• २१ वैशाख २०८१, शुक्रबार

क्लियोपेट्रा रहस्यमय रानी

blog

विश्व इतिहासमा यस्ता महिला पनि छन् जसले रचेका इतिहासको चर्चा अहिले पनि उत्तिकै हुने गरेको छ । त्यस्तैमा एक हुन् इजिप्टकी रानी क्लियोपेट्रा । इजिप्टकी रानी क्लियोपेट्रा आफ्नो रूप र सौन्दर्यका लागि चर्चित थिइन् । क्लियोपेट्रालाई सबैभन्दा सुन्दर र कामुक रानी मानिन्छ तर क्लियोपेट्राको व्यक्तित्व यति बहुआयामिक थियो कि त्यसका कारण पनि उनलाई सधैँ चर्चाको शिखरमा ल्याइरह्यो । 

क्लियोपेट्रामा रहेको कुटिलता, चातुर्यता, सञ्चार कौशलताजस्ता कारण उनलाई तत्कालीन पुरातन संसारमा एक मात्र महिला शासकका रूपमा स्थापित हुन सजिलो भएको थियो । इतिहासकारहरूका अनुसार क्लियोपेट्रा अति सुन्दर, कामुक, चतुर, धूर्त, षड्यन्त्रकारी शासक थिइन् । उनको धेरै परपुरुषसँग सम्बन्ध थियो । राजा–महाराजा र सैनिक अधिकारीहरूलाई आफ्नो सुन्दरताको वशमा पारेर जालमा पार्न उनी खप्पिस थिइन् ।

जुलियस सिजर र मार्क एन्थोनीसँगको प्रेम सम्बन्धका कारण क्लियोपेट्रालाई थप चर्चामा ल्याएको थियो । 

बुद्धिमान, सक्षम र आकर्षक, क्लियोपेट्रालाई इजिप्टका जनताले कति धेरै माया गर्थे भने उनको मृत्युको शताब्दीयौँपछि पनि इजिप्टमा उनको पूजा जारी रह्यो । भनिन्छ आफूलाई प्राकृतिक अधिकारवादी शासक मान्न सकियोस् भनेर उनी देवी आइसिसको जस्तै पोसाक र सजावटमा विशेष समारोहमा आइपुग्थिन् । उनमा भएको वाकपटुता देखेर मानिसहरू मन्त्रमुग्ध हुन्थे । क्लियोपेट्रा यति धूर्त थिइन् की उनी प्रायः अरू देशको भित्री कुरा र रहस्य थाहा पाउन ती देशका देशद्रोही पुरुषसँग सम्बन्ध बनाउँथिन्, तिनीहरूबाट महìवपूर्ण जानकारी लिन्थिन् । 

क्लियोपेट्राले आफ्नो शक्तिको उचाइमा सम्पूर्ण पूर्वी भूमध्यसागरीय तटलाई नियन्त्रणमा लिएकी थिइन् । जसलाई हालसम्मको इजिप्टियन शासकको अन्तिम महान् 

साम्राज्य मानिन्छ । 

विश्वका धेरै चर्चित कलाकारले क्लियोपेट्राको मादकतामा चित्र कोरेका छन्, उनका मूर्ति कुदेका छन् । विश्व साहित्य (आख्यान÷गैरआख्यान)मा समेत क्लियोपेट्रा उत्तिकै समेटिएकी छन् । सेक्सपियर, ड्राइडन र बर्नार्ड शा जस्ता विश्वविख्यात लेखक–नाटककारहरूले समेत आफ्नो लेखन र पटकथामा क्लियोपेट्राको व्यक्तित्वको विभिन्न पक्ष समेटेको देखिन्छ ।

परिवार र विवाह

क्लियोपेट्राका पिता राजा टोलेमी बाह्रौँ थिए । जो उनको जन्मको समयमा इजिप्टका फारो (प्राचीन इजिप्टका शासकलाई दिइने उपाधि) थिए । उनकी आमा क्लियोपेट्रा वी ट्राइफेना थिइन् । जो टोलेमीका धेरै पत्नी मध्ये एक हुन् । उनी आफ्ना भाइबहिनीहरूमध्ये जेठी थिइन् र सिंहासन ग्रहण गर्न सानै उमेरदेखि तयार थिइन् । 

क्लियोपेट्राको पहिलो विवाह टोलेमी तेह्रौँसँग भएको थियो । त्यतिबेला क्लियोपेट्रा १८ वर्षकी थिइन् भने टोलेमी मात्र १० वर्षका थिए । टोलेमीको मृत्युपछि क्लियोपेट्राको दोस्रो विवाह आफ्नै दोस्रो कान्छो भाइ टोलेमी चौधौँसँग भयो । त्यतिबेला क्लियोपेट्रा २२ वर्षकी थिइन् भने टोलेमी चौधौँ १२ वर्षका थिए । क्लियोपेट्राको तेस्रो विवाह मार्क एन्थोनीसँग ३२ इसापूर्वमा भएको थियो । इजिप्टको तत्कालीन परम्पराअनुसार रक्तरेखा शुद्ध राख्न क्लियोपेट्राले आफ्नै सहोदर भाइहरूसँग विवाह गर्नुपरेको थियो । 

शासनसत्ताको बागडोर 

क्लियोपेट्रा १४ वर्षकी हुँदा उनले आफ्ना बुवा राजा टोलेमी छैटौँसँग रिजेन्ट (सल्लाहकार रानी)का रूपमा शक्ति ग्रहण गरेकी थिइन् । बुवाको मृत्यु हुँदा उनी १८ वर्षकी थिइन् । त्यसपछि उनी आफ्नो भाइसँग सिंहासनमा बसिन् । उनले टोलेमीको नायबी भएर राज्य सञ्चालन गरिन् । त्यसको केही समयपछि उनले टोलेमीलाई हटाइ इजिप्टको शासन आफ्नो हातमा लिएकी थिइन् । शासनसत्ता लिएपछि उनले कला र व्यापारको हिसाबले इजिप्टलाई उचाइमा पु¥याइन् । क्लियोपेट्राले ५१ देखि ३० इसापूर्वसम्म इजिप्टमा शासन गरेकी थिइन् । 

क्लियोपेट्रा अतुलनीय विलासिताको बीचमा हुर्केकी थिइन् । उनलाई पतनोन्मुख अवस्थामा रहेको राज्य विरासत प्राप्त भएको थियो । उनको परिवारका दस पुस्तासम्मका टोलेमीले आफूलाई फारोको शैलीमा राखेका थिए । क्लियोपेट्राको बाल्यकालमा रोमले आफ्नो शासन इजिप्टको सिमानासम्म विस्तार गरेको थियो ।

पोलिगट : 

अरबी कविता र क्लियोपेट्राका बारेमा लेखिएका युरोपेली किंवदन्तीअनुसार क्लियोपेट्रा एक निपुण गणितिज्ञ, औषधि र विषका बारेमा जानकार रसायनविद् थिइन् । क्लियोपेट्राले कवितासमेत लेख्थिन् । क्लियोपेट्रालाई विभिन्न भाषाको ज्ञान थियो । एक अध्ययनअनुसार क्लियोपेट्रामा हिब्रुसहित छदेखि नौ भाषाको ज्ञान थियो । विविध भाषिक ज्ञानका कारण पनि उनी जो कोहीसँग चाँडै जोडिन्थिन् । अरूका गोप्य कुराको भेउ पाउँथिन् । भाषाकै कारण उनका धेरै मित्र थिए । बहुभाषाको ज्ञान भएका कारण उनलाई पोलिगट पनि भनिन्थ्यो ।

गधाको दूधले स्नान

इतिहासमा क्लियोपेट्रालाई निकै सुन्दर युवतीका रूपमा उल्लेख गरिएको छ । क्लियोपेट्रा आफ्नो सौन्दर्य कायम राख्न दिनहुँ गधाको दूधले नुहाउँथिन् । क्लियोपेट्राको दैनिक स्नानका लागि सात सय गधाको दूध जम्मा पारिन्थ्यो । 

चाँदीको डुङ्गामा सयर

एन्टोनीको निमन्त्रणामा क्लियोपेट्रा ४१ इसापूर्वमा टार्सस गएकी थिइन् । टार्सस त्यतिबेला टर्कीमा पर्दथ्यो । उनी ग्रिक प्रेमकी देवी एफ्रोडाइटको लुगामा सजिएकी थिइन् । 

फारो वंशको अन्तिम शासक क्लियोपेट्रा इजिप्टमा शासन गर्ने अन्तिम फारो थिइन् । उनी अफ्रिकी, काकेसियन वा ग्रिक थिइन् की भनेर अनुसन्धान जारी छ । 

काकेसियन वा अफ्रिकी

क्लियोपेट्राका पूर्वज वास्तवमा मेसिडोनियन ग्रिक थिए । जसले क्लियोपेट्रालाई इजिप्टियन एलिजाबेथ टेलरका रूपमा चिनाउँछ । यद्यपि क्लियोपेट्रा काकेसियन वा अफ्रिकी कुन मूलकी थिइन् भन्ने विवाद अहिले पनि छ । क्लियोपेट्रा कुन मूलकी थिइन् भन्नेमा इतिहासकारका विचार विभाजित छन् । अधिकांशले उनी मेसिडोनियाकी थिइन् भन्ने विश्वास गर्छन् भने नयाँ खोजले उनको जरा अफ्रिकासँग जोडिएको थियो भन्ने देखाउँछ ।

अनुसन्धानकर्ताको पछिल्लो खोजले उनकी बहिनीको अवशेषको आधारमा उनका भाइबहिनी अर्धअफ्रिकी भएको निष्कर्ष निकालेको छ । उनीहरूले क्लियोपेट्रालाई ग्रिक कोकेसियन नभई अर्धअफ्रिकी मूलकी थिइन् भनेर दाबी गरेका छन् । बीबीसीबाट प्रसारित ‘पोर्ट«ेट अफ ए किलर’ नामक क्लियोपेट्रा बारेको वृत्तचित्रमा टर्कीको एफिससको एउटा चिहानमा मानव अवशेष खोजको विश्लेषण गरिएको छ । फोरेन्सिक प्रविधिका साथ चिहानको मानवशास्त्रीय र वास्तुकला अध्ययनपछि विशेषज्ञहरू उक्त चिहानमा फेला परेको अस्थिकोषका आधारमा सो अवशेष क्लियोपेट्राकी बहिनी राजकुमारी आर्सिनोको भएको निष्कर्षमा पुगेका छन् । अध्ययन टोलीका प्रमुख अस्ट्रियन एकेडेमी अफ साइन्सेसका पुरातत्वविद् हेइक थ्युयरका अनुसार अनुसन्धानले अर्सिनोकी आमा अफ्रिकी थिइन् भन्ने बताउँछ । जुन अध्ययनले क्लियोपेट्राको परिवार, क्लियोपेट्रा र आर्सिनोबीचको सम्बन्धमा नयाँ प्रकाश पारेको छ । 

रोमका तीन शक्ति

क्लियोपेट्रालाई संसारको सबैभन्दा सुन्दर र धनी महिला मानिन्थ्यो । उनी समकालीन तीन शक्तिशाली पुरुषहरू– जुलियस सिजर, मार्क एन्टोनी र अक्टोभियनको प्रतिद्वन्द्वी थिइन् । जुलियस सिजरले उनलाई इजिप्टको रानी बन्न मद्दत गरेका थिए । 

जुलियस सिजरसँगको सम्बन्ध

क्लियोपेट्राको शासनसत्ता चौतर्फी खतराको घेरामा थियो । उनले आफ्नै परिवारबाट भएको विद्रोहदेखि विदेशी आक्रमणसम्मको प्रतिरक्षा गर्नुप¥यो । यस्तो अवस्थामा क्लियोपेट्राले शक्तिशाली रोमन शासकहरूसँग बलियो सम्बन्ध कायम गरेकी थिइन् । उनले सिरियामा शरण लिएका बेला अर्थात् ४९ इसापूर्वमा सेना गठन गरिन् । इजिप्ट फर्केपछि उनले आफ्ना भाइ र सह–शासक फारो टोलेमीलाई चुनौती दिने योजना बनाइन् । अनि जुलियस सिजर द ग्रेटलाई भेटिन् । 

पछि सिजरले क्लियोपेट्रालाई साथ मात्र दिएनन् दुवैको निकटता पनि स्थापित भयो । त्यसपछि क्लियोपेट्राले इजिप्ट आएर आफ्नो भाइलाई सत्ताबाट हटाइन्, इजिप्टको सिंहासनमा बसिन् । 

केही समयपछि ४७ इसापूर्वमा क्लियोपेट्रा र सिजरबाट छोरा सिजेरियनको जन्म भयो । सिजेरियन क्लियोपेट्राको उत्तराधिकारी बन्ने निश्चित थियो । ४४ इसापूर्वमा सिजरको हत्यापछि पनि क्लियोपेट्राले आफ्ना भाइबहिनीलाई सत्ताको सपना पूरा गर्न अनुमति दिइनन् । क्लियोपेट्राका कान्छा भाइ टोलेमी चौधौँ रहस्यमय रूपमा बेपत्ता भएका थिए । भनिन्छ क्लियोपेट्राकी बहिनी आर्सिनो चौथोको हत्या मार्क एन्टोनीका मानिसबाट भएको थियो । 

अर्काथरी इतिहासकारका अनुसार जुलियस सिजर आफ्नो शत्रु पोम्पीको खोजीमा इजिप्ट आएका थिए । त्यहाँ उनले क्लियोपेट्रालाई देखे र उनको सुन्दरता, मादक आँखाको मायामा परे । क्लियोपेट्राको सुन्दरताको फन्दामा परेपछि उनको तर्फबाट लड्न र उनलाई इजिप्टको रानी बनाउन जुलियस सहयोगी बने ।

जुलियस सिजरले टोलेमीसँग युद्ध गरे र टोलेमी मारिए । अनि क्लियोपेट्रा इजिप्टको सिंहासनमा बसिन् । इजिप्टको पुरातन प्रथा अनुसार उनले आफ्नो कान्छो भाइसँग मिलेर शासन गर्न थालिन् तर चाँडै उनले आफ्नो कान्छो भाइलाई विष दिएर मारिन् । 

मार्क एन्थोनीसँगको सम्बन्ध

रोमन शासक जुलियस सिजरका सेनापति मार्क एन्थोनी क्लियोपेट्रासँग प्रेममा थिए । दुवैले अलेक्जेन्ड्रियामा जाडोको समय सँगै बिताएका थिए । एन्थोनीबाट क्लियोपेट्राका तीन सन्तान भएको बताइन्छ । क्लियोपेट्राले एन्थोनीसँग मिलेर इजिप्टमा संयुक्त सिक्का पनि चलाएकी थिइन् । 

४४ इसापूर्वमा जुलियस सिजरको हत्यापछि आफ्नो उत्तराधिकारी ग्यायस अक्टोभियन सिजरको विरोध गर्दा क्लियोपेट्रा एन्थोनीको साथमा थिइन् । त्यसपछि क्लियोपेट्रा र एन्थोलीले रोमन साम्राज्य लिने योजना बनाए तर दुवै अक्टोभियनको सेनाद्वारा पराजित भए । 

क्लियोपेट्राको सौन्दर्यका कारण सिजर र मार्क एन्थोनी पागल बनेका थिए । ग्रिक लेखक अल्बर्टो एन्जेलाका अनुसार सिजर क्लियोपेट्राको आवाजलाई सबैभन्दा बढी मन पराउँथे । मार्क एन्थोनी भने क्लियोपेट्राको बौद्धिकताबाट प्रभावित थिए । 

रहस्यमय मृत्यु

क्लियोपेट्राको निधन कसरी भयो भन्नेमा इतिहासकारहरू एकमत छैनन् । इतिहासकारका अनुसार अलेक्जेन्ड्रियाको युद्ध हुँदा क्लियोपेट्रा आफ्ना ६० जहाज लिएर भागेकी थिइन् । त्यसरी भागेकी क्लियोपेट्रालाई एन्थोनीले पछ्याएका थिए । त्यसपछि एन्थोनी र क्लियोपेट्राको भेट भएको थियो । भनिन्छ पछि अक्टोभियनको आदेशमा क्लियोपेट्राले एन्थोनीलाई धोका दिएकी थिइन् । अक्टोभियनको आदेशमा उनी एन्थोनीलाई मार्न तयार भइन् ।  एन्थोनीलाई सँगै मर्न आग्रह गरी उनले आफूले बनाएको समाधिमा लगेकी थिइन् । जहाँँ एन्थोनीले क्लियोपेट्राले आत्महत्या गरेको भ्रममा आफ्नो जीवन समाप्त गरेका थिए । 

अर्काथरी इतिहासकारहरू उनको मृत्यु सर्पको टोकाइका कारण भएको मान्छन् । क्लियोपेट्रा स्वयंले सर्पलाई आफ्नो छातीमा टोकाएर आत्महत्या गरेको उनीहरूको कथन छ । अर्कोथरी इतिहासकारको दाबीअनुसार क्लियोपेट्राले अक्टोभियनलाई आफ्नो सौन्दर्यको जालमा फसाएर इजिप्टको शक्ति पुनः प्राप्त गर्न चाहेको अवस्थामा अक्टोभियन क्लियोपेट्राको जालमा फस्नबाट बचेको र त्यसपछि डङ्क नामक व्यक्तिले क्लियोपेट्राको हत्या गरेका थिए ।

एक जर्मन अनुसन्धानकर्ताले क्लियोपेट्राको मृत्यु सर्पदंशले नभई लागूऔषधको ओभरडोजका कारणले भएको बताएका छन् । ट्रियर विश्वविद्यालयका प्राध्यापक क्रिस्टोफ सेफरको अध्ययनअनुसार अफिम र हेमलक मिश्रणको सेवनका कारण क्लियोपेट्राको निधन भएको थियो । क्लियोपेट्राको निधन ३० इसापूर्वमा भएको थियो । त्यतिबेला उनी ३९ वर्षकी थिइन् । क्लियोपेट्राको मृत्युपछि, इजिप्ट रोमन साम्राज्यको एक प्रान्त बन्यो । भनिन्छ क्लियोपेट्राका छोरालाई युद्धको लुटका रूपमा परेडका लागि रोम लगिएको थियो ।