• १३ साउन २०८१, आइतबार

चुँदीफाँटलाई कृषि पर्यटनको नमुना केन्द्र बनाइने

blog

भानु नगरपालिका–४, चुँदीफाँटमा रोपाई गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असार १५ गते । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका–४ को चुँदीफाँटलाई कृषि पर्यटनको नमुना केन्द्र बनाइने भएको छ । साहित्यिक पर्यटकीय स्थलको अतिरिक्त कृषि पर्यटनको माध्यमबाट स्थानीयको आयस्तर परिवर्तन गर्न जमिन चक्लाबन्दी कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । 

गण्डकी प्रदेश सरकारको सहयोगमा ७० लाखको लागतमा चक्काबन्दी कार्यक्रम सञ्चालन गरिएको तिवारीले बताउनुभयो । जमिनलाई समथर बनाएर कान्लाहरू थोरै राखेर आधुनिक कृषि प्रविधिको प्रयोग गरेर गरिने खेती बिस्तारै अन्य क्षेत्रमा पनि बढाउँदै लैजाने लक्ष राखिएको उहाँले जानकारी दिनुभयो । तिवारीले भन्नुभयो, “साहित्यको अतिरिक्त कृर्षिको नमुना केन्द्रको विकास गर्न चक्काबन्दी कार्यक्रम सुरु गरेका छौँ ।’’ धान तथा आलु उब्जनीका हिसाबले चुँदीफाँट अब्बल रहेकोले चक्लाबन्दी गरी सामूहिक खेती अभियानले अन्य कृषकहरूलाई पनि प्रोत्साहन गर्ने हुँदा कृषि पर्यटनको केन्द्रको रूपमा विकास गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

कृषि पर्यटनको रूपमा विकास गर्न मद्दत पुगोस् भनेर केन्द्रले धान दिवसको अवसरमा शुक्रबार चुँदीफाँटमै धान दिवस विशेष कार्यक्रम गरिएको तिवारीले जानकारी दिनुभयो । चक्लाबन्दी गरेर खेती गर्दा कम खर्चमा धेरै उत्पादन गर्न सकिने भएकाले प्रदेश सरकारले बजेट विनियोजन गरेको तिवारीले बताउनुभयो । चुँदीमा सामूहिक खेती प्रणाली अन्तर्गत सुरु भएको चक्लाबन्दी खेती कृषि पर्यटनको नमुना केन्द्र बन्ने भानु नगरपालिकाले विश्वास लिएको छ । भानु नगरपालिकाको उपप्रमुख उमा गोतामेले भन्नुभयो, "उर्वर ठाउँ भएकाले चक्लाबन्दी खेती सुरु भएसँगै यसले अन्य कृषकहरूलाई पनि ज्ञान र सिप आदान प्रदानमा सहयोग पुग्ने विश्वास गरेका छौँ ।" कृषि क्षेत्रमा आधुनिकीकरण गरी आयआर्जनमा वृद्धि गर्ने लक्ष्य नगरपालिकाले लिएको छ ।  

स–साना गह्रा र बारीमा गोरुले जोत्न गाह्रो हुने र गोरु पाल्ने चलन पनि बिस्तारै हराउँदै जान थालेपछि जग्गा चक्लाबन्दीलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ । जमिन चक्लाबन्दी गरेपछि त्यस क्षेत्रका किसान उत्साहित सामूहिक धान रोपाइँ गर्न थालेका छन् । साना खेतबारीलाई डोजर लगाएर ठुला गह्रा बनाएपछि खेती लगाउन सजिलो हुनुका साथै आधुनिक कृषि औजार प्रयोग गरिँदा थोरै जनशक्तिले पनि धेरै काम गर्न सकिनेछ । चक्लाबन्दीमार्फत कृषि उत्पादनमा वृद्धि गरी खाद्यान्न बालीमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य नगरपालिकाको छ । नगरपालिकाका अनुसार बढ्दो खण्डीकरण र जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउन खेती सुरु गरिएको छ ।  

खेतीयोग्य जमिन खण्डीकरण गरेर खेती गर्न कठिन हुने र साँध सिमाना थपिँदै जाँदा खेतीयोग्य जमिन समेत घट्दै जाने कृषिमा लागत मूल्य घटाउन चक्लाबन्दी खेतीलाई प्राथमिकतामा राखी सुरुवात गरिएको उपप्रमुख गोतामे बताउनुहुन्छ । स–साना जमिनलाई एकीकृत गर्दै सामूहिक तरिकाबाट खेती प्रणालीअघि बढाउँदै थोरै लगानीमा धेरै उत्पादन लिने उद्देश्यले चक्लाबन्दी कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी उहाँले दिनुभयो । चक्काबन्दीले लागत घट्ने हुँदा कृषिमा आकर्षण बढ्ने हुँदा खेतबारी बाँझो नहुने, सामूहिक रूपमा गर्दा सहज हुने, आधुनिक कृषि यन्त्र उपकरणको प्रयोग गरी छिटो र छरितो रूपमा काम गर्न सकिने, जमिनको खण्डीकरण रोकिने र रोजगारीका अवसर सिर्जना हुने भएकोले प्राथमिकतामा दिइएको नगरपालिकाले जनाएको छ। 

खेती प्रणालीलाई व्यवस्थित गर्न, खेती योग्य जमिनको क्षेत्रफल बढाउन र बाँझो जमिनलाई सदुपयोग गर्न टेवा पुग्ने हुँदा चक्लाबन्दीलाई विस्तार गरिनुपर्ने कृषि ज्ञान केन्द्र तनहुँ पूर्व प्रमुख चेतनाथ अधिकारीले बताउनुभयो । खेतीयोग्य भूमि घट्दै गएकाले छरिएर रहेका जमिनलाई एकीकृत गरी उत्पादनमा वृद्धि गर्ने चक्काबन्दीले मद्दत पुग्ने उहाँले बताउनुभयो । एकल परिवारको प्रचलनले जग्गा विखण्डित भएर खेती गर्न कठिन हुनुका साथै सिमाना थपिँदै जाँदा खेतीयोग्य भूमि घट्दै गएकाले छरिएर रहेका जमिनलाई एकीकृत गरी उत्पादनमा वृद्धि गर्ने उहाँ बताउनुहुन्छ । "उत्पादन बढ्ने, खेती गर्न सजिलो र लागतमा पनि कम हुने हुँदा नगरपालिकाले चक्लाबन्दी खेतीलाई प्राथमिकता दिएको पाएको छु खुसी लागेको छ", अधिकारीले भन्नुभयो । 

खेतीयोग्य जमीनको अन्य प्रयोजनका लागि अतिक्रमण हुन नदिई जर्गेना गर्ने, जग्गा बाँझो राख्ने र खण्डीकरण रोक्ने, खेती प्रणालीलाई रूपान्तरण र विस्तार गरी रोजगारीका अवसर सिर्जना गर्ने यसको मुख्य उद्देश्य रहेको छ । जग्गाको आली कान्ला कम गरी आधुनिक प्रविधिको सहायतामा कम लागतमा बढी उत्पादन गर्न चुँदीफाँटमा चक्लाबन्दी कार्यक्रम सुरु गरिएको यसलाई विस्तार गर्दै लैजाने नगरपालिकाले जनाएको छ ।

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोग र भानु नगरपालिकाको सहकार्यमा भानु ४ को चुँदी कुमालगाउँमा चक्लाबन्दीको कार्यक्रम सुरु गरिएको छ । चुँदीरम्घाफाँटको क्षेत्रमा एक सय ७१ रोपनी क्षेत्रफलमा चक्लाबन्दी गर्ने कार्य भइरहेको वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनबहादुर बोहोराले जानकारी दिनुभयो । 

जग्गा चक्लाबन्दी गरी कृषिमा आधुनिकीकरण गरौँ, खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनौँ भन्ने नारा सहित खमलटारी बडहरे कृषक समूहले जग्गा चक्लाबन्दीको कार्यक्रमलाई अगाडि बढाएको समूहका अध्यक्ष विनोद ओझाले जानकारी दिनुभयो । 

भानु नगरपालिकाको मुख्य फाँटहरू चुँदीफाँट, पुर्काेटको बडहरे फाँट, सतिघाट फाँट लगायतका फाँटहरूमा चक्लाबन्दी कार्यक्रमको लागि प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ । नगरपालिका अनुसार गण्डकी प्रदेश सरकारको ८० प्रतिशत र पालिका र स्थानीय २० प्रतिशत लागत सहभागिता हुने गरी काम अघि बढी रहेको छ ।