• ८ जेठ २०८१, मङ्गलबार

लिलियाना कि ग्लोरिया ? (कथा)

blog

स्टारबक्स कफी सपमा छिर्दा भित्र कोलाहल त होइन, अलिकति हल्का, खलबल चाहिँ थियो । 

मेराअघि कफी अर्डर गर्नेहरूको लाममा तीन जना थिए । दुई जना किशोरी थिए सबैभन्दा अगाडि । गोरो छाला भएका । तिनीहरू हल्का पहिरनमा थिए । एउटी टिसर्ट र हाफ पाइन्टमा थिई । उसको आधा तिघ्रा र झन्डै पूरै पिँडौला सर्लक्क सुडौल टलक्क टल्केका थिए । ती पिँडौलामुनि उसको खुट्टामा नाइकीको स्पोर्टस् जुत्ताका लोगो प्रस्टै देखिन्थ्यो । मोजा चाहिँ जुत्तामाथि अलिकति मात्र देखिएको थियो । उसका टाउकामा छोटा कैला कपाल थिए । 

सँगैकी अर्की चाहिँ स्पोर्टस् सुटमा थिई आडिडासको । जुत्ता पनि आडिडासकै थियो । उसको कपाल चाहिँ सुनौलो थियो । लामो । अलिकति छिरलिएको । सायद हावाले होला ।

उनीहरू आफ्नो अर्डर गर्न व्यस्त थिए । अर्डर गरेर पैसा पनि भुक्तानी गरेपछि उनीहरू आफूले अर्डर गरेको पेय लिनका लागि अलि छेउ लागेर पर्खन थाले ।

“नेक्स्ट अन लाइन ।” अर्डर लिइरहेकी काउन्टरवालीले कम्प्युटरमा आँखा लाउँदै म अघि लाममा बसेको व्यक्तिलाई भनी ।

एउटा गह्रौँ ब्याग बोकेको कालो वर्णको अधबैँसे थियो मेरो अगाडि । ऊ अघि बढ्यो र भन्यो, “ग्रान्दे चाय लाट्टे” ।

“एनिथिङ एल्स !” काउन्टरवालीले थप भनी ।

“नो थ्याङ्कस्” भन्दै उसले बिस डलरको नोट दियो । 

काउन्टरवालीले बिसको नोट लिएर फिर्ता रकम दिई । अनि ऊ पनि छेउ लाग्यो ।

अब मेरो पालो आएको थियो ।

मैले ‘टल पाइक प्लेस’ अर्डर गरेँ ।     

उसले भनी, “एनिथिङ अन इट ? क्रिम ऐन्ड सुगर ?”

“जस्ट ब्ल्याक” मैले भनेँ ।

काउन्टरवालीले भनी, “टु एटी वान ।”

त्यसपछि स्टारबक्सको एपबाट मैले पैसा तिरेँ । उसले त्यतिन्जेल कालो कफी कपमा भरेर ल्याइसकेकी थिई । 

म हातमा कफीको कप लिएर खाली टेबल हेर्न थालेँ । सबै जसो टेबलमा मानिसहरू थिए । कोही गफिइरहेका । कोही कम्प्युटरमा तल्लीन । कोही किताबमा आँखा लगाइरहेका । कोही फोनमा मस्त । कोही कोही भने टोलाइरहेका । मेरो आँखाले कतै खाली टेबल भेट्टाएन । टाउको घुमाएर कुना कुनाका टेबलतिर पनि आँखा पु-याएँ । अहँ, कतै खाली टेबल थिएनन् ।

“यु क्यान सिट हेयर !” उउटी स्त्री स्वरले मेरो कान स्पर्श ग-यो ।

यसो आवाज आएतिर हेर्दछु, म उभिएको छेउकै टेबलमा एउटी अधबैँसे उमेरकी स्त्री हाँस्दै मलाई हेरिरहेकी छ । 

“बसौँ त ?” मैले सोधेँ ।

“अवश्य ! अवश्य !!” उसले हँसिलो अनुहार लाउँदै भनी ।

“आज मौसम क्या राम्रो छ । ब्युटिफुल वेदर !” उसले भनी ।

“हो नि ! मज्जाको छ !” मैले भनेँ ।

गोलो टेबलमा हामी आमनेसामने थियौँ ।

खैराखैरा कपाल । पुष्ट अनुहार । चम्किला आँखा । लिपिस्टिक नलगाएका बाक्ला ओठ । होचो कदकी । उसको अनुहारमा मुस्कान तैरिरहेको थियो । 

मलाई लाग्यो, पक्कै यो स्त्री स्प्यानिस हो । 

मैले सोधेँ, “तिमी कहाँबाट हो ? कुन देशबाट ?”

“म कोलम्बियाबाट ।” उसले भनी ।

मलाई झलक्क गाब्रियल गार्सिया मार्खेजको याद आयो । उनी पनि कोलम्बियाकै त थिए । म्याजिकल रियालिजम आरोपित आख्यान लेख्ने नोबेल पुरस्कार विजेता उपन्यासकार । तर मैले सम्झेँ मात्र । तिनलाई यो सम्झेको कुरा बताइनँ । 

“आज मौसम क्या रमाइलो छ । मजाले घाम लागेको छ ।” उसले कफीको चुस्की लाउँदै भनी ।

“हो नि ! गजब रमाइलो छ ।” मैले भनेँ ।

वास्तवमा मेरो हातमा एक डायरी । एक रुलदार कापी । अनि नेपाली एकथान र अङ्ग्रेजी एकथान पुस्तक थिए । म कफी सपमा पस्दा प्रायः डायरी, कापी, कलम र एक दुई किताब लिएकै हुन्छु । मुड अनुसार डायरी लेख्छु । व्यवसायका लागि सम्झेका कुरा नोट गर्छु । अथवा केही पृष्ठ किताब पढ्छु । 

“खै त त्यो किताब हेरूँ,” उसले भनी ।

मैले टेबुलमा राखेको ‘लक्की गल्र्स’ कथा सङग्रह उसको हातमा दिएँ ।

उसले किताब हातमा लिई । अगाडि पछाडि हेरी । भित्रका पाना खरर पल्टाई । अनि सोधी, “राम्रो छ ?”

मैले भनेँ, “हिजो मात्र लिएको ! पढिसकेको छैन । तर राम्रो होला जस्तो लाग्छ ।” 

“हँ ।” यति मात्र भनी उसले र किताब मेरो हातमा फर्काई ।

“अनि कति भयो अमेरिका आएको ?” मैले सोधेँ ।

“२३ वर्ष भो !” उसले भनी ।

“तिमी नै २३ वर्षकी जस्ती छौ ।” यसो भनूँभनूँ लागेर पनि भनिनँ ।

“म पनि १९ वर्ष भो ।” मैले भनेँ ।

जवाफमा उसले केही भनिनँ । पुलुक्क मेरो मुखमा हेरेर मुस्काई मात्र ।

“अनि सपरिवार नै हो ?” मैले सोधेँ ।

“तीन छोरीहरू र म ! हामी चारै जना सँगै छौँ ।” उसले भनी ।

“छोरीहरू हुर्किसके ?” मेरो थप जिज्ञासालाई पनि उसले उत्तिकै उत्साहकासाथ भनी, “हुर्की सके !”

कफी सपमा मानिस आउने जाने गरिरहेका थिए । जोजो जसजससँग आएका छन् तिनीहरूबिच कुराकानी चलिरहेको देख्छु । अरू चाहिँ बेखबर । 

कुनाको टेबुलमा सधैँ देखिरहने झ्यापुल्ले मानिसमा मेरो आँखा पुग्यो । माग्ने जस्तो देखिन्छ । मानसिक असन्तुलन भएको हो कि झैँ देखिन्छ । एउटा उकुसमुकुस पोको साथमा हुन्छ । 

लुगामाथि लुगा लगाएर अटेसमटेस भएको अवस्थामा हुन्छ । कहिले उसको टेबुलमा पानीको प्लास्टिक कप हुन्छ । कहिले कफीको कप हुन्छ । कहिले केही पनि हुँदैन । कहिले मजाले आँखा चिम्लिरहेको हुन्छ । कहिले ट्वाल्ल हेरिरहेको हुन्छ, निर्विकार ।

“मेरो नाम लिलियाना ! तिम्रो नाम के हो नि !” यो आवाजले म कुनाको टेबुलबाट आफ्नो टेबुलमा फर्किएँ ।

“गोपाल । मेरो नाम गोपाल हो ।” मैले उसतिर हेर्दै भनेँ ।

लिलियानाले आफू अगाडि भएको मफिन सकी सकेकी थिई र कफीको चुस्की लिँदै थिई । मेरो मनले मूल्याङ्कन ग-यो, खास राम्री त होइन । तर अनुहार हँसिलो । उज्यालो । तेजिलो । फरासिली पनि ।

“सिङ्गल मदर हुँ ।” लिलियानाले मैले नसोधीकनै भनी । 

“म खुसी छु । छोरीहरू पढिरहेछन् । उनीहरू पनि खुसी छन् ।” लिलियानाले हँसिलो अनुहार बनाउँदै भनी । उसले आफू र छोरीहरू ‘खुसी’ भएको कुरालाई जोड दिएकी थिई ।

मैले लिलियानाको अनुहारमा गहिरो दृष्टि राखेँ ।

उसको उज्यालो अनुहारमा खुसी र सन्तोष फक्रिरहेको थियो ।

झलक्क मैले ग्लोरिया सम्झिएँ । ऊ पनि होची होची थिई । फरासिली थिई । वारमा भेटिएकी थिई । वार टेन्डरका रूपमा काम गर्थी । भेनेज्वेलाबाट अमेरिकी सपनाको आकर्षणले तानिएर आएकी भन्थी । 

पहिलो भेटमै उसले भनेकी थिई, “म सिङ्गल छु । कोहीसँग म इन्गेज्ड छैन ।”

त्यसपछि हामीबिच मित्रता सुरु भएको थियो । 

दोस्रो भेट पनि बारमै भएको थियो । तर फरक बारमा । हामी पिउन र गफ गर्न गएका थियौँ ।

त्यसपछि हामीले नियमित जसो भेटघाट गर्न थालेका थियौँ ।

ग्लोरियाले भनेकी थिई, “मेरो एउटा छोरो छ । १० वर्षको । तर ऊ भेनेज्वेलामै छ । मेरा बाबुआमासँग बस्छ । स्कुलमा पढिरहेको छ । म खुब मिस गर्छु उसलाई ।”

यसो भन्दा ऊ गम्भीर देखिएकी थिई ।

“के गर्नु, एउटा केटासित मन बस्यो । हामीसँगै पढ्थ्यौँ । निकै मायालु थियो । अनि त हामी सपनाको संसारमा हराउन थाल्यौँ । उसको अमेरिका आउने सपना थियो । मलाई अमेरिकाको सपना देखाउने पनि उही नै थियो । यसैबिच मेरो गर्भ रहेको त पत्तै भएन । ऊ यस कुरामा खुसी थियो, पिता बन्न पाउने भो भनेर । तर मेरी आमाले थाहा पाएर गर्भ फाल्न चेतावनी दिइन् । सानै छेस्, आमा बन्ने बेला भएको छैन भनिन् । तर मैले मानिनँ । अनि बच्चा भयो । छोरो । ऊ पाँच वर्षको भएपछि मेरो ब्वायफ्रेन्ड र म अमेरिकाको अनिश्चित यात्रामा होमियौँ । बाटोमा निकै ठुलो यातना भोग्नुप¥यो । रातरातभरि जङ्गलको बाटो हिँड्नु पथ्र्याे, भोकभोकै । अचानक ऊ बिरामी भयो । हिँड्न नसक्ने भयो । ऊ जङ्गलमै छुट्यो । म अमेरिका आइपुगेँ ।” ग्लोरियाले लामो सास फेरी । 

“खासमा म उसलाई जङ्गलमा अलपत्र छोडेर आउन चाहन्नथेँ । तर उसले भन्यो, म त मर्छु । पक्का छ । तिमी मसँग बस्यौ भने, तिमी पनि बाँच्न मुस्किल छ । हाम्रो छोराका लागि तिमी बाँच्नु पर्छ । तिमी अमेरिका पुग्यौ भने हाम्रो छोराको भविष्य बन्छ । 

“उसकै वचनको पालन गर्दै अनेक कष्ट खपेर आएँ । ऊ के भयो, मैले कहिल्यै पत्तो पाइनँ । कसरी पत्तो पाउनु । पक्कै पनि उ बाँचेन होला ।” 

उसको कथाले मलाई पनि भावुक बनायो । 

“अमेरिका वास्तवमै स्वर्ग हो । के छैन यहाँ । तर यो स्वर्गमा म एक्ली छु । मेरा परिवार भेनेज्वेलामा छन् । छोरालाई पैसा पठाउँछु । बाबआमालाई पैसा पठाउँछु ।” ग्लोरिया आफ्ना कुरा भन्थी ।

अनि एक दिन ऊ मेरो ओछ्यानको पाहुना भई । 

झसङ्ग भएँ म । मेरो सामुन्ने लिलियाना थिई । मुस्कुराइरहेकी ।

“कता हरायौ ?” उसले भनी ।

जवाफमा म हाँसे मात्र । उसलाई ग्लोरियाको कथा भन्ने त कुरै भएन । के भन्नु मैले ।

“आज पार्कतिर अरू दिनभन्दा बढी थिए मानिसहरू । आखिर राम्रो मौसम मन नपर्ने को नै होला र, हैन ?” उसले भनी ।

“हो नि ! म पनि केहीबेर यतै बस्छु कफी पिउँदै, अनि लन्चपछि एपार्टमेन्ट छेउको पार्कमा जान्छु । चेरीका फूलहरू मजाले फुलेका छन् ।” मैले भनेँ ।

मेरो कुरा सुनेर लिलियाना हाँसिरही । चेरीको फूल जस्तै ।

“गोपाल एउटा कुरा भनौँ ?” लिलियानाले भनी ।

“के होला ? भने हुन्छ नि !” मैले भनेँ ।

“तिमी कति स्मार्ट छौ । म तिमीलाई अङ्कमाल गर्न सक्छु ।” लिलियानाले भनी ।

“अवश्य !” मैले भनेँ र उठेँ ।

उसले मलाई जोडसँग अँगालोमा बाँधी । उसका छातीले मेरा छातीमा रोमाञ्चकारी स्पर्श दिए । कसिलो । 

लिलियानाको तातोतातो आवाजले मेरो कान स्पर्श ग¥यो, “तिमीलाई चुम्बन गरूँ गरूँ लाग्यो गोपाल !” 

उसले मलाई अँगालोमा बाँधेको बाँध्यै गरी । 

“तिमी त फेरि हरायौ गोपाल !” लिलियानाको आवाज मेरा कानमा परे ।

ऊ मेरो सामुन्ने मेचमा कफीको कप खेलाइरहेकी थिई । 

म झस्किएँ । 

“तिमीसँग भेट्दा खुसी लाग्यो । मिठो गफका लागि धन्यवाद । मेरी छोरीलाई स्कुलमा पिकअप गर्न जाने समय भो । बाई ।” यति भनेर लिलियाना उठी । अनि कफी सपबाट बाहिर निस्किई ।

मेरा आँखाले उसको पिठ्युँ पछ्याइरह्यो । लिलियाना हिँड्दै गई । ढोकाबाहिर पुगेपछि पार्किङ लटतिर पाइला बढाई । होचोहोचो कद भए पनि उचाइ अनुसारको मोटाइले उसको शरीरको बनोट आकर्षक थियो । उसले दायाँ बायाँ कतै नहेरी आफ्नो कारको ढोका खोली । भित्र पसी । केही क्षणमै उसको कारले गति लियो । अनगिन्ती कारहरू लाम लागेको सडकमा उसको कार समाहित भयो । विलिन भयो ।

लिलियाना त गई । तर उसले ग्लोरियालाई पनि स्मृतिको अनन्त आकाशबाट बिउँझाएर ल्याइदिई । ऊ गए पनि मलाई उसको आभासले स्पर्श गरिरह्यो । मानौँ ऊ यतै कतै छेउछाउमै बसिरहेकी छ ।

मेरो हातको कफीको कप अझै रित्तिएको थिएन । 

साँच्चै कता पुगी होला ग्लोरिया ? ऊ क्यालिफोर्निया जान्छु भनेर बिदा भएकी थिई । त्यसअघिको रात मसँगै थिई । मेरो एपार्टमेन्टमा । ऊ जाँदा मलाई अलिक ननिको त लागेको हो । तर ऊ मेरो प्रेमिका थिइन । कुनै नाता थिएन । अचानक भेटिएकी थिई । नजिकिएकी थिई । भविष्यको बारेमा हामीले केही सोच्दै सोचेनौँ । हाम्रो मित्रता कति लामो जाला, यसको पनि हामीलाई चासो थिएन । अपरिभाषित थियो हाम्रो सम्बन्ध ।

हुन त एक दिन उसले भनेकी थिई, “कोही कागजपत्र भएको राम्रो केटा पाए बिहे गर्न हुन्थ्यो ।“

मैले उसलाई पुलुक्क हेरेको थिएँ ।

“साँच्चै हो के । तिमी नै हुनुपर्छ भन्ने छैन । तिमी त प्रिय साथी हौ ।... छ न त मसँग कागज नभएको होइन । टिपिएस छ । ग्रिनकार्ड लिन पाएदेखि पछि नागरिकता लिन पाइन्थ्यो अनि छोरो ल्याउन पाउँथे नि ।” ग्लोरियाले भनेकी थिई । “लौ, मसँग पनि त त्यही टिपिएस छ नि । कागज त हो तर अस्थायी ।” मैले भनेँँ ।

त्यसपछि हामी दुवै मरिमरी हाँसेका थियौँ । 

“क्यालिफोर्नियामा एउटी साथी छे । कागजवाला कोही उसले खोजिदिन्छे कि भनेर जान लागेकी हुँ ।“ उसले भनेकी थिई । 

म उसलाई एयरपोर्ट पु-याउन गएको थिएँ । मिठो चुम्बनसहित ऊ बिदा भएकी थिई ।

उसालाई पु-याएर एपार्टमेन्टमा आएपछि शौचालयमा पस्दा म झस्केको थिएँ । ग्लोरियाले आफ्नो ब्रेसियर र पेन्टी त्यहीँ छोडेर गएकी रहिछ । ती वस्त्र हेर्दाहेर्दै ग्लोरिया देखापरी । उसले त्यही ब्रेसियर र पेन्टी लगाएकी थिई । मुस्कुराइरहेकी थिई । मलाई अङ्कमाल गर्न आतुर थिई ।

ब्रेसियर र पेन्टी त्यहीँ थियो । ग्लोरिया मात्र थिइन । उसलाई त मैले भर्खरै एयरपोर्ट पु-याएर आएको हुँ । यतिबेला त उसको प्लेन पनि उडिसक्यो होला । 

तर के थाहा प्लेन ढिला भएको पनि त हुन सक्छ । मैले रिङ गरेँ । उताबाट ग्लोरियाको आवाज आयो, “हेलो स्विट हार्ट !”

मैले उसको छुटेको वस्त्रको बारेमा भनेँ । ऊ खिलखिलाएर हाँसी । हाँसिरही । अनि फोन काटिदिई ।

त्यसपछि ग्लोरियासँग मेरो सम्पर्क कहिल्यै भएन । 

मैले ग्लोरियाको ती दुई भित्री वस्त्र उसको सम्झनाको चिनो मानेर फालिनँ । राखेँ, पट्याएर । जसरी उसलाई मनको पत्रमा पट्याएर राखेको थिएँ ।

कफीको कप रित्तियो । वरिपरिका टेबलका कफी प्रेमीहरू आआफ्नै संसारमा थिए । कोही कसैको साथमा त कोही एक्लै । म जस्तै ।

मलाई लिलियानासँगको छोटो कुराकानीको मात लागे जस्तो अनुभव भयो । मैले उसको फोन नं नमागेकोमा कुनै पछुतो थिएन । ऊ स्वतन्त्र थिई । सिङ्गल थिई । छोरीहरूसँग थिई । खुसी थिई । यो उसकै कथन थियो । 

स्टारबक्स कफीको कप ट्र्यासमा फालेँ र बाहिर निस्किएँ । पार्किङ लटमा पुगेर गाडीमा बसेँ । स्टार्ट गरेँ । अनि सीधै एपार्टमेन्टतिर लागेँ । 

एपार्टमेन्टमा पुगेपछि शौचालयमा पसेँ । ग्लोरियाका भित्री वस्तु त्यहाँ यथावत् थिए । मलाई ग्लोरिया यतै कतै छे भन्ने लागिरह्यो ।

शौचालयबाट बाहिर निस्केर बाल्कोनीमा निस्केँ । मौसम साँच्चै राम्रो थियो । युवायुवतीहरू सक्दो छोटो वस्त्रमा यत्रतत्र विचरण गरिरहेका थिए । राम्रो मौसमको आनन्द लिइरहेका थिए । रमाइरहेका थिए । 

लौ, लिलियाना पनि त्यो हुलमा देखा परी । उसको पहिरन पनि छोटिएको थियो । कति छिटै आफ्नो निवासमा पुगेर आएकी । छोटो वस्त्रमा त झन् कति खुलेकी । मेरो आँखा उसमाथि एकोहोरियो ।

एक्कासि उसले हात हल्लाई । मैले पनि हल्लाएँ । 

हेर्दाहेर्दै लिलियाना होइन ग्लोरियाले पो हात हल्लाइरहेको देखेँ ।

एकैछिनमा म के देख्दछु भने, त्यहाँ न लिलियाना छे, न ग्लोरिया । मात्र शून्य छ । अपरिचित अनुहारहरू आआफ्नो सुरमा आआफ्नो गन्तव्यतिर लागिरहेका छन् ।

दुनियाँमा भ्रमको नशाभन्दा नशालु र आनन्ददायी अरू के कुरा होला ? म चुपचाप बाल्कोनीको ढोका बन्द गरेर कोठाभित्र पसेँ । 

अर्को दिन म त्यही स्टारबक्स कफी सपमा गएँ । घण्टौँ बसेँ । दुई कप कफी पिएँ । मैले डायरीमा केही नोट गरिनँ । कुनै किताबको पाना पनि पल्टाइनँ । मेरा आँखा निरन्तर ढोकातिर सोझिन्थे । प्रत्येक आउने आगन्तुकतिर हेर्थे म । मेरा आँखाले लिलियानालाई खोजिरहेका थिए । 

झलक्क भवानी भिक्षुको कथा सम्झिएँ, “त्यो फेरि फर्केला ?” के लिलियाना फर्केली ? फेरि ? यही स्टारबक्स कफी सपमा ? फर्केली ग्लोरिया क्यालिफोर्नियाबाट ? फेरि भेट होला ? 


फल्स चर्च, भर्जिनिया, अमेरिका