• ७ जेठ २०८१, सोमबार

सीता दाहाल : एक शान्त सारथि

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहाल परिवारका साथ । तस्बिर : रेणु दाहालको फेसबुकबाट

काठमाडौं, असार २७ गते। नेकपा (माओवादी केन्द्र) ले पार्टीको अभिभावक गुमाएको छ। बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालको निधन भएसँगै माओवादी केन्द्रले पार्टीको अभिभावक गुमाएको हो। 

१० वर्ष लामो सशस्त्र द्वन्द्वको तयारी, द्वन्द्वको कठिन अवधिदेखि शान्तिप्रक्रिया हुँदै पार्टीलाई पटकपटक सरकारको नेतृत्वमा पुर्‍याउन  असीमित निःस्वार्थ योगदान दिने दाहाललाई माओवादीले गुमाएको हो। 

वि.सं. २०११ साल असार २१ गते कास्की जिल्लाको हेम्जामा बुवा महेश्वर पौडेल र आमा हरिकला पौडेलको कोखबाट जन्मिनुभएका सीताको २०२६ सालमा प्रचण्डसँग विवाह भएको हो। उहाँ विवाह भएको दुई वर्षपछि २०२८ सालमा कम्युनिष्ट आन्दोलनमा अबद्ध हुनुभएको थियो। राजनीतिमा तल्लो तह मानिने जिल्ला, क्षेत्र हुँदै केन्द्रसम्म विभिन्न जिम्मेवारी निर्वाह गर्दै दाहाल पछिल्लो समय पार्टीको केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा हुनुहुन्थ्यो। माओवादी भूमिगत हुनुभन्दा अगाडि दाहाल पञ्चायत अवधिमा समेत लामो समय भूमिगत जीवनमा हुनुहुन्थ्यो।

‘‘सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना र राष्ट्रप्रतिको निःस्वार्थ समर्पण उहाँका विशेषता हुन्। आफ्ना योगदानमार्फत उहाँ स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ।’’  


जीवनसँगिनीका साथ प्रधानमन्त्री प्रचण्ड ।

निर्विवाद सीता 

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताले लामो राजनीतिक जीवनमा कहिल्यै विवादास्पद काम गर्नुभएन। नेपालको राजनीतिमा नेताहरु परिवारका कारण विवादमा आएका थुप्रै उदाहरण छन्। तर सीता दाहालले पार्टी अध्यक्ष प्रचण्ड र समग्र पार्टीलाई विवादमा तान्ने काम कहिल्यै गर्नुभएन। माओवादी पार्टीमा आफू जलेर अरुलाई उज्यालो दिने बत्तीको ‘सलेदो’को भूमिकामा दाहाल निरन्तर बस्नुभयो। कहिल्यै लाभको पद माग्नुभएन। जस्तोसुकै कठिन परिस्थिति आइलागे पनि त्यसलाई शान्त ढङ्गले समाधान गर्दै पार्टी अध्यक्ष प्रचण्डलाई तीन तीन पटक सरकारको नेतृत्वमा पुग्न योगदान गर्नुभयो। 

पार्टी अध्यक्ष प्रचण्ड र समग्र पार्टीका नेतालाई समदृष्टिले हेर्ने सीता दाहालले राजनीतिक सङ्घर्षकै क्रममा चार सन्तानमध्ये जेठी छोरी ज्ञानु  र छोरा प्रकाश दाहाललाई गुमाउनुभयो। ज्ञानुको मृत्यु क्यान्सरका कारण भयो भने छोरा प्रकाशको घरमै सुतेको ठाउँमा हृदयाघातका कारण निधन भयो। छोरा प्रकाशनको निधनपछि उहाँको स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। छोराको निधनले मन विचलित भएको र उहाँलाई पार्किन्सन रोगले सताउँदै लगेको उनका परिवारका सदस्यले बताउँदै आएका थिए। पछिल्ला केही वर्षयता उहाँ राम्री बोल्नसमेत नसक्ने अवस्थामा हुनुहुन्थ्यो। उहाँको हेरचाहमा छोरी रेणु र गङ्गाले अन्तिम समयसम्म साथ दिनुभएको छ। 

प्रेरणाको स्रोत 

माओवादी केन्द्रका महासचिव देव गुरुङ सीता दाहालले भूमिगत राजनीतिदेखि अहिलेसम्म पार्टीमा समन्वयकारी भूमिका निर्वाह गरेको बताउनुहुन्छ। दाहालले पार्टीभित्र चुनौती र सङ्कट देखिँदा समन्वयकारी भूमिका निर्वाह गरेको उहाँ सम्झना गर्नुहुन्छ।  ‘‘जनयुद्धको सुरुवात भएपछि २०५२ सालमा भूमिगत राजनीतिमा सक्रिय हुँदै जनयुद्धको अवधिमा सिङ्गो पार्टीको अभिभावकका रुपमा पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो’’, महासचिव गुरुङ भन्नुहुन्छ।

यो पनि पढ्नुहोस

सीता दाहालको सङ्घर्षमय जीवनयात्रा

माओवादी महासचिव गुरुङ दाहालको जीवन भावी पुस्ताका लागि स्मरणीय र प्रेरणाको स्रोत हुने बताउनुहुन्छ। पार्टी सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, निःस्वार्थ एवम् समर्पण उहाँका विशेषता भएको महासचिव गुरुङको ठहर छ। महासचिव गुरुङ भन्नुहुन्छ, ‘‘कमरेड सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको छ। उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याउनुभएको छ। सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समर्पण उहाँका विशेषता हुन्। उहाँ आफ्ना योगदानमार्फत चिरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ।’’  दाहालको निधनले पार्टी र समग्र कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको गुरुङ बताउनुहुन्छ। सीता दाहालले देश र जनताको मुक्ति एवम् परिवर्तनका निम्ति पुर्‍याउनुभएको योगदानको उच्च सम्मान गर्नुपर्ने उहाँको भनाइ छ। 

स्वाभिमानी अभिभावक

माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल सीता दाहाललाई पार्टीको स्वाभिमानी अभिभावक मान्नुहुन्छ। दाहाल माओवादीको अभिभावकसँगै विद्रोही र क्रान्तिकारी नेत्री भएको उपाध्यक्ष भुसालको भनाइ छ। पार्टी आन्दोलनको खासखास समयमा उहाँले अभिभावकीय भूमिका निर्वाह गरेको उहाँ सम्झनुहुन्छ। ‘‘उहाँ स्वाभिमानी व्यक्तित्व हो। हाम्रो आन्दोलनको अभिभावक हो। उहाँले त्यो भूमिका पार्टीमा खासखास समयमा निर्वाह गर्नुभयो’’, उपाध्यक्ष भुसाल भन्नुहुन्छ।


आमा सीताका साथमा छोरी रेणु दाहाल ।

दाहालले प्रचण्डको पत्नी भएर ‘पावर एक्ससाइज’ नगरेको उपाध्यक्ष भुसाल सम्झना गर्नुहुन्छ, ‘‘उहाँ पार्टी अध्यक्ष प्रचण्डको श्रीमती मात्र होइन, पार्टीको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो। पार्टीको हित र आन्दोलन यसरी गर्नुपर्छ भनेर सुझाव दिनुहुन्थ्यो। उहाँले कहिल्यै पनि अध्यक्षको श्रीमती भएर शक्तिको अभ्यास गर्नुभएन। बरु कतै अध्यक्षले काम गर्दा विवादमा परिन्छ कि, अध्यक्षको निर्णयका कारण पार्टीभित्र कसैलाई अन्याय हुन्छ कि भनेर जहिले पनि पार्टीभित्र खबरदारी गरेर बस्नुभयो।’’ 

‘‘ सीता दाहाल स्वभिमानी व्यक्तित्व र हाम्रो आन्दोलनको अभिभाव हो। उहाँले कहिल्यै पार्टी अध्यक्ष प्रचण्डको पत्नी भएर ‘पावर एक्ससाइज’ गर्नुभएन।’’ 

पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म पुग्दा उहाँमा कुनै स्वार्थ र परिवर्तन नदेखिएको तर स्वाभिमान मात्र देखिएको उपाध्यक्ष भुसालको भनाइ छ।  ‘‘केही मान्छे सत्तामा गएपछि स्वार्थ देखाउन थाल्छन्। उहाँ आन्दोलनको तल्लो तह के गाउँ, के वन, के जङ्गल, के बन्दुक, के गोली, के सहर, के सत्ता, के बालुवाटार सबै ठाउँमा एकै ढङ्गले प्रस्तुत हुनुभयो। यो उहाँको स्वाभिमान हो।’’

महत्त्वाकांक्षा थिएन

नेकपा (माओवादी केन्द्र)का नेता सुरेश आलेमगर सीता दाहालले लामो राजनीतिक जीवनमा कहिल्यै विवादास्पद काम नगर्नुमा दुई तीन वटा कुराले काम गरेको बताउनुहुन्छ।  उहाँमा महत्वाकांक्षा नहुँदा उहाँ शालीन भएको नेता आलेमगरको बुझाइ छ। दाहालमा पार्टीको राजनीतिक योगदान ठीक छ भन्ने राम्रो ज्ञान भएको र विचारमा स्पष्ट रहेको उहाँ सम्झनुहुन्छ। 

नेता आलेमगर भन्नुहुन्छ, ‘‘सीता दाहाल कहिल्यै विवादमा नआउने व्यक्तित्व हो। यसमा दुई तीन वटा कारण देख्छु। पहिलो त उहाँमा महत्वाकांक्षा थिएन। त्यसैले जङ्गलदेखि बालुवाटारसम्म उहाँको स्वभाव परिवर्तन भएन। दोस्रो त उहाँ विचारमा स्पष्ट हुनुहुन्थ्यो र पार्टीको राजनीतिक योगदान एकदम ठीक छ भन्नुहुन्थ्यो। यत्ति कुराले उहाँलाई विवादमा ल्याएन।’’ 

‘‘प्रष्ट विचार, शालीन र पतिभक्त हुनुहुन्थ्यो। जसले गर्दा उहाँले प्रचण्डलाई कहिल्यै विवादमा ल्याउने काम गर्नुभएन।’’ 

नेता आलेमगर पतिभक्त भएकाले पनि सीताले अध्यक्ष प्रचण्डलाई विवादमा ल्याउने काम कहिल्यै नगरेको प्रष्ट पार्नुहुन्छ। ‘‘कम्युनिस्टको बुर्जुवा भाषामा हामी पतिभक्त भन्छौं। उहाँमा औपचारिक शिक्षा कम थियो। शालीन र पतिभक्त हुनुहुन्थ्यो। जसले गर्दा उहाँले प्रचण्डलाई कहिल्यै विवादमा ल्याउने काम गर्नुभएन।’’ 

यत्ति लामो राजनीतिक जीवनमा उहाँले कहिल्यै लाभको पद लिनुभएन। विवादास्पद अभिव्यक्ति दिनुभएन। स्वास्थ्यका कारण जीवनको कठिन घडीमा समेत उहाँले पतिको पदलाई लाभ लिनका लागि प्रयोग नगरेको सामाजिक अभियन्ता एवम् अधिवक्ता स्वागत नेपाल बताउनुहुन्छ। सीता दाहालको जीवनबारे अधिवक्ता नेपाल भन्नुहुन्छ, ‘‘सीता दाहाल जसले कहिल्यै पनि व्यक्तिगत रुपमा आफैँले चाहिँ यो देश र जनताविरुद्ध कुनै विवादित अभिव्यक्ति दिनुभएन। आफ्नो पति र सन्तानका काममा भाँजो पनि हाल्नुभएन। आफैँले कुनै पनि व्यक्तिगत लाभका पदहरु लिनुभएन। जस्तोसुकै गम्भीर अवस्थाको भूमिगत समयमा पनि आफ्नो पतिको साथ छोड्नुभएन। कुनै कुरामा स्वस्थ हुँदा पनि उहाँले पतिको पदलाई प्रयोग गरेर लाभ लिने नगरेको कारण कोही पनि उहाँलाई प्रचण्डसँग यसो भनिदिनुस् भनेर कुरा गर्न नै जानुपरेन। अन्तिमसम्म आइपुग्दा भन्न मन लागेका कुरा बोलेर र लेखेर बताउन नसक्ने भएर टुलुटुलु हेरिरहेर मात्र देहत्याग गर्नुपर्यो।’’

६९ वर्षको उमेरमा प्रधानमन्त्री पत्नीको रुपमा भएको सीताको निधनले देश शोकमा छ।  कम्युनिस्ट आन्दोलनका अभिभावक सीता दाहालप्रति हार्दिक श्रद्धाञ्जली र शोकमा रहनुभएका प्रधानमन्त्री र परिवारप्रति गहिरो समवेदना।