी गर्न लागेको पनि उहाँले बताउनुभयो । ‘तपाईँहरू निराश नहुनुस्’ उहाँले भन्नुभयो, ‘एकजुट भएर पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गर्नुस् ।’

सोट्टो नेपालका केन्द्रीय अध्यक्ष भुवनबहादुर पाण्डेले आफ्नो संस्था व्यावसायिक हकहितका लागि लडिरहेको बताउनुभयो । संस्थाको लुम्बिनी प्रदेश शाखालाई प्रदेश सरकारसँग मिलेर पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्नुभयो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा पर्यटकका लागि सुरक्षित वातावरण रहेकाले सकारात्मक प्रचार–प्रसारमा जोड दिन अनुरोध गर्नुभयो । 

‘यहाँ पर्यटकका लागि २४ घण्टा सुरक्षित माहौल छ’ उहाँले भन्नुभयो, ‘त्यसैले ढुक्क भएर मुलुक घुम्नुस्, हामी सुरक्षा दिन तयार छौँ । सुरक्षित वातावरण बनाएका छौँ ।’ उहाँले भारतीय सञ्चारमाध्यमले पर्यटकले दुःख पाएको भन्दै अफवाह फैलाइरहेको उल्लेख गर्दै गलत प्रचार नगरिदिन अनुरोध गर्नुभयो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा हुनु गौरवको विषय भएको बताउँदै यसको पूर्ण सञ्चालनका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो । यहीँबाट नजिकका अन्तर्राष्ट्रिय सहरमा उडान सञ्चालनमा आए सर्वसाधारणलाई सजिलो हुने उहाँको भनाइ छ ।  

अहिले यहाँबाट भारतीय सहर गोरखपुर पुगेर विमान चढ्नु परिरहेको बताउँदै त्यस्तो बाध्यता अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सोट्टो लुम्बिनीका निवर्तमान अध्यक्ष सञ्जय बजिमयले कोरोनाका कारण समयमै वार्षिक साधारण सभा र अधिवेशन हुन नसकेको भन्दै यसका बाबजुद संस्थाले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, नाका व्यवस्थापन र पर्यटकले भोग्नु परिरहेका समस्या समाधानका लागि अभियान चलाएको जानकारी दिनुभयो