• १३ साउन २०८१, आइतबार

मलका लागि विहानैदेखि लाममा किसान

blog

बाँकेको खजुरा सहकारीमा मलका लागि उपस्थित किसानहरु । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा  

बाँके, असार १३ गते । बाँकेको खजुरा –४ ‘इ’गाउँस्थित मिलिजुली वहुउद्देश्यीय कृषि सहकारी संस्थाले रासायनिक मल वितरण गर्ने भएपछि विहानैदेखि किसानहरु लाइनमा बसेका छन् ।  

सहकारीका अध्यक्ष खड्ग वलीले मङ्गलबार किसानलाई वितरणका लागि संस्थामा मल आइपुगेपछि विहान ५ बजेदेखि नै किसानहरु लाइनमा बसेको जानकारी दिनुभयो । अध्यक्ष वलीले भन्नुभयो, ‘युरिया र डिएपी मल किसानलाई उपलब्ध गराउन नसक्दा समस्या भएको छ, कृषि सामग्री कम्पनी र साल्टट्रेडिङले मल सहकारीलाई दिएमात्रै किसानलाई मल दिन सकिन्छ ।’ 

५५३ जना सहकारी सदस्य भएको सहकारीमा यसपटक १७५ बोरा युरिया र ७५ बोरा डिएपी प्राप्त भएको बताउँदै वलीले सहकारी बाहिरका ब्यक्तिलाई समेत मल दिनुपर्ने भएकाले अपुग भएको बताउनुभयो । सहकारीमा मल नपाइएपछि लाइनमा बसेका कतिपय किसान खाली हात घर फर्कनेगरेका छन् । 

मल पाउन किसानबीच ठेलमठेल हुनेगरेको छ । बाँकेमा साल्टट्रेडिङले डिलर सहकारीको रुपमा नेपालगञ्जमा १३, बैजनाथमा ९, डुडुवामा १, जानकीमा ४, खजुरामा ९, कोहलपुर ३ र राप्ती–सोनारी गाउँपालिकाका ६ वटा सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउँदैआएको छ । 

कृषि सामग्री कम्पनीले किसानका लागि जिल्लामा १०७ वटा सहकारीलाई रासायनिक मल वितरण गर्दैआएको छ । साल्टट्रेडिङ र कृषि सामग्री कम्पनीमा युरिया मल मौज्दात रहे पनि सम्पूर्ण मल सहकारीलाई नदिइएको गुनासो सहकारी संस्थाको छ ।