चन्द्र पन्दाक
ताप्लेजुङ, असार १५ गते । ताप्लेजुङका बाढीपहिरो पीडित परिवारलाई कलाकार कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी टोलीले राहत सहयोग उपलब्ध गराएको छ । बिहीबार पहिरो प्रभावित क्षेत्र जिल्लाको सिदिङ्वा गाउँपालिका पुगेको इन्द्रेणी टोलीले पीडित परिवारलाई राहतस्वरुप आर्थिक सहयोग उपलब्ध गराएको हो ।
इन्द्रेणी टोलीले सिदिङ्वा गाउँपालिका–६ मेहेले र वडा नम्बर ३ आङ्खोपका पहिरो पीडित १३ परिवारलाई चार लाख २० हजार रुपियाँ सहयोग रकम उपलब्ध गराएको बताइएको छ । इन्द्रेणी टोलीका नेतृत्व कलाकार कँडेलले पहिरो पीडित परिवारलाई प्रत्यक्ष भेटेर सहयोग रकम उपलब्ध गराउनुभएको हो ।
पहिरोमा परी ज्यान गुमाएका परिवार र पहिरोले घर बगाएर विस्थापित बनेका परिवारलाई इन्द्रेणी टोलीले राहत रकम उपलब्ध गराएको सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले जानकारी दिनुभयो । उपाध्यक्ष कडरियाका अनुसार इन्द्रेणी टोलीले पहिरो प्रभावित स्थानीय बासिन्दासँग साक्षात्कारसमेत गरेको छ ।
गत असार २ र ४ गते भीषण वर्षासँगै गएको बाढी पहिरोमा परी सिदिङ्वा गाउँपालिकाको मेहेलेमा मात्र एकै परिवारका बाबुछोरा समेत तीन जनाको मृत्यु भएको थियो । त्यस्तै, स्थानका एकै परिवारका तीन जना पहिरोमा परेर बेपत्ता हुनुभएको छ । पहिरोमा परी मेहेलेका एकजना र मैवाखोला गाउँपालिका–४ साँघुका एक गरी दुईजना घाइते हुनुभएको छ ।