• ६ पुस २०८२, आइतबार

पर्यटक भित्र्याउन पोखरी निर्माण

blog

दोलखा समाचारदाता

दोलखा, असार १३ गते । दोलखाको कालिञ्चोक गाउँपालिका–७ मा अवस्थित विन्ध्यवासिनी पोखरी १५ लाख रुपियाँभन्दा बढीको लागतमा निर्माण गरिएको छ। 

बागमती प्रदेश सरकारको १३ लाख रुपियाँ आर्थिक सहयोग र जनश्रमदान दुई लाख ६० हजार गरी कुल १५ लाख ६० हजार रुपियाँमा यो पोखरीका निर्माण गरिएको वडाध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो।

उहाँका अनुसार ऐतिहासिक तथा धार्मिक महत्त्वको विन्ध्यवासिनीको पोखरीको निर्माण बागमती प्रदेश सकारको अनुदान तथा स्थानीय श्रमबाट सम्पन्न भएको हो।  १३ लाख रुपियाँमा बागमती प्रदेशको अनुदान तथा २० प्रतिशत स्थानीयको श्रमबाट पोखरी निर्माण सम्पन्न भएको छ। परापूर्व कालदेखि नै यो पोखरीमा  जुठो हालेमा गाउँमा विपत्ति आउने जनविश्वास रहिआएको छ। स्थानीय निरज आचार्यले भन्नुभयो, “पर्यटक भित्र्याउन पनि पोखरी निर्माण गरिएको हो। चारैतिर घेराबार लगाइएको छ। दृश्यावलोकनका लागि मानिस आउने क्रम बढेको छ।” 

पोखरी निर्माण सम्पन्न भई धार्मिक विधि अनुसारको अनुष्ठानसमेत सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर आचार्यले जानकारी दिनुभयो। पोखरी निर्माणले स्थानीयको धार्मिक आस्थाको सम्मान हुनाका साथै गाउँको सौन्दर्य पनि वृद्धि भएको उहाँले बताउनुभयो।