काठमाडौँ, मङ्सिर ३ गते । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा तीन अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
सोही अवधिमा गत आवमा तीन अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपियाँ सङ्कलन भएको थियो ।
गत वर्ष १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपियाँ लक्ष्य निर्धारण गरिएको जनाउँदै कामपा राजस्व विभागका प्रमुख दीपक अधिकारीले चालु आवका लागि १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार लक्ष्य राखिएको बताउनुभयो ।
चालु आवको हालसम्म आन्तरिक करतर्फ एक अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७०० रुपियाँ सङ्कलन भएको छ । गत आवको यस अवधिमा एक अर्ब ९९ करोड दुई लाख ६७ हजार ६९५ रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
चालु आवमा आन्तरिक राजस्व घट्नुको कारण सम्पत्ति कर रहेको अधिकारीको भनाइ छ ।
उहाँका अनुसार गत आवको पहिलो चौमासिक अवधिमा ५० करोड ३१ लाख तीन हजार ७३८ रुपियाँ सङ्कलन भएको सम्पत्ति कर चालु आवको सोही अवधिमा ४२ करोड ७६ लाख ५४ हजार २७६ रुपियाँ सङ्कलन भएको छ ।
अधिकारीले भन्नुभयो, “गत वर्ष सम्पत्ति कर सम्बन्धित मालपोत कार्यालयले तोकेको दरमा लिने भन्ने निर्णय गरियो । यस विषयमा करदाताबाट गुनासो आएपछि २०८१ असोजमा बसेको कार्यपालिका बैठकले पुरानै दरमा सम्पत्ति कर लिने निर्णय गरेपछि समायोजन गर्दा यस वर्ष सम्पत्ति कर घटेको हो ।”
यस वर्ष वहाल कर असुली बढेको बताउँदै उहाँले गत वर्ष यस अवधिमा ९४ करोड ८५ लाख २८ हजार १५४ रुपियाँ सङ्कलन भएकामा यस वर्ष एक अर्ब दुई करोड ९२ लाख ९७ हजार ५७० रुपियाँ सङ्कलन भएको जानकारी दिनुभयो ।
गत वर्षको यस अवधिमा २२ करोड ८७ लाख आठ हजार ७०८ रुपियाँ व्यवसाय कर सङ्कलन भएकामा चालु आवको हालसम्म २३ करोड ३२ लाख ३६ हजार १७० रुपियाँ असुली भएको छ ।