• ७ जेठ २०८१, सोमबार

खानेपानी स्वच्छता योजना सार्वजनिक

blog

सल्यान समाचारदाता

सल्यान, असार ३१ गते । सल्यानको शारदा नगरपालिकाले खानेपानी सरसफाइ तथा स्वच्छता (वास) योजना सार्वजनिक गरेको छ । नगरपालिकाले खानेपानी सरसफाइ तथा स्वच्छता योजना बनाएर वञ्चित समुदायमा समतामूलक वितरण गरी दिगो समाधान गर्ने गरी १० वर्षे  योजना सार्वजनिक गरेको हो ।  

खानेपानी र सरसफाइमा सबैको पहुँच कायम गर्ने यो योजना कार्यान्वयन गर्न तीन अर्ब दुई करोड ५६ लाख ३८ हजार रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । खानेपानी योजना निर्माणका लागि एक अर्ब ५१ करोड ३८ लाख ४० हजार, सरसफाइका लागि ७२ करोड २५ लाख ४८ हजार, विद्यालयमा खानेपानी र सरसफाइका लागि १८ करोड ७५ लाख ७८ हजार रुपियाँ लाग्ने अनुमान गरिएको छ । यस्तै स्वास्थ्य चौकीमा १३ करोड ८० लाख ४१ हजार, सार्वजनिक स्थानमा खानेपानी र सरसफाइ ४६ करोड ३६ लाख २९ हजार लाग्ने जनाइएको छ । 

शारदा नगरपालिकामा १५२ वटा खानेपानी योजना रहेका छन् । यसमध्ये ग्राभिटी खानेपानी योजना १४२ वटा छन् । पम्पिङका आठ वटा खानेपानी योजना रहेका छन् ।  खानेपानी सरसफाइ फोकल पर्सन कैलाश चनाराले स्वच्छ, सफा, गुणस्तर र समतामूलक वितरण गर्ने गरी समाधानसहितको योजना रहेको बताउनुभयो । उहाँका अनुसार खानेपानी सरसफाइ तथा स्वच्छता (वास) योजनाले प्राथमिकीकरण गरिएका योजना मात्र कार्यान्वयन गरिने छ । यो नगरपालिकाभित्र विद्यालय ७० वटा, स्वास्थ्य चौकी २२ वटा र सार्वजनिक शौचालय १० वटा रहेका छन् । 

खानेपानी सरसफाइ तथा स्वच्छता (वास) योजना सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटाले नगरपालिका भित्रका सबै नागरिकलाई स्वच्छ र गुणस्तरयुक्त  खानेपानीको व्यवस्था गरिने बताउनुभयो । उहाँले जनतालाई सरसफाइ र खानेपानी सेवा दिन योजना बनाएर अगाडि बढेको भन्दै १० वर्षभित्र सबैको घरमा खानेपानी पुग्ने दाबी गर्नुभयो । 

शारदा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लीलाधर बबालले वास योजनामा आधारित भएर प्राथमिकता दिई काम गरिने बताउनुभयो । शारदा नगरपालिकामा रहेका आठ हजार ८८९ घरधुरीमध्ये ८५ प्रतिशतमा मात्र आधारभूत खानेपानीको पहुँच छ ।