• १३ साउन २०८१, आइतबार

धिमे बजाउने पहिलो महिला ‘धिमे मैचा’

blog

शिवा तामाङ

काठमाडौँ, असार १८ गते । महिलाले बाजा छुनै हुन्न भन्ने सामाजिक अन्धविश्वास चिर्दै धिमे बाजा बजाउन सिकेकी इन्दिरा लाछिमस्यू नेपालकै पहिलो धिमे बाजा बजाउने महिलाका रूपमा चिनिनुहुन्छ । करिब २९ वर्षअघि धिमे बाजा बजाउन सिकेर टोलमा हुने जात्राहरूमा पुरुषसँग तालमा ताल मिलाएर हिँड्दा बुढापाकाले ‘लौ न के देख्नु परेको’ भनेर टिप्पणी गरेको उहाँको स्मरणमा अझै ताजा छ । 

त्यसयता समय र सामाजिक सोचमा धेरै परिवर्तन आइसकेको छ । हाल उहाँकै प्रेरणाबाट धेरै महिला परम्परागत नेवारी बाजा बजाउने भइसकेका छन् । कुनै पनि सभा, समारोह र चाडपर्वमा पुरुषभन्दा अग्रपङ्क्तिमा महिला शोभायमान रूपमा वाद्यवादक बोकेर रहने गरेका छन् । 

भक्तपुर नगरपालिका–५, आदर्शमा जन्मिएकी कलाकार लाछिमस्यूको घरमा धिमे बाजाको प्रशिक्षण लिन छात्रहरू मात्र आउँथे । उहाँका हजुरबुवा रत्नलाल लाछिमस्यू र बुवा पञ्चलाल लाछिमस्यू दुवै धिमे बाजाका गुरु (प्रशिक्षक) नै हुनुहुन्थ्यो । अन्य गुरु पनि त्यहीँ आएर विद्यार्थीलाई सिकाउनुहुन्थ्यो । उहाँको घर एक किसिमको पाठशाला जस्तै थियो । 

छोरी भएकै कारण उहाँलाई सिक्ने अवसर मिलेको थिएन तर ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैँ करिब ११/१२ वर्षका उहाँले धिमे सिकाउने कोठाबाहिरै बसेर बाजाको तालको बोल कण्ठ पार्न थाल्नुभयो । उहाँले बुवासँग आफ्नो पनि धिमे बजाउने रहर व्यक्त गर्दा गुरुको आज्ञा चाहिने बताउनुभयो । त्यति बेला उहाँको घरमा धिमे बाजाका गुरुद्वय गणेशबहादुर सिड र जर्मन गुरु डा. गेडत वाग्नर धिमे सिकाउन आउनुहुन्थ्यो । बुवाको सहमति पाएपछि निकै उत्साहका साथ गुरु र प्रशिक्षार्थी आउनुअगावै कोठाभित्र पसेर धिमे बजाउन थाल्नुभयो । 

एक दिन धिमे ठिक तालमा बजाइरहेको देखेर गुरु वाग्नर छक्क पर्नुभयो । गुरुले खुसी हुँदै तिमी पनि आजैदेखि सिक्नू भनेर हौसला दिनुभएको उहाँ स्मरण गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “छ महिनाको तालिमपछि टोलका विभिन्न देवताको मन्दिरमा गएर बाजा बजाउने, पूजा प्रार्थना गरेर तालिम समापन गर्ने परम्परा अनुसार म र सँगै तालिम लिएका समूह बाजा बजाउँदै घुम्दा टोलभरिका मानिस भेला भएर हेर्थे । त्यही भिडमा जम्मा भएका कतिपयले ‘महिलाले धिमे बजाएको हेर्नु हुन्न, यो के देख्नु प-यो’ भन्थे । टोलमा आफ्नोबारेमा नकारात्मक टीकाटिप्पणी सुन्दा मलाई यो काम छोडूँ छोडूँ लागेर बुवालाई अबदेखि धिमे नबजाउने निर्णय सुनाएँ ।’’ तर उहाँका बुवाले बाजा बजाउन नछाड्न र अन्य दिदीबहिनीलाई पनि सिकाउन प्रेरित गर्नुुभयो । उहाँ त्यसबाट हौसिनुभयो । अन्यले उहाँकोे सिको गरे । उहाँ ‘रोल मोडल’ जस्तै हुनुभयो । उहाँ भन्नुहुन्छ, “आफ्नो रहरलाई पछ्याउँदा र बुवाको हौसलाबाट नेपालको पहिलो महिला धिमेवादक बन्न सफल भएकी हुँ ।” 

उहाँको परिचय अहिले ‘धिमे मैचा’ भएको छ । लाछिमस्यू धिमे बाजाका साथै नौ बाजा (करखिङ, पास्टत, नायोखिँ, वखिं, नगरा, ढलक र धाँचा) पनि बजाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महिलाले सबै किसिमका बाजा बजाउन सक्छन् तर परम्परागत बाजालाई व्यावसायिक दृष्टिले प्रवर्धन गर्न नसक्दा तालिम लिएका महिलाले यो सिपलाई निरन्तरता दिन सकेका छैनन् ।”