• १३ साउन २०८१, आइतबार

चार सय ८८ रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती

blog

पिपल धाराको ६० रोपनी बाँझो जग्गामा सुन्तलाका बिरुवा रोपणका लागि तयार गरिएको जग्गा । तस्बिर: गाेरखापत्र

तिलाचन पाण्डे

तम्घास, असार १७ गते । गुल्मीमा  चार सय ८८ रोपनी बाँझो जग्गामा  चक्लाबन्दी खेती सुरु गरिएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा गरी कूल  चार सय ८८ रोपनी जग्गामा चक्लाबन्दी खेती गरिएको  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई गुल्मीका  प्रमुख गङ्गाकुमारी पोखरेलले जानकारी दिनुभयो ।

धुर्कोट २ पिपल धारामा सुभ सन्देश उपभोक्ता सहकारी संस्थाका १२ जनाले बाँझो ६० रोपनी जग्गामा सुन्तला खेती , मदाने गाउँपालिका छ पुर्कोटदहमा कंकेदेउराली बिउँ उत्पादन समूहका २३ जनाले ६८ रोपनी बाँझो जग्गामा सुन्तला खेती, सत्यवती गाउँपालिका वडा नम्बर ४ को लिम्घामा सत्यवती कृषक समूहका ९ जनाले १०० रोपनीमा कागती खेती , काली गण्डकी गाउँपालिका ३ मा हिमालयन कृषि तथा पशुपन्छी फर्मले २०० रोपनी जग्गामा कफी खेती र रेसुङ्गा नगरपालिका ३ मा ६० रोपनी जग्गाको क्षेत्रफलमा तरकारी खेती मार्फत चक्लाबन्दी खेती गरिएको  पोखरेलले बताउनुभयो ।

कृषि यन्त्रहरूको प्रयोग गरी चक्लाबन्दी खेती गरिएको कार्यालयले जनाएको छ । यसरी चक्लाबन्दी गरी खेती गर्दा उत्पादनमा वृद्धि हुने,लागत ,समयको पनि बचत हुने र स्थानीय स्तरमै रोजगारीको अवसर पनि सृजना हुने कार्यालयका सूचना अधिकारी नारायणी गाहाले दाबी गर्नुभयो ।

प्रत्येक चक्लाबन्दी खेती गर्ने कृषक , तथा समूहलाई कार्यालयको तर्फबाट कूल लागतको ५० प्रतिशत अर्थात् १२ लाख रुपियाँ उपलब्ध गराइने छ ।  ५० प्रतिशत रकम कृषक वा कृषक समूहको लागत रहने कार्यालयले जनाएको छ । जसमा स्थानीय तहको पनि लगानी रहने कार्यालयले जनाएको छ । 

फलफूलको चक्लाबन्दीमा सुन्तला जातमा कलमी बिरुवाहरू लगाइएको छ भने कफीमा जालीभित्रको घरमा तयार गरिएको नर्सरीका बिरुवाहरू रोपण गरिएको गाहाले जानकारी दिनुभयो । बिरुवाहरू स्वच्छ मान्यता प्राप्त नर्सरीका भएकाले कुनै शङ्का नरहेको गाहाको दाबी छ ।

कलमी सुन्तलाका बिरुवाहरूले  करिब तीन वर्षबाट उत्पादन दिन सुरु गर्ने र  कफीका बिरुवाहरूले पाँच वर्षमा उत्पादन दिन सुरु गर्ने गाहाले बताउनुभयो ।

गत वर्ष जिल्लाका विभिन्न स्थानीय तहमा पाँच वटा चक्लाबन्दीमा खेती गरेको कार्यालयले जनाएको छ । गत वर्षको चक्लाबन्दीमा यस वर्ष साना सिँचाइमा  कार्यालयले सहयोग गरेको गाहाले बताउनुभयो ।