• २ कात्तिक २०८२, आइतबार

निर्वाचनमैत्री वातावरण बनाउन ७७ जिल्लाका प्रजिअलाई निर्देशन

blog

फाइल तस्बिर

  • शान्तिसुरक्षा कडाइ : सम्भावित जोखिम पहिचान र नियन्त्रणका लागि सक्रिय सूचना संकलन
  • अहिंसात्मक आन्दोलन : सभा–सम्मेलन शान्तिपूर्ण र पूर्वस्वीकृत मात्र गर्न निर्देशन
  • अवैध हतियार नियन्त्रण : हराएका हतियार फिर्ता ल्याउन संयुक्त अपरेसन
  • कानुन कार्यान्वयन : दण्डहीनता अन्त्य र अवैध गतिविधिमा तुरुन्त कारबाही
  • निर्वाचन तयारी : फागुन २१ को निर्वाचनका लागि शान्त र सुरक्षित वातावरण सुनिश्चित
  • सुशासन प्रवर्द्धन : भनसुनरहित, पारदर्शी र छिटो सेवा प्रवाह
  • विकास सहजीकरण : आयोजना अवरोध हटाई काममा तीव्रता
  • कारागार सुधार : फरार बन्दी खोजी र सुधारगृह व्यवस्थापन सुदृढ
  • विपद् तयारी : अत्यावश्यक सेवामा अवरोध हुन नदिने व्यवस्था
  • बजार र राजश्व निगरानी : कालोबजारी, तस्करी र राजश्व चुहावट नियन्त्रण 

काठमाडौँ, कात्तिक २ गते। गृह मन्त्रालयले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाह, विकास व्यवस्थापन, आपूर्ति व्यवस्थापन, अनुगमन निरीक्षण र कार्यक्रममा सहभागिता एवम् व्यवस्थापनलगायत विषयमा देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। 

मन्त्रालयले आज जिल्लामा शान्तिसुरक्षा तथा अपराध नियन्त्रण, सुशासन, नियमन, समन्वय र सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्नुपर्नेलगायत व्यक्तिगत आचरणसमेतका विषयमा सजगता साथ सक्रिय एवम् प्रभावकारी भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा र विश्वास जागृत एवम् अभिवृद्धि गर्ने तथा नतिजा देखिने गरी प्रचलित कानुनले प्रदान गरेका जिम्मेवारी निर्वाह गर्ने क्रममा देहायबमोजिम गर्न र गराउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो। 

मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार मन्त्रालयले शान्तिसुरक्षाअन्तर्गत जेनजीको प्रदर्शनपछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै जिल्लाभित्र शान्तिसुरक्षामा तत्काल र दीर्घकालमा असर पार्ने सुरक्षा चुनौतीहरू सतहमा आउनुपूर्व नै पहिचान एवम् विश्लेषण गर्दै त्यसका लागि सूचना सङ्कलन, विश्लेषण र उपयोगलाई समन्वयात्मक रूपमा प्रभावकारी बनाउनसमेत निर्देशन दिएको छ। 

त्यसैगरी मन्त्रालयले पछिल्लो परिवर्तनपश्चात् नयाँ सरकार गठन भई आम निर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक एवम् विरोधका कार्यक्रमहरू सञ्चालन गर्दा अहिंसात्मक हुनेगरी शान्तिपूर्ण ढङ्गबाट अन्य पक्षलाई उत्तेजित नपार्ने एवम् उक्साहट नहुनेगरी पूर्वस्वीकृति लिएर मात्र सभा सम्मेलन गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ। 

जेनजी पुस्ताको प्रदर्शनका क्रममा मुलुकका विभिन्न भागमा सुरक्षा निकायका साथबाट हराएका वा लुटिएका हातहतियार र खरखजाना फिर्ता ल्याउन सबै सुरक्षा निकायले कार्ययोजना बनाई संयुक्त रूपमा प्रभावकारी सेक्युरिटी अपरेशसन सञ्चालन गर्ने, अवैध हातहतियारको नियन्त्रण गर्न आवश्यक कार्य गनुपर्ने मन्त्रालयको निर्देशनमा उल्लेख छ।


सरकारले जिल्लास्थित सबै सुरक्षाकर्मी तथा निजामती कर्मचारीको मनोबल बढाउने गरी छलफल, अनुगमन एवम् उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्न, कानुन कार्यान्वयनमा प्रभावकारिता अभिवृद्धि गर्दै दण्डहीनताको अन्त्य गरी नागरिकमा स्थानीय प्रशासन एवम् सुरक्षा निकायप्रतिको विश्वास जागृत र अभिवृद्धि गराई सुरक्षा प्रत्याभूति गर्न तथा  कानुन विपरीतका कार्यमा संलग्न जो कोहीलाई पनि तत्काल नियन्त्रणमा लिई प्रचलित कानुनबमोजिम कारबाही गर्न र विस्थापित भएका सुरक्षा निकायका कार्यालय स्थानीय समुदायसँगको समन्वय एवम् सहयोगमा पुनःस्थापित गर्न र गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ। 

जिल्लाबाट शान्तिसुरक्षा, विपद् व्यवस्थापनलगायत तत्काल जाहेरीसमेतका विषयमा गर्नुपर्ने दैनिक प्रतिवेदन मन्त्रालयको दैनिक प्रतिवेदन प्रणालीबाट गर्ने, प्रतिवेदन गर्नुपर्ने उल्लेखनीय विषय नभए पनि दैनिक जानकारी गराउनुपर्ने र राष्ट्रिय अन्तरराष्ट्रिय प्रभाव पार्ने, अपराध नियन्त्रण र शान्तिसुरक्षामा गम्भीर असर पु¥याउनेलगायत महत्वपूर्ण घटनाको सूचना तत्कालै मन्त्रालयसमक्ष प्रमुख जिल्ला अधिकारीले जाहेरी गर्नुपर्ने निर्देशनमा उल्लेख छ। 

मन्त्रालयले जिल्लाभित्रका गतिविधिका बारेमा नियमित प्रतिवेदन र जाहेरी गर्नुपर्ने दायित्व प्रमुख जिल्ला अधिकारीको रहने भएकाले घटनाको प्रकृति तथा संवेदनशीलता विश्लेषण गरी यथाशीघ्र जानकारी गराउने र मन्त्रालयबाट आवश्यक छानबिन तथा कारबाहीका लागि लेखी पठाइएका विषयहरू प्राथमिकताका साथ फछ्र्यौट गर्नुपर्ने निर्देशन दिएको छ। 

सरकारले अपराध नियन्त्रण सम्बन्धमा जिल्लाभित्र घट्ने कुनै पनि घटनाको निरूपण, पीडितलाई न्याय र दोषीलाई कानुनको दायरामा ल्याउने कार्यमा नागरिकको आशा, विश्वास र भरोसामा अभिवृद्धि हुनेगरी कार्यसम्पादन गर्ने, गराउन र छिमेकी मुलुकहरूसँग सीमा जोडिएका जिल्लाले सीमा सुरक्षा, सीमा स्तम्भको सुरक्षा र सीमा क्षेत्रमा हुने अपराध तथा सीमापार अपराध नियन्त्रणका लागि सीमा क्षेत्रका गतिविधि नियमित रुपमा निगरानी गर्ने, जिल्ला सुरक्षा समितिका तर्फबाट सीमा निरीक्षण गर्ने, सुरक्षाकर्मीबाट एकल तथा संयुक्त गस्ती पट्रोलिङ गर्ने र आवश्यकताअनुसार समकक्षी बैठकसमेत आयोजना गर्न पनि निर्देशन दिएको छ। 

समकक्षी बैठकमा सहभागिता जनाउनुपूर्व मन्त्रालयको स्वीकृति लिने र त्यस्ता बैठकमा राष्ट्रिय हितका विषयहरू स्पष्टसँग उठाउनुपर्ने तथा  मन्त्रालयले स्पष्ट अधिकार दिएको अवस्थामा बाहेक लिखित सहमति नगर्ने साथै बैठक सम्पन्न भएपछि प्रमुख जिल्ला अधिकारीले सो बैठकका सम्बन्धमा मन्त्रालयलाई लिखित प्रतिवेदन दिन मन्त्रालयले निर्देशन दिएको छ।

निर्वाचनमैत्री वातावरण बनाउन निर्देशन

 गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालाको समन्वयमा जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । 

मन्त्रालयले आज सुरक्षा निकायहरूबाट समन्वयात्मक रूपमा निर्वाचन सुरक्षा लक्षित गस्ती पेट्रोलिङ बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो । 

मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार मन्त्रालयले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न भरपर्दो सुरक्षा व्यवस्था गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ तर्जुमा सुरु भइसकेकाले जिल्लास्तरमा समेत यसपूर्वको निर्वाचन सुरक्षा अभ्यास तथा अनुभव समेतका आधारमा सबै सुरक्षा निकायले उक्त निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सुरक्षाकर्मी, हातहतियार, सञ्चार उपकरण, सवारी साधनलगायतको विषयमा लेखाजोखा गर्नुपर्नेमा पनि जोड दिएको छ । 

सरकारले हाल कायम रहेका मतदानस्थलको परिवर्तित परिस्थितिमा वर्गीकरण गर्नुपर्ने भएकाले जिल्ला सुरक्षा समितिबाट संवेदनशीलतास्तर (सामान्य, संवेदनशील र अति संवेदनशील) विश्लेषण एवम् वर्गीकरणको कार्य गरी मन्त्रालयसमक्ष प्रतिवेदन गर्न र निर्वाचन विरोधी गतिविधि एवम् भूमिगत समूहद्वारा सञ्चालित क्रियाकलापको पहिचान एवम् नियन्त्रणका लागि सूचना प्राप्ति, विश्लेषण र कार्ययोजना बनाई समन्वयात्मक तवरले प्रभावकारी रूपमा कार्यान्वयन तथा प्रतिवेदन गर्न पनि जिप्रकासँग अपिल गरेको छ । 

तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने गराउने सम्बन्धमा निर्वाचन आयोग तथा यस मन्त्रालयबाट भएका निर्णय एवम् निर्देशनलाई प्राथमिकता दिई तदारूकताका साथ कार्यान्वयन गराउन मन्त्रालयले निर्देशन दिएको छ । 

सुशासन र प्रभावकारी सेवा प्रवाहको विषयमा गृह मन्त्रालयले जिल्लामा नेपाल सरकारको प्रतिनिधिका रुपमा प्रमुख जिल्ला अधिकारीले काम गर्ने भएकाले प्रचलित ऐन, नियम र निर्देशिका प्रदत्त अधिकार प्रयोग गरी पूर्ण सक्रियताका साथ कार्यसम्पादन गर्न र नागरिक सरोकारका विषय एवम् सेवा प्रवाहका कार्यमा अग्रसरता लिई समयमा नै कार्य फछ्र्यौट गर्न-गराउन निर्देशन दिएको छ । 

सार्वजनिक सेवा प्रवाहमा जनताका ससाना अपेक्षा तथा समस्या सम्बोधन हुनेगरी सेवालाई पूर्वानुमानयोग्य बनाउने र लाग्ने समय एवम् आवश्यक कागजात पूरा भएपछि कसैलाई भनसुन नगरी सेवा पाइन्छ भन्ने विश्वास जागृत हुनेगरी काम गर्ने र सोही बमोजिमको व्यवस्था मिलाउन मन्त्रालयको निर्देशनमा उल्लेख छ । 

त्यसैगरी विकास व्यवस्थापनको सवालमा जिल्लाभित्रका निर्माणाधीन विकास आयोजना (राष्ट्रिय गौरवका आयोजना, प्राथमिकता प्राप्त राष्ट्रिय आयोजना, प्रादेशिक वा स्थानीयस्तरका आयोजना) को निर्माण कार्यमा कुनै समस्या वा अवरोध देखापरेमा आवश्यक समन्वय र सहजीकरण गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ । 

जेनजी युवाको अगुवाइमा भएको आन्दोलनका क्रममा फरार कैदीबन्दी फिर्ता ल्याउनेसम्बन्धमा गृह मन्त्रालयको निर्णयअनुसार गठित फरार बन्दी खोजी तथा पक्राउ कार्यदललाई प्रभावकारी बनाई कार्यसम्पादन गर्दै कारागार कार्यालयको मासिक रूपमा नियमित अनुगमन गरी कारागारको सुरक्षा प्रबन्ध, आन्तरिक नियन्त्रण एवम् कैदीबन्दीको मानवोचित व्यवस्था र न्यूनतम मानव अधिकारको सुनिश्चितता गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

कारागारलाई सुधारगृहका रुपमा विकास गर्न कैदीबन्दीको सीप विकास र विद्यमान सीपको प्रयोग गरेर कारागारभित्र उद्योग सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन तथा यस कार्यमा प्रदेश सरकारसँग समेत आवश्यक समन्वय गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।

 विपद् व्यवस्थापनबारे मन्त्रालयले जिल्ला विपद् व्यवस्थापन समितिलाई क्रियाशील बनाई विपद् व्यवस्थापन समितिको बैठक नियमित रुपमा आयोजना गर्ने र विपद्का कारणले नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सृजना गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई भरपर्दो र सुरक्षित तुल्याउन निर्देशन दिएको छ । 

मन्त्रालयले अत्यावश्यक सेवा ९सडक, सञ्चार, विद्युत्, खानेपानी, स्वास्थ्य उपचार, रक्तसञ्चार सेवा, सार्वजनिक यातायात, दमकल, एम्बुलेन्स आदि० मा सेवा अवरुद्ध नहुने सुनिश्चित गर्न निरन्तर समन्वय गर्ने साथै सेवा अवरुद्ध गर्ने बिरुद्ध तत्काल कारबाही गर्न पनि निर्देशन दिएको छ । 

जिल्लाभित्र वस्तु तथा सेवाको अभाव हुन नदिई सहज तथा नियमित आपूर्ति सुनिश्चित गर्न, जम्माखोरी, कालोबजारी अस्वभाविक मूल्यवृद्धि रोक्न र उपभोक्ता ठगिने अवस्थाको अन्त्य गर्न नियमित रूपमा सरोकारवालासँगको समन्वयमा बजार अनुगमन गर्नुपर्ने मन्त्रालयको भनाइ  छ । 

सीमा क्षेत्रमा अवैध तस्करी गर्नेलगायत राजश्व हिनामिना गर्ने व्यक्ति तथा समूह र स्थान उपर कडा निगरानी एवम् कारवाही गर्न, सूचना सङ्कलन र शङ्कास्पद क्षेत्रमा सुरक्षा परिचालन गरी त्यस्ता व्यक्ति तथा समूहका गतिविधि निस्तेज गर्न तथा राजश्व चुहावट नियन्त्रण सम्बन्धमा जिल्लाभित्र राजस्व सङ्कलन गर्ने निकायका प्रमुख एवम् जिल्लाभित्रका उद्योगी–व्यापारी र राजनीतिक दलसँग नियमित रुपमा छलफल तथा अन्तरक्रिया गरी गराई राजश्व चुहावट प्रभावकारीरूपमा नियन्त्रणका लागि सरोकारवाला निकायसँग आवश्यक सहकार्य र समन्वय गर्न मन्त्रालयले निर्देशन दिएको छ । 

जेनजी युवाको अगुवाइमा भएको प्रदर्शनका क्रममा क्षति भएका सार्वजनिक सम्पत्ति, भौतिक संरचनाको पुनर्निर्माणका लागि नेपाल सरकारबाट स्थापना भएको पुनर्निर्माण कोषमा सहयोग रकम जम्मा गर्न इच्छुक सबैलाई मन्त्रालयले आह्वान गरेको छ । साथै क्षतिग्रस्त संरचना तथा पूर्वाधार पुनर्निर्माणका लागि सङ्घ, प्रदेश एवम् स्थानीय तहबाट भएका कार्यमा आवश्यक सहजीकरण र समन्वय गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।