• १३ साउन २०८१, आइतबार

किन खोजिरहेछ ऊ अर्को सम्बन्ध ?

blog

कति सुहाएको,

आफ्नो स्थापित सम्बन्धमा,

कति रमाएको 

प्रदर्शित उसका तस्बिरहरूमा,

कति धेरै आसनमा

सजाएका आफूहरूलाई

कति सुमधुर, 

सुनिन्छ, उसको लगनगाँठोको सङ्गीत,

लोभलाग्दो उसको उज्यालोे

अँगालामा बाँधिएको उसको प्रेम

सुरक्षित छ, कति कति आशीर्वादले !


ब्रह्माको सृष्टि जानिनसक्नु

देखिन्छ पूर्ण पे्रम 

र पनि, किन ऊ सम्बन्धको साथ

खोजिरहेछ अर्को सम्बन्ध ?


विविध भङ्गीमा,

विभिन्न समयमा

उतारेका कति कति छाया कृतिमा

छरिएका छन् सप्तरङ्गी किरण जस्तै

उनीहरूका मधुर मुस्कान,

हाँसो, खुसी, अभिमान;

स्पस्ट टल्किन्छ, झल्किछ

सम्बन्धको उचाइका अनुभव;

समयको विस्तारै गुड्ने गाडाले

पोखेको छ उनका अनुहारमा

परिपक्व परिवर्तन,

खारिएर कति धेरै चरणमा 

झन झन् विशुद्ध हुँदै गएको प्रतित हुन्छ 

उनको स्थापित सम्बन्ध !


शिव शक्ति स्वरूपको सत्य बुझिनसक्नु

देखिन्छ दमदार दाम्पत्य 

र पनि, किन जोडिरहेछ ऊ अर्को सम्बन्ध ?


सफलताले चुमेको,

सम्पन्नताले भरिएको

पारिलो घाम लाग्ने, 

छ उसको आफ्नै 

न्यानो, फराकिलो आँगन,

लटरम्म फलेका छन् आँप, लिची 

उसको ठुलो खानदानी बगैँचामा,

कस्तो स्वच्छ र स्वस्थ 

सुखी घरपरिवार उनीहरूको !


यौवन अप्सराको, थामिनसक्नु

लाग्दैन ऊ विश्वामित्रको वंश

र पनि किन खोजिरहेछ ऊ अर्को सम्बन्ध ?