• ९ मंसिर २०८१, आइतबार

मौलाकालिकामा केबलकार सञ्चालनसँगै बढे पर्यटक

blog

होमराज रानाभाट

गैंडाकोट, असार २६ गते । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले सबैभन्दा महत्त्वपूर्ण रहेको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटको ऐतिहासिक धार्मिस्थल मौलाकालिका मन्दिरमा केबलकार सञ्चालनमा आएसँगै यहाँका मानिसको जीवनस्तरमा परिवर्तन आएको छ । 

१७ वर्षसम्म मन्दिर दर्शनका लागि जान नसेकेको र अहिले केबलकार सञ्चालन भएपछि मौलाकालिका पुगेको मध्येविन्दुकी ७७ वर्षीय रमा उपाध्यायको भनाइ छ । “१७ वर्ष अघिसम्म त वर्षमा दुई तीन पटक मौलाकालिका मन्दिर आउने गरेकी उपाध्यायले भन्नुभयो, "बिस्तारै बुढेसकाल लागेपछि हिँडेर मन्दिर पुग्नसक्ने अवस्था नभएकाले टाढैबाट मन्दिरको दर्शन गरेर घर फर्किने गरेकी थिएँ ।” उहाँले यस पटक भने मन्दिरसम्मै पुग्न सकिने केबलकार सञ्चालनमा आएको सुनेर आफू मन्दिर दर्शनका लागि आएको बताउनुभयो ।

“पहाडको फेदीबाटै केबलकार चल्दा सहज भएको छ । केबलकारमा पाँच मिनेटको यात्रापछि मन्दिर नजिकै ओर्लिन पाइने रहेछ, यात्रा पनि रमाइलो लाग्यो”, अमरापुरीका धनबहादुर थापाले भन्नुभयो, “जिन्दगीमै पहिलोपटक केबलकार चढ्ने मौका मिल्यो, केबलकारबाट झरेको पाँच मिनेटमै माताको दर्शन गर्न मन्दिर पुगिँदो रहेछ ।” केबलकार सञ्चालनपछि हिँड्न नसक्ने व्यक्तिका लागि मन्दिर पुग्न सहज भएको छ । यसअघि आफू नारायणगढ र गैँडाकोट आइराख्ने भएपनि टाढैबाट माताको दर्शन गरेर फर्किने गरेको थापाको भनाइ छ ।

अहिले मौलाकालिकामा पूजाआजा गर्न जाने त भए नै धार्मिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न समूह बनाएर जाने व्यक्तिहरू पनि पुग्ने गरेका छन् । पहिले तल देवघाट दर्शनमा आएका व्यक्तिहरू त्यहाँबाटै फर्किने गरेका भएपनि अहिले केबलकारको सुविधाका कारण मौलाकालिका मन्दिर पनि पुग्ने गरेका कैलालीबाट मन्दिर दर्शनका लागि आएका सर्वज्ञ मान श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठ भन्नुहुन्छ, “पहिले पनि दर्शन गर्न पुगेको थिएँ, यहाँ हिँड्न नसक्नेलाई गाडीमा जान सकिने सुविधा पनि थियो र अहिले पनि रहेछ, तर गाडी भरपर्दो नहुने र पानी पर्दा हिलो हुने र उकालोमा गाडी नचल्ने भएकाले एकपटक हामी बीचबाटै फर्किएका थियौँ तर यसपालि निकै सजिलो गरी देवीको दर्शन गर्न पाइयो, सपरिवार आएका थियौँ अब आज नै घर फर्किन्छौँ ।”

गैँडाकोट-१ को धारापानीबाट मन्दिर नजिकैको हेलिप्याडसम्म केबलकार सञ्चालनमा आएपछि मन्दिरमा दर्शन तथा पूजाआजाका साथै धार्मिक पर्यटनमा आउनेको सङ्ख्या बढेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले जनाएको छ । समितिका सचिव श्यामसुन्दर पराजुलीले पहिलेको तुलनामा अहिले दोब्बरले भक्तजनको सङ्या बढेको बताउनुभयो । केबलकार सञ्चालनमा आएपछि वैशाख यता मात्र तीन लाख भक्तजनले मौलाकालिकाको दर्शन गरेका पराजुलीले बताउनुभयो ।

“अघिल्ला वर्षमा सामान्य दिनमा दैनिक पाँच सयको हाराहारी मानिस मन्दिरमा आउँथे”, पराजुलीले भन्नुहुन्छ, “अहिले दैनिक तीन हजारभन्दा बढी मानिस मन्दिरमा आउने गरेका छन् । सार्वजनिक बिदाको दिन र चाडपर्वमा त निकै भिडभाड हुने गरेको छ ।”

मौलाकालिका मन्दिरका उपाध्यक्ष खगराज सापकोटाले वैशाखमा केबलकार सञ्चालनमा आएपछि मन्दिरमा भक्तजन बढेका बताउनुभयो । मन्दिरमा दैनिक नित्य पूजा, शिवालय मन्दिरमा रुद्री, हवन, विवाहजस्ता शुभकार्य हुने गरेका र मन्दिरमा माता कालीको दर्शनसँगै जन्मदिन मनाउन, वैवाहिक वर्षगाँठ मनाउन, भाकल गर्न, भाकल बुझाउन, पितृको उद्धारका लागिसमेत भक्तजन आउने गरेका सापकोटाले बताउनुभयो ।

मन्दिरमा कुनै पनि कार्य गर्नका लागि समितिले पैसा तोकेर नलिने गरेको सापकोटाले बताउनुभयो । “हामीले परेवा उडाउन चाहने व्यक्तिका लागि रु दुई सय ५० मूल्य तोकेका छौँ, अन्य कार्यका लागि भक्तजनले स्वेच्छाले दिनुभएको दान हामीले सहर्ष स्वीकार गरेका छौँ”, उहाँले भन्नुभयो । मन्दिर पुग्ने भक्तजनहरूले माताको पाउमा, दान पेटिकामा रकम दिने गरेको भन्दै उहाँले केही व्यक्तिहरूले भने रसिद काटेर भेटी दिने गरेको बताउनुभयो । मन्दिर दर्शनका लागि आउने भक्तजन बढेसँगै मन्दिरको भेटीसमेत बढेको उहाँको भनाइ छ ।

वैशाख यता मात्रै हालसम्म मौलाकाली केबलकार मार्फत ६० हजार भन्दा बढी व्यक्तिले यात्रा गरेका मौलाकाली केबलकार प्रालिका व्यवस्थापक सुरज पौडेलले बताउनुभयो । दैनिक आठ सय जनासम्म यात्रुले केबलकार चढेर चढेर मौलाकालिका पुग्ने गरेका पौडेलको भनाइ छ । नयाँ वर्षका अवसरमा वैशाख १ गतेदेखि सुरु गरिएको केबलकारमा दैनिक जस्तो दर्शनार्थीको सङ्या बढेको उहाँ बताउनुहुन्छ । 

बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने यस केबलकारबाट प्रतिघण्टा छ सय जनाले यात्रा गर्न सक्छन् । यसको लम्बाई एक हजार दुई सय मिटर छ । केबलकार सञ्चालनमा आएपछि गैँडाकोट नगरवासीको आर्थिक तथा रोजगारीको अवसर समेत बढेको गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो ।