चितवनको भरतपुर महानगरसँगै जोडिएको नवलपरासीपूर्वको गैँडाकोट नगरपालिका विकास र समृद्धिको यात्रामा अघि बढेको छ । गण्डकी प्रदेशको यो नगरपालिकाको नेतृत्व परिपक्व, शालीन र भद्र व्यक्ति मदनभक्त अधिकारीले गर्नुभएको छ । उहाँ नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित हुनुभएको हो । गैँडाकोटको विकास गर्न उहाँ तल्लीन हुनुहुन्छ । पञ्चायतकालमा २५ वर्ष गैँडाकोटको प्रधानपञ्च भएर काम गरिसकेका अधिकारी विकासप्रेमी नेताका रूपमा परिचित हुुनुुहुुन्छ । गोरखापत्रका होमराज रानाभाटले नगर प्रमुुख अधिकारीसँग गर्नुुभएको कुुराकानी :
नगर प्रमुख भएको एक वर्ष भयो । जनचाहनाको सम्बोधन हुन सक्यो ?
मुख्यतः सुशासन प्रवाह गर्ने खालका काम गरिएको छ । शिक्षा ऐन, सहकारी ऐनलगायत ऐन कार्यविधि एवं मापदण्ड निर्माण ग¥यौँ । नगरपालिकाको वडा नं. ६, ७ र ९ को करिब २९४ बिघा सार्वजनिक जग्गालाई नगरपालिकाको पहलमा नेपाल सरकारको नाममा लालपुर्जा प्राप्त गरियो । पूर्वाधार विकासतर्फ नारायणी तटबन्धन निर्माण सुरु भएको छ । नयाँ वडा कार्यालय भवन निर्माणाधीन रहेको, नगरपालिकाको भू–वर्गीकरण सम्पन्न भएको, नदीजन्य पदार्थलाई उचित तवरबाट व्यवस्थापन गरिएको छ । सुकुमवासी समस्या समाधानतर्फ उन्मुख रहेको छ । राजस्वको दायरा फराकिलो गरी नगरपालिकाको आन्तरिक आयमा वृद्धि गरिएको छ । आवधिक योजना निर्माण भई कार्यान्वयनको चरणमा रहेको छ ।
नगरको समृद्धिका लागि दीर्घकालीन योजना के कस्ता छन् ?
नारायणी तटबन्धनलाई सि–बिच मोडलमा विकास गरी पर्यटकीय पूर्वाधार विकास गर्न निजी क्षेत्रसँग साझेदारी गरी अगाडि बढाउने एवं नगरको आन्तरिक आयलाई वृद्धि गर्ने लक्ष्य रहेको छ । कृषि क्षेत्रलाई आधुनिकीरण गरी युवा कृषि उद्यमीलाई कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने नीति लिएका छौँ । शिक्षालाई यस आर्थिक वर्षमा न्यूनतम कक्षा १–५ सम्म पूर्ण रूपमा निःशुल्क गर्ने तयारी रहेको छ । गैँडाकोटलाई विकासको पथमा अघि बढाउन सबै किसिमका कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।
आगामी वर्ष २०८०/८१ को बजेटको प्राथमिकता के हो ?
आ.व. २०८०/८१ मा बजेटको प्राथमिकता शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषिमा रहेको छ । यो क्षेत्रको विकास नभएसम्म अन्य विकास सम्भव छैन । शिक्षाको विकासँगै कृषि, पर्यटन र पूर्वाधार विकासमा जोड दिएका छौँ ।
देशकै मध्य भागमा रहेको गैँडाकोट नगरपालिका र चितवनको भरतपुर महानगरपालिकाबिच पनि साझेदारीमा काम गर्दै हुनुहुन्छ कि ?
दुई वटा नगर फरक फरक जिल्ला र प्रदेशमा पर्छन् । नारायणी नदीको सिमानाले छुट्याएको नेपालको मध्य भागमा रहेका दुई पालिकाले नारायणी नदीलाई प्राकृतिक रूपमा नै व्यवस्थापन गर्न तटबन्धन, सि–बिच मोडेल, नारायणी नदीको नदीजन्य पदार्थको न्यायोचित बाँडफाँट, असल अभ्यासको आदानप्रदान, निजी क्षेत्रसँग साझेदारीमा काम भइरहेको छ । आगामी वर्षमा पनि यो कार्यव्रmमको निरन्तरता रहिरहने छ ।
गैँडाकोट नगरपालिकाको जनताको अपेक्षा पूरा हुने गरी काम भएको छ त ?
संविधानले प्रदत्त गरेको अधिकार अनुसार सङ्घीय प्रदेश र स्थानीय सरकारबिचको आपसी सहकार्य र माथिल्लो तहमा रहेका दुई सरकारले लिने नीति, कार्यक्रम र बजेटले प्रत्यक्ष रूपमा स्थानीय सरकारलाई असर गर्छ । स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेका कतिपय विषयमा स्पष्ट कानुन एवं सहकार्यको अभावले गर्दा स्थातीय तहका सरकारले प्रत्यक्ष जनसरोकारका योजनालाई सम्बोधन गर्न लगानीको अभाव छ । चार वर्ष सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलागयतका क्षेत्रमा स्थानीय सरकारले देख्ने, सुन्ने र अनुभव गर्न लायक काम गरी तेस्रो कार्यकालका लागि जननिर्वाचित प्रतिनिधिलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको छ ।
यो बिचमा नगरपालिकामा केही विवाद पनि देखा परे, कसरी समाधान गर्नुभयो ?
लोकतान्त्रिक व्यवस्थामा वादविवाद, द्वन्द्व हुनु सामान्य कुरा नै हो । भएका समस्या एवं विवादको समयमा निराकरण गर्नु नै व्यवस्थापकीय जिम्मेवारीमा बसेका व्यक्तिको नेतृत्व परीक्षणको सही अवसर पनि हो । कार्यपालिका, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नगरवासी, बुद्धिजीवी तथा मिडिया सबैको सकारात्मक सहयोग एवं सहकार्यले आउने विवाद समाधान गरिएको छ ।
गैँडाकोट नगरपालिकाको विकासमा राजनीतिक दलहरूको सहयोग पाउनु भएको छ ?
गैँडाकोटको नारा ‘हामी सबैको साझा अठोट, शान्त समुन्नत र सुन्दर गैँडाकोट’ भन्ने उद्देश्यका साथ काम गरेका छौँ । सबै राजनीतिक दलको स्वीकृतिमा आवधिक योजना निर्माण गरी कार्यान्वयनको चरणमा आइसकेकाले विकास र समृद्धिमा हामी सबै सँगसँगै सहकार्यमा छौँ । नगरका सबै प्रकारको विकासमा सबै राजनीतिक दल एवं नेतृत्वको ऐक्यबद्धता छ ।
तपाईंको नेतृत्वमा गैँडाकोटले मुहार फेर्न सक्ला ?
हामी निर्वाचित भएर नगरको नेतृत्वमा आएपछि सुशासन, विकास र जनताका अपेक्षा पूरा गर्ने गरी अगाडि बढेका छौँ । जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला सबै राजनीतिक नेतृत्वले सहयोग गरेमा गैँडाकोटको मुहार फेर्न सकिन्छ ।