• ३ असार २०८२, मङ्गलबार

संस्कृति जगेर्ना गर्न प्रदर्शनी

blog

हुम्ला समाचारदाता

हुम्ला, असार ३ गते । आफ्नो परम्परागत संस्कृति जगेर्ना र संरक्षण गर्न सिमकोटमा वेशाभूषासहितको प्रदर्शनी गरिएको छ । संस्कृति जर्गेना गर्दै  नयाँ पुस्तालाई यसबारे जानकारी गराउन प्रदर्शनी गरिएको  सिमकोट गाउँपालिका–५ का वडाध्यक्ष चीनबहादुर रावतले  बताउनुभयो ।

आफ्नो पहिचान विस्तारै लोप हुने अवस्थामा देखिन थालेपछि यसको संरक्षणका लागि यस्तो कार्यक्रम आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले गाउँपालिकाबाट बजेट व्यवस्थापन गरेर कार्यक्रम गरिएको जानकारी दिँदै नयाँ र पुरानो पुस्ताबाट सांस्कृतिक झाँकी प्रदर्शनी गरिएको बताउनुभयो । प्रदर्शनीमा महिलाले चोली, दोपट्टालगायत परम्परागत पोसाकमा गरगहनासहित सजिएर मागल, चाँर्ची, चुटकिला, फाग, भारी गीत गाएका थिए ।

पुरुषले पनि आफ्नो परम्परागत पोसाकमा सजिएर ढाल, तरबार, फुर्का नाच प्रस्तुत गरेका थिए । त्यसै गरी बाझा नाच, हुड्के, फुर्का नाच पनि प्रदर्शनीमा प्रस्तुत गरिएको थियो । सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला भामरोकायाले यस्ता कार्यक्रमबाट सांस्कृतिक पहिचानलाई बढावा मिल्ने बताउनुभयो ।