• १३ साउन २०८१, आइतबार

मलको अभाव नहुने सरकारको दाबी

blog

काठमाडौँ, असार १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धानको सिजनमा मलको अभाव नहुने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्ड मात्र होइन, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले पनि यसपालिको धानको सिजनमा मलको अभाव नहुने दाबी गर्नुभएको छ ।  

असार १३ गते प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभएको थियो, “पछिल्ला निकै वर्षदेखि किसानले कहिल्यै समयमा मल पाएनन् । मैले विश्वासको मत लिँदै गर्दा सम्मानित संसद्मा प्रतिबद्धता जनाएको थिएँ, अब मलको हाहाकार हुन दिने छैन ।”

त्यो प्रतिबद्धता पूरा भएको छ, चालु आर्थिक वर्षमा साढे ७८ हजार मेट्रिक टन रासायनिक मलको आपूर्ति सुनिश्चित भएको उहाँले बताउनुभयो । एक लाख ९५ हजार नौ सय मेट्रिक टन रासायनिक मल आयात भई एक लाख ४५ हजार नौ सय मेट्रिक टन मल वितरण भइसकेको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले आगामी आवका लागि पनि समयमै रासायनिक मल व्यवस्थापन गर्न ३० अर्ब रकम विनियोजन गरिएको बताउनुभयो । 

कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले यो चालु आवमा चार लाख ७८ हजार मेट्रिक टनको टेन्डर भएकोमध्ये तीन लाख ५१ हजार मेट्रिक टन मल आइसकेको र त्यसमध्ये एक लाख मेट्रिक टनभन्दा बढी बिक्री पनि भइसकेको जानकारी दिनुभयो । 

यस पटक मलको मूल्य घटेका कारण रकमको अभाव भएन र तोकिएको समयमा मल आयात हुँदा अभाव नहुने देखिएको उहाँले बताउनुभयो । 

मल खरिदका लागि चालु आवमा ३८ अर्ब रुपियाँको स्रोत सुनिश्चित गरेको तर त्यसमध्ये ३१ अर्ब रुपियाँले मात्र पुगेको बताउँदै उहाँले सरकारसँग मल पर्याप्त छ तर बिक्री प्रणाली राम्रो नभएका कारणले कतै कतै अभाव भएको कुरा मिडियामा आएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सबै कुराको नियन्त्रण केन्द्रले गर्न सक्दैन, मल बिक्रीवितरणको जिम्मेवारी स्थानीय तहको हो तर त्यहीँबाट बदमासी भइरहेका कारण कृत्रिम रूपमा कतै कतै अभाव देखाइएको नत्र ठिक तरिकाले बिक्रीवितरण भयो भने यसपालि मलको अभाव हुँदैन ।”

मल आयात गरी किसानलाई बिक्रीवितरणको जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि धान सिजनका लागि पर्याप्त मल मौज्दात रहेको दाबी गरेका छन् । दुवै संस्थाले उपलब्ध गराएको तथ्याङ्क अनुसार ८० हजार मेट्रिक टनभन्दा बढी युरिया र डिएपी मल मौज्दात रहेको छ । 

साल्ट कर्पोरेसन लिमिटेडका विभागीय प्रबन्धक ब्रजेश झाले आफूहरूसँग ३२ हजार ३०० मेट्रिक टन युरिया र २६ सय मेट्रिक टन डिएपी रहेको 

जानकारी दिनुभयो ।  त्यसबाहेक तीन हजार मेट्रिक टन युरिया भारतको कोलकाता र २० हजार मेट्रिक टन समुद्रको बाटो आइरहेको उहाँले बताउनुभयो । 

त्यस्तै आठ हजार पाँच सय मेट्रिक टन डिएपी कोलकाताबाट रेलमा हिँडिसकेको छ भने ३६ हजार २८० मेट्रिक टन त्यही ब्यागिङ भइरहेको जानकारी उहाँले दिनुभयो । 

उहाँले भन्नुभयो, “सरकारले गरेको तयारी र हामीलाई दिएको जिम्मेवारीलाई हेर्दा यसपालि धानको सिजनमा मलको अभाव हुने छैन । धान सिजनका लागि डेढ लाख मेट्रिक टन मल चाहिन्छ, हामीसँग मात्र ३२ हजार मेट्रिक टन मल मौज्दात छ र अरू बाटो आइरहेका छन्, ती सबै मिलाएर एक लाख मेट्रिक टनभन्दा बढी मल आउने सिजनका लागि ठिक पारेर राखेका छौँ ।”

कृषि समाग्री कम्पनी लिमिटेडका प्रमुख विष्णु पोखरेलले आफूहरूसँग ३० हजार मेट्रिक टन भन्दा बढी युरिया र १५ हजार मेट्रिक टनभन्दा बढी डिएपी मल मौज्दात रहेको बताउनुभयो । ११ हजार मेट्रिक टन मल बाटोमा आइरहेको आगामी साताभित्र नेपाल आइपुग्ने बताउनुभयो । 

यसपालि धानको सिजनमा मलको अभाव नहोस् भनी सुरुदेखि नै सचेतता अपनाएको बताउँदै उहाँले साउनदेखि असोजसम्म आइपुग्ने गरी एक लाख ७० हजार मेट्रिक टन मलको टेन्डर भइसकेको जानकारी दिनुभयो । यसपालि मल अभाव नहुने कुरामा आफूहरू ढुक्क रहेको बताउनुभयो ।