• ३ मंसिर २०८२, बुधबार

सातजना ज्येष्ठनागरिक सम्मानित

blog

सम्मानपछि सामूहिक तस्बिर लिइँदै । तस्बिरः यज्ञप्रसाद सापकोटा

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), कात्तिक ३ गते । नेपालकै उत्कृष्ट भएको ताराताल सानाकिसान कृषि सहकारी संस्था लिमिटेड बर्दियाले २८ औँ साधारण सभाको अवसरमा सात जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । 

साधारण सभाको अवसरमा विगत् लामो समयदेखि ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको संस्थाले यस बर्ष सात जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर, पौष्टिक आहार र सम्मान पत्र दिएर सम्मान गरेको हो ।

साधारण सभामा शेयर सदस्यमध्ये १६ जना उत्कृष्ट कृषकलाई कृषि सामग्री र सम्मान पत्र दिएर सम्मान गरेको छ । त्यसैगरी एसइईमा उत्कृष्ट जिपिए ल्याउने शेयर सदस्यका चार जना छोराछोरीलाई नगद ५ हजारसहित सम्मान गरेको छ । 

सहकारीका अध्यक्ष प्रेमप्रसाद तिमिल्सिनाले पाँचसय दुई वटा समूहमा तीन हजार ९ सय ८२ जना शेयर सदस्य रहेको बताउनुभयो । संस्थाको शेयर रकम ६ करोड ५६ लाख ३१ हजार, निक्षेप मौज्दात ५० करोड ७६ लाख ७८ हजार  रहेको छ । त्यसैगरी आर्थिक बर्ष २०८१–८२ सम्ममा संस्थाको आम्दानी १३ करोड ४५ लाख ८९ हजार भएको र खर्च १० करोड २४ लाख ९९ हजार र खुद नाफा तीन करोड २० लाख ९० हजार रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । 

त्यसैगरी ऋण जोखिम कोषमा तीन कराड ८९ लाख १३ हजार र जगेडा तथा अन्य कोषमा ९ करोड आठ लाख ३० हजार रहेको छ । संस्थाको लरर ९३ करोड ३७ लाख २ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थामा हाल कर्मचारी १५ जना कर्मचारी रहेका छन् । 

गत आर्थिक बर्ष २०८१–८२ मा साना किसान विकास वित्तीय संस्था लिमिटेडले देशभरीका १३ सयभन्दा बढी सानाकिसान कृषि सहकारीमध्ये सर्वोत्कृष्ट सहकारी घोषणा गरी पुरस्कृत गरिएको छ ।