• १३ साउन २०८१, आइतबार

कृषि यन्त्रले सहज बन्दै खेती

blog

घोराही उपमहानगरपालिका-१७ डवरीमा धान रोप्न खेत जोत्दै टेक्टर । तस्विर : लीलाधर वली

लीलाधर वली 

घोराही, असार २६ गते । दाङको घोराही उपमहानगरपालिका-१७ निवासी रामप्रसाद चौधरीलाई एक बिघाह जमिनमा खेती गर्न केही वर्ष अघिसम्म करिब एक महिना लाग्थ्यो । तर अहिले एक बिघाह क्षेत्रफलमा धान खेती गर्न करिब ४-५ दिन मात्रै लाग्छ ।

लामो समय गोरुले जोतेर खेती गर्नुभएका किसान चौधरीले विगत दुई वर्षदेखि घरमै पावर ट्रेलर किनेर खेती गर्दै आउनुभएको छ । धेरै खेती गर्नुपर्ने भएकाले घरमा भएका दुई हल राँगा बेचेर उहाँले पावर ट्रेलर किनेको बताउनुहुन्छ । किसान चौधरी भन्नुहुन्छ, “राँगाले जोतेर खेती गर्दा समय लाग्ने गरेको थियो । तर अहिले पावर टे«लरले जोतेर खेती गर्दा सजिलो भएको छ । करिब एक महिनासम्म लाग्ने गरेको खेती १०-१२ दिनमै सकिन्छ ।” पावर ट्रेलरबाट खेती गर्दा सजिलो भएको भन्दै उहाँले गोरु र राँगालाई घाँस काटेर खुवाउनुपर्ने समस्या समेत हटेको बताउनुहुन्छ । प्रविधिको सहयोगले गर्दा थोरै जनशक्तिबाट धेरै काम गर्न सकिने समते उहाँको भनाइ छ । 

देउखुरी राजपुर गाउँपालिका-२ निवासी किसान चेतराम यादव पनि पछिल्लो समय प्रविधिका माध्यमबाट खेती गर्दै आउनुभएको छ । लामो समयसम्म गोरुले जोतेर खेती गर्दै आउनुभएका यादव प्रविधिको माध्यमबाट खेती गर्न सहज भएको बताउनुहुन्छ । गोरुबाट खेती गर्दा समय बढी लाग्ने र मिहिनेत धेरै लाग्ने गरेपनि प्रविधिको सहयोगमा काम समयमै धेरै खेती गर्न सकिने उहाँ बताउनुहुन्छ  । किसान यादव भन्नुहुन्छ, “मसँग भएका गोरु हटाएर ट्याक्टर किनेको छु, ट्याक्टरले जोत्नेदेखि उत्पादनको भएको धान समेत बोक्न मिल्ने गरेको छ ।” उहाँहरू प्रतिनिधिमूलक किसानहरू मात्रै हो, पछिल्लो समय जिल्लामा धेरै किसानहरूले कृषि यन्त्र प्रयोग गरेर खेती गर्ने गर्दै आउनुभएको छ ।  

किसानहरूले खेत जोत्नका लागि गोरु तथा राँगाको ठाउँमा पछिल्लो समय पावर ट्रेलर, ट्याक्टर, मिनीट्रेलर प्रयोग गर्ने गरेका छन् । कृषिमा आधुनिक प्रविधिका औजारहरू भित्रिएसँगै धेरै किसानहरूले कृषि यन्त्रको जिल्लामा प्रयोग गर्ने गरेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रुद्रमणि पौडेल बताउनुहुन्छ । परम्परागत शैलीमा खेतीपाती गर्ने किसानहरू पछिल्लो समय प्रविधितर्फ आकर्षित भएको उहाँ बताउनुहुन्छ । 

बाली संरक्षण अधिकृत पौडेलले भन्नुहुन्छ, “जिल्लामा पछिल्लो समय खेतीका लागि कृषि यन्त्रको प्रयोग बढेको छ । धेरै जसो किसानहरूले गोरु–राँगा पाल्न छोडेर खेतीका लागि ट्याक्टरको प्रयोग गर्दै आएका छन् ।” उहाँले जिल्लाका अधिकांश ठाउँमा खेत जोत्न प्रविधिको प्रयोग बढेपनि रोप्नका लागि भने बढ्न नसकेको बताउनुहुन्छ । गोरु र राँगाको भरमा खेती गर्दै आएका किसानहरू पछिल्लो समय प्रविधिमा जोडएसँगै थोरै किसानले धेरै खेती गर्न सक्ने भएको उहाँ बताउनुहुन्छ । 

स्थानीय सरकारहरूले पनि कृषि पेसालाई व्यवस्थित गराउने योजना अघि सार्दै कृषकलाई विभिन्न खाले अनुदान दिँदै आएका छन् । परम्परागत रूपमा खेती गर्दै आएका किसानहरूलाई पछिल्लो समय  प्रविधिमैत्री बनाउँदै लगेपछि काममा सहजतासँगै उत्पादनमा समेत राम्रो हुँदै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ दाङका प्रमुख महेश रेग्मी बताउनुहुन्छ ।  

हलोले जोतेर खेती गर्ने कृषकको बारीमा अहिले पावर ट्रेलर, ट्याक्टर र मिनीट्रेलरले जोत्ने गरेको उहाँ बताउनुहुन्छ । परियोजनाका प्रमुख रेग्मीले भन्नुहुन्छ, “पहिले धेरै किसानहरू परम्परागत रूपमा गोले जोतेर महिनादिनसम्म खेती गर्ने गरेका थिए, तर अहिले प्रविधिले गर्दा थोरै समयमा धेरै खेती गर्ने गरेका छन् ।’ प्रविधिले गर्दा थोरै जनसङ्ख्याबाट पनि धेरै खेती गर्ने र उत्पादन लिन सकिने भएको उहाँ बताउनुहुन्छ ।