• ८ मंसिर २०८१, शनिबार

नारायणगढ–मुग्लिन सडक

राजमार्गमा पहिरो ! किन झरिरहेछ पहिरो ?

blog

‘कृष्णभिरमा आज नि जाम पर्‍यो 

बोल्न मन लाग्यो के नाम पर्‍यो

कृष्णभिरमा जाम 

बोर भो नि सोल्टिनी हाँसी बोली रम् । 

कृष्णभिरमा जाम ।’

गायिका विमाकुमारी दुरासँग युगल स्वरमा ‘कृष्णभिरमा जाम’ बोलको यो गीत गाएपछि गायक मिलन लामाले कति रोयल्टी कमाउनु भयो यो त उहाँलाई नै थाहा होला तर यही गीतले लामालाई भने गीतसङ्गीतका क्षेत्रमा धेरै उचाइमा पुर्‍यायो । २०५८ सालमा कृष्णभिरको पहिरोले पृथ्वीराजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई सास्ती दिन थालेका बेला त्यहाँ अलपत्र परेका युवायुवतीको प्रेम भावलाई टपक्कै टिपेर यो गीत बनाइएको थियो । गायक लामाले पनि त्यो बेला कृष्णभिरमा जाम परेर दुःख भोग्नु भयो । यही दुःखलाई सम्झँदै गीत बनाएको कुरा यतिबेला उहाँ सुनाउनुहुन्छ । 

“मलाई कृष्णभिरको जाम छिचोल्न पाँच/छ घण्टा पैदल यात्रा गर्नु पर्‍यो । एउटा चाउचाउ तेब्बरसम्म मूल्य तिरेर खानु पर्‍यो । यही विषयलाई टिपेर मैले कृष्णभिरको जाम गीत परिकल्पना गरेको हुँँ ।” गीत सम्झँदै लामाले भन्नुभयो, “त्यो कृष्णभिरको कहाली लाग्दो अवस्था अन्त्यका लागि जनचेतना जगाउँ भन्ने मेरो उद्देश्य हो । अहिले कृष्णभिरमा पहिरो खस्दैन तर अन्य ठाउँमा पहिरोको समस्या उस्तै छ । नारायणगढ–मुग्लिन सडकमा अहिले झरिरहेका पहिरोले कृष्णभिरको पहिरोलाई बिर्साइ दिएको छ ।” 

असार लागेसँगै नारायणगढ–मुग्लिन सडकका विभिन्न ठाउँमा पटक पटक पहिरो झरिरहेको छ । असारको महिनाभरि नै पहिरोले यात्रुलाई सास्ती दिइरह्यो । सडकको तीन नम्बर पुलमा ठुलो पहिरो थियो भने कालीखोलामा पहिरोले सडकसँगै दुई घर बगायो । अन्यत्र तीन/चार ठाउँमा पनि पहिरोले सडक अवरुद्ध भएको छ । पहिरो झर्दैछ, त्यसलाई पन्छाउँदै सडक सञ्चालनमा ल्याइएको छ । 

विगत २० वर्षदेखि नारायणगढ–मुग्लिन हुँदै ट्रक चलाएर काठमाडौँ ओहोरदोहोर गरिरहनु भएका हेटौँडाका सुरेन्द्र हमाल असार दोस्रो हप्ताको शुक्रबार दिउँसो पहिरोले थुनिएकै अवस्थामा भेटिनुभयो । रोकिराखेको ट्रक नजिकै स्टोभमा खाना पकाइरहनु भएका हमाल आफूहरूलाई सडकमा भात पकाएर खान र ट्रकमा सुत्न बानी परिसकेको बताउनुहुन्छ । 

“कहिले त दुई/तीन दिन पनि पहिरोले थुनिएर बस्नु पर्छ, खाना त खानै पर्‍यो, त्यही भएर हामीले त ट्रकमा खानेकुरा र पकाउने भाँडा बोकेर हिँड्छौँ”, उहाँले भन्नुभयो । सोही दिन भैरहवाबाट बिरामी लिएर आएको एम्बुलेन्स पनि पहिरोमा अलपत्रमा पर्‍यो । पहिरोका कारण १९ घण्टा लामो जाम छिचोलेर काठमाडौँ पुग्दा बिरामी सिकिस्त भइसकेका थिए । आफन्त रामकुमारी सेढाईं सडकको यात्रा बिरामी र अशक्तका लागि थप जटिल र असुरिक्षत रहेको गुनासो गर्नुहुन्छ । 

“यो (नारायणगढ–मुग्लिन) सडकको विकल्प नभएपछि र सुविधा सम्पन्न अस्पतालहरू पनि काठमाडौँ बाहिर नभएपछि उपचारका लागि काठमाडौँ लैजानै पर्ने बिरामीलाई ज्यानको बाजी नै लगाउनु पर्ने अवस्था भयो ।” उहाँको दुःखेसो छ, “बिच सडकमा रातभरि बिरामी रुँघेर बस्दा बिरामी मात्रै होइन, उसका आफन्तलाई पनि कति पीडा होला भन्नुस् त ।” 

“काठमाडौँ नलैजाउँ उपचार नपाएर मर्नुको विकल्प छैन, लैजाउँ सडकमा हुने पहिरोले बाटैमा मर्ने हो कि भन्ने सास्ती छ,” राजमार्गमा अलपत्र पर्दाको पीडा सुनाउँदै सेढाईंले भन्नुभयो ।

उसो त छ वर्षअघि यही सडकमा पहिरोले प्रहरीको भ्यान पुरिँदा चार जना प्रहरीको मृत्यु भएको थियो । कालीखोलामा २०७४ साल असार ८ गते राति चार जना प्रहरी चढेको भ्यान पहिरोले बगाउँदा चार जना प्रहरीको मृत्यु भएको थियो । सोही दिन राति नै ट्रक पनि पुरिएको थियो । यो घटनामा भने मानवीय क्षति भएको थिएन । गत शनिबार राति पहिरोले यही ठाउँमा दुई घर पुरेको छ । यस घटनामा मानवीय क्षति भने भएको छैन । 

 यसअघि २०७३ साल चैत २१ गते पहिरोले ट्याक्टर र मोटर साइकल पुरिँदा दुई जनाको मृत्यु भयो । नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा यो दुर्घटना भएको थियो । अहिले पनि असार तेस्रो साता गएको पहिरोमा परी दुई वटा सवारी साधन पुरिए । सो घटनामा सवारी साधनमा क्षति पुगे पनि मानवीय क्षति भने भएको छैन । 

नारायणगढ–मुग्लिन सडक मात्रै होइन, देशैभरका मुख्य सडकमा अहिले पहिरोको समस्या छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनामा २९३ वटा, निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत १६५ वटा सडक सञ्चालनमा छन् । नेपालमा करिब एक हजार दुई सय सडक र ७०० पुल निर्माणाधीन अवस्थामा रहेका छन् । 

सडक विभागका अनुसार ८० वटा सडक त विभाग मताहातका राष्ट्रिय राजमार्ग हुन् । यो लेख तयार पार्दासम्म यी राजमार्गमा गत जेठ २३ यता ६० वटा सडकमा ८२ पटक पहिरो झर्दा ६७३ घण्टा अर्थात् २८ दिनभन्दा बढी अवरुद्ध भएको सडक विभागको वेबसाइडमा उल्लेख छ ।  विभागका अनुसार गत जेठ २३ भन्दा यता गएका पहिरोका कारण देशैभरि भत्किएका सडकमा २४ करोड ९९ लाख ६२ हजार तीन सय रुपियाँ आर्थिक क्षति भएको छ । यसरी भत्किएका सडक सबैभन्दा लामो समय अवरुद्ध भएको धरान–धनकुटा सडक हो । यो सडकको दोभानमा गत असार १ गते सडक नै भासिएर पहिरो जाँदा अवरुद्ध भएको सडक असार ५ गते १२० घण्टापछि खुलेको थियो । 


राजमार्ग अवरुद्ध हुँदा सबैभन्दा धेरै चासो हुने सडक नारायणगढ–मुग्लिन खण्ड नै हो । नारायणगढ–मुग्लिन सडक २०७८ साल यताको दुई वर्ष तीन महिनामा ५३ पटक पहिरो जाँदा २४४ घण्टा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्क छ । 

बाढीपहिरोले यो राजमार्गमा पुल बगाउँदा समस्या भएको हो । अन्य धेरै राजमार्गमा पनि सनातिना पहिरोको समस्यामा छन् । पृथ्वी राजमार्गका विभिन्न ठाउँ, पूर्वपश्चिम राजमार्गको दाउन्ने, सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर, गल्छी–त्रिशूली सडक, अरनि राजमार्ग, बिपी राजमार्ग, बालाजु–त्रिशूलीको पासाङ ल्हामु राजमार्ग, भालुवाङ–रोल्पा सडक, हेटौँडा–नौबिसे त्रिभुवन राजपथ, धनगढी–दार्चुला सडक, डुम्रे बेँसीसहर सडक, अरनिको राजमार्ग आदिमा पहिरोको ‘क्रोनिक’ समस्या छ । 

किन झरिरहेछ पहिरो ?

नेपालका प्रायः सडक पहाडको खोंच र नदीका किनारमा निर्माण गरिएका छन्, जसले सडक निर्माण वा मर्मत सुधार गर्दा पहाड काट्नु पर्छ । त्यसले पहिरोको समस्या निम्त्याउने गरेको हो । भूगर्भविद् डा. रञ्जनकुमार दाहाल सडकसँगैका चट्टान काट्न गरिने परम्परागत अध्ययन र शैली नै गलत भएको तर्क गर्नु हुन्छ । 

“अब नारायणगढ–मुग्लिन सडकको पुनर्निर्माणको कामलाई नै हेरौँ न, यहाँ अवलम्बन गरिएको गलत परिपाटी र भौगर्भिक संरचना अनुरूपको डिजाइन नहुँदा हरेक वर्ष पहिरोको समस्या झेल्नु परेको हो ।” उहाँले थप्नुभयो, “सडकको पुनर्निर्माण, मर्मत सुधार र पुल निर्माणको काम एकीकृत रूपमा हुनु पर्छ । सडक तथा पुल विस्तार र निर्माणका क्रममा पटक पटक सडकसँगैका भित्ता काटेर पहाडलाई स्थिर बस्न नदिँदाको परिणाम नै पहिरोको प्रमुख कारण हो ।” 

विश्व बैङ्कको सहयोगमा सन् २०१५ को अप्रिलमा सम्झौता भई तीन अर्ब ३६ करोड रुपियाँ लागतमा चार वर्ष लगाएर ३६ किलो मिटर नारायणगढ–मुग्लिन सडक विस्तार गरियो । एसियाली मापदण्ड अनुरूपको दुई लेनको सडक बनाउने योजनाअनुसार सो सडकको निर्माण सम्पन्न भएको हो । पुनर्निर्माणको क्रममा पहाड काटिएको नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोको जोखिमका बारेमा भारतीय कम्पनी इन्टर कन्टिनेन्टल कन्सल्टेन्ट एन्ड टेक्नोक्रेट (आइसिटी) ले अध्ययन गरी प्राविधिक सुझाव पनि दिएकै हो ।

आइसिटीको विज्ञ टोलीले सडकको ३१ स्थानमा पहिरो जोखिम क्षेत्र पहिचान गरेर नियन्त्रणका लागि नारायणगढ–मुग्लिन सडक आयोजनालाई सुझाव दिएको थियो । सोही प्राविधिक सुझावका आधारमा आयोजनाले थप १४ करोड रुपियाँ खर्च गरी पहिरो नियन्त्रणको काम पनि ग¥यो तर पहिरो रोकिएन । सडकको बिस किलो, चौध किलो, सत्र किलो, पाँच किलो, चार किलोलगायत दर्जन ठाउँमा पहिरो झ¥यो । सडक विस्तारकै क्रममा काटिएका पहाडमा पहिरो नियन्त्रण नहुँदै पुनः पुल निर्माणका लागि थप पहाड काट्न थालियो, जसले राजमार्गको तीन नम्बर पुललगायत चार ठाउँमा अहिले पहिरोको समस्या देखियो । 

राजमार्ग अवरुद्ध हुँदा सबैभन्दा धेरै चासो हुने सडक नारायणगढ–मुग्लिन खण्ड नै हो । नारायणगढ–मुग्लिन सडक २०७८ सालयताको दुई वर्ष तीन महिनामा ५३ पटक पहिरो जाँदा २४४ घण्टा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्क छ । 

विश्व बैङ्ककै एक अर्ब २७ करोड पाँच लाख रुपियाँ सहयोगमा २०७६ साल चैत १० गते ठेक्का सम्झौता भई बन्न सुरु भएका नारायणगढ–मुग्लिन सडककै १९ वटा पुलमध्ये अहिलेसम्म १५ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । चार वटा पुल भने निर्माणकै क्रमममा छन् । पुल निर्माणका क्रममा काटिएका पहाड नै अहिले पहिरो बनिरहेको हो । यो सडकमा पाँच वटा पुल निर्माणका क्रममा भित्तो काटिएका छन् । 

“अघिल्लो वर्ष मौरी खोला, सेती दोभान र १८ किलोमा बढी पहिरो जान्थ्यो । अहिले मुग्लिनभन्दा करिब तीन किलो मिटर पश्चिम तीन नम्बर पुल नजिकै पहिरो झरेको छ,” डिभिजन सडक कार्यालय भरतपुरका डिभिजन इन्जिनियर रमेशप्रसाद पौडेलले भन्नुभयो, “पटक पटक पहाड काटिरहँदा पनि समस्या भएको हो भन्ने हामीले पनि महसुस गरेकै विषय हो ।” 

हरेक वर्षजसो पहिरोे नयाँ ठाउँ भएको र पहाड काट्ने क्रममा थर्कंदा त्यसको प्रभाव परेको उहाँको पनि भनाइ छ । यसका अलवा हरेक वर्ष नयाँ नयाँ ठाउँबाट पहिरो झरिरहेका सम्बन्धमा थप अनुसन्धान पनि हुनुपर्ने उहाँको सुझाव छ । “यसको यकिन कारण त अध्ययन हुन जरुरी छ तर सेट भएर बसेको राजमार्ग हामीले चलायौँ । यसैको परिणाम अहिलेको समस्या हो,” उहाँले भन्नुभयो, “काटिएको भिरालो जमिनलाई सामान्य रूपमा हेरियो । यो नै अहिलेको जटिल समस्या हो ।” 

भूगर्भविद् दाहालका अनुसार सडकको भित्ता काट्ने गाइडलाइन (मार्गनिर्देशन) नै गलत छ । पहिला पहाडको चट्टान काट्छौँ । अनि तल सामान्य टोवाल लगाएर माथि त्यसै छाड्छौँ । यो काम नै गलत छ । त्यसैले सामान्य पानी पर्दा पनि पहिरो जान्छ । 

देशकै प्रमुख राजमार्गमध्ये एक हो नारायणगढ–मुग्लिन सडक । राजधानी काठमाडौँलाई आवश्यक पर्ने खाद्यान्न तथा लत्ताकपडा र अन्य अत्यावश्यक सामान यही सडकबाट लगिन्छ । राजधानीलाई तराईका जिल्लासँग जोड्ने देशकै ‘लाइफ लाइन’ मानिएको यो मुख्य सडक एकैछिन अवरुद्ध हुँदा हजाराैँ सवारीसाधन र लाखौँ यात्रु अलपत्र पर्छन् ।  सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल भन्नुहुन्छ, “सडक विस्तार अगाडि भयो । पुल सँगसँगै बनाउन नसकिएकै हो । तत्कालीन अवस्थामा परियोजना बनाउँदा भएका कमजोरीले अहिले पाठ सिकाएको छ ।” महानिर्देशक ढकाल बनिसकेका मात्र होइन, बन्दै गरेका सडकमा समेत पहिरोको समस्या भएको बताउनुहुन्छ । “अहिले बर्सात्का बेला हाम्रा प्रायः सडकमा पहिरोको समस्या छ । नेपालका प्रायः सडक पहाडी क्षेत्रमा भएकाले पहिरोको समस्या परेको हो,” उहाँले भन्नुभयो । नदी किनारमा रहेका राजमार्गमा चाहिँ नदीले तलबाट कटान गर्दा पहिरोसँगै राजमार्ग नै भासिने समस्या पनि रहेको छ । 

पहिरो पन्छाउन वार्षिक एक करोड 

नारायणगढ–मुग्लिन सडकका पहिरो पन्छाउन वार्षिक एक करोड रुपियाँभन्दा बढी खर्च हुन्छ । अहिले पनि सडकमा दुई वटा स्क्याभेटर, दुई वटा लोडर र दुई वटा जेसिभी नियमित परिचालित हुन्छन् । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिई रमेशप्रसाद पौडेलले अहिले पनि पहिरो पन्छाउँदै सडक खोल्दै गरिरहेको बताउनुभयो । त्यसका लागि पहिरो क्षेत्रमै उपकरण र प्राविधिक तयारी अवस्थामा राखिएका छन् । कार्यालयका अनुसार पहिरो पन्छाउन एक करोड रुपियाँ हाराहारीमा वार्षिक खर्च हुने गरेको छ । 

वैकल्पिक सडकको खोजी 

पहिरो झर्ने र पन्छाइरहनु समस्याको समाधान होइन । समस्याको दीर्घकालीन समाधान त कि भत्किने सडकको वैकल्पिक सडक बन्नु पर्छ । कि पहिरोको समस्या सदाका लागि अन्त्य हुनु पर्छ तर तत्काल यी दुवै समाधान देखिँदैन । सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबाको पहिरो छल्न वैकल्पिक सडक निर्माण सुरु गरियो तर  प्राथमिकतामा काम हुन सकेन । बुटवलको धागो कारखाना, चरङ्गे र पाल्पाको चौकीभन्ज्याङ हुँदै झुम्सा जोड्ने मार्ग निर्माणमा अहिलेसम्म करिब ३८ करोड रुपियाँ खर्च भइसकेको छ तर अझै निर्माण सकिएको छैन ।

सडकको पुनर्निर्माण, मर्मत सुधार र पुल निर्माणको काम एकीकृत रूपमा हुनु पर्छ । सडक तथा पुल विस्तार र निर्माणका क्रममा पटक पटक सडकसँगैका भित्ता काटेर पहाडलाई स्थिर बस्न नदिँदाको परिणाम नै पहिरोको प्रमुख कारण होे । 

यस्तै, नागढुङ्गा–नौबिसेको विकल्पको रूपमा रहेको धार्के–सीतापाइला सडक पनि निर्माणाधीन छ । धेरै पहिला ट्र्याक खुलेको यो सडक पनि अहिलेसम्म पूरा हुन सकेको छैन । पृथ्वी राजमार्गकै नौबिसेदेखि मुग्लिनसम्मको वैकल्पिक सडक बनाउनुपर्नेमा त्यो पनि बन्न सकेको छैन । विश्व बैङ्कले त्रिशूली पारिबाट नयाँ बाटो बनाउने अध्ययन गरे पनि बजेटको सुनिश्चितता नभएपछि अहिले पृथ्वीराजमार्गकै पुनर्निर्माणको योजना अघि सारिएको पाइन्छ । 

बिपी राजमार्गको पनि वैकल्पिक सडक निर्माण भएको छैन । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडककै वैकल्पिक बाटोका रूपमा हेरिएको बुद्धसिंह मार्गको चितवन र तनहुँको सीमा क्षेत्रमा रहेको घुमाउनेमा पुल निर्माण हुन जरुरी छ । विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भए पनि यो पुल निर्माण हुन सकेन । नौ करोड ५६ लाख रुपियाँमा निर्माण सम्पन्न गर्न मृत सञ्जीवनी निर्माण कम्पनीसँग सम्झौता भए पनि यसको अहिलेसम्म ३० प्रतिशत मात्रै काम सकिएको छ । 

यस्तै नारायणगढ मुग्लिन सडकको वैकल्पिक सडकका रूपमा त्रिशूली पारि गैँडाकोट देवघाट, दासढुङ्गा मुग्लिनको ३८ किलो मिटर सडक निर्माणका लागि प्रारम्भिक गृहकार्य सुरु भएको छ । यसका अलवा भण्डारा–मलेखु सडकको निर्माण कार्य पूरा गर्न सके नारायणगढ–मुग्लिन सडकको वैकल्पिक सडक बन्ने विज्ञहरूले औँल्याएका छन् । 

डिई पौडेलका अनुसार ६९ किलो मिटरको यो सडक पूरा गर्न अब नौ अर्ब रुपियाँ लागत चाहिन्छ । यसमा तीन किलो मिटर सुरुङ मार्ग बनाउन सकिए बाटोको दुरी घटाएर ४८ किमी बनाउन सकिन्छ । यस्तै, नारायणगढ मुग्लिन सडककै विकल्पको खोजी गर्ने गरी चितवनकै शक्तिखोरबाट पृथ्वीराजमार्गको माझिमटार निकाल्ने गरी सुरुङ मार्गको पनि सडक विभागले अध्ययन सुरु गरेको छ । सो सुरुङ मार्ग निर्माण हुने अवस्था भएमा चितवनबाट काठमाडौँ जाने यात्रा थप सहज हुने छ । शक्तिखोरदेखि फिस्लिङसम्म निर्माण भएको पहाडी सडक साना सवारी साधानका लागि भए पनि ठुला सवारी साधनलाई सहज छैन । वैकल्पिक सडक निर्माणको योजनासँगै पहिरो समाधानमा दीर्घकालीन योजना पनि ल्याउनु पर्छ । भूगर्भविद् 

डा. रञ्जन दाहाल पहिरो नियन्त्रणमा परम्परागत विद्याभन्दा पनि नयाँ ज्ञान, सिपलाई अगाडि बढाउनुपर्ने तर्क गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला नयाँ शैलीबाट पहिरोको अध्ययन गरौँ । नियमन निकाय इन्जिनियरिङ काउन्सिललाई जिम्मेवार बनाउँदै भूगर्भविद्हरूले ल्याएको निष्कर्षलाई पालना गर्ने हो भने पनि पहिरो नियन्त्रण गर्न सकिन्छ ।” उहाँले स्थानीय स्रोत साधन र नवीनतम ज्ञान तथा सिपको भरपूर उपयोग गरेर भौगोलिक अवस्थालाई ध्यान दिँदै पहिरो नियन्त्रणका लागि अघि बढ्नुपर्ने सुझाव दिनुभयो । 

जैविक प्रविधिबाट कृष्णभिरको पहिरो नियन्त्रण गरिएको हो । पहिरो नियन्त्रणमा विश्वमै नेपालको यो शैली नवीनतम थियो । जैविक विधि अर्थात् वृक्षरोपण गरेर नै पहिरो नियन्त्रण गरिन्छ । यो काम नारायणगढ–मुग्लिन सडकमा पनि गर्न सकिने अवस्था छ । भूगर्भविद् दाहाल भन्नुहुन्छ, “तत्काल पहिरो जोखिम भएको माटो कटान गरेर हटाउने वा तल्लोभाग पर्खाल र माथिल्लो भाग जाली लगाएर बलियो तरिकाले व्यवस्थापन गरेर पनि पहिरो रोक्नु पर्छ ।”