• १३ साउन २०८१, आइतबार

मनसुन आउन ढिलाइ हुँदा रोपाइँ थोरै

blog

रुपन्देहीको सम्मरीमाइ गाउँपालिकामा रोपाइँका लागि पानीको जोहो गरिदै । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर,असार १६ गते । यसवर्ष मनसुन आउनमा ढिलाइ हुँदा कृषकको रोपाइँ प्रभावित भएको छ । रुपन्देहीमा मध्यअसार सकिँदासम्म जम्मा सात प्रतिशत मात्र रोपाइ भएको बताइएको छ । 

मध्यअसार सकिँदा पनि खोजेजस्तो पानी नपरेका कारण रुपन्देहीको सम्मरीमाइ गाउँपालिका – ६ का राजेश लोधको खेत बाँझै छ । उहाँले साढे २ बिघा खेत पानी नपरेसम्म रोप्न नसकिने बताउनुभयो । ‘सिँचाइको अभावकै कारण विगत ३ वर्षदेखि धान उत्पादन घट्दै आएको छ, समयमा रोपाइँ गर्न नपाए धान उत्पादन हुँदैन र खान पुग्दैन’ उहाँले भन्नुभयो ।

स्थानीय राम अहिरले नहरको पानी पम्पबाट तानेर खेतमा लगिए पनि खेत हिलाम्य हुन नसकेको बताउनुभयो । दिनभरिमा एउटा खेत पनि हिलाम्य हुँदैन, घाम चर्किँदा रोपाइको काम प्रभावित भएको छ’ उहाँको गुनासो छ । समयमा पानी नपर्दा रोपाइँ पनि थोरै भएको कृषकको भनाइ छ ।

रुपन्देहीमा ८२ हजार हेक्टर खेतीयोग्य जमिन रहे पनि करिब ८० हजार हेक्टर जमिनमा धान खेती हुनेगरेको छ । यो वर्ष रुपन्देहीमा करिब ७ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले यसपालि मौसमका कारण देशैभरी रोपाइँ ढिलो सकिने बताउनुभयो । 

यहाँ बढ्दो प्लटिङ र बसाइँ–सराईले खेतीयोग्य जमिन बर्सेनि मासिँदै छ भने खेतीयोग्य जमिन मासिँदै जाँदा परनिर्भरता समेत बढ्दैगएको छ । रुपन्देहीमा उत्पादन गरिएको धान रुपन्देहीलाई पर्याप्त पुगेर बाहिरी जिल्लामा निर्यात हुनेगरेको छ ।