• १३ साउन २०८१, आइतबार

अनलाइनबाटै कांग्रेसको सदस्यता लिन पाइने

blog

काठमाडौं, असार १२ गते । नेपाली कांग्रेसको सदस्य बन्न चाहने नेपाली नागरिकले अब अनलाइनबाटै सदस्यता लिन पाउने भएका छन् ।

नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक समितिका संयोजक एवं पार्टीका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी नगर ललितपुरमा मंगलबार बसेको बैठकले अनलाइनबाट सदस्यता प्रदान गर्न सुरु गरेको हो ।

कांग्रेस सदस्य बन्न चाहने नेपाली नागरिकले नेपाली कांग्रेसको वेवसाइट https://www.nepalicongress.org/online-membership मा गई सदस्यता आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सक्नेछन् । 

सदस्यता फारम भरिसकेपछि सो को जानकारी मोवाइलमा म्यासेजमार्फत प्राप्त हुनेछ । यसरी प्राप्त आवेदन पार्टीको केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पुरा गरि अनलाइनबाटै फोटो सहितको सदस्यता कार्ड आवेदन दिने व्यक्तिलाई प्राप्त हुनेछ ।

यसअघि नेपाली कांग्रेसको क्रियाशील सदस्य भइसकेका व्यक्तिको क्रियाशील सदस्यता कार्ड केन्द्रले उपलब्ध गराउँदै आएकोमा अब पार्टी जिल्ला कार्यालयले नै प्रिन्ट गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनसक्ने गरी सहज व्यवस्था गरिएको हो । 

कांग्रेसको विधान अनुसार क्रियाशील सदस्यता प्रत्येक वर्ष नविकरण गर्नुपर्ने व्यवस्था छ । प्रत्येक वर्ष गर्नुपर्ने क्रियाशील सदस्यता नविकरणको नियमित प्रक्रिया सुरु गरिसकिएको छ । नविकरण गर्नको लागि जिल्ला कार्यालयले मातहतका निकायबाट विधान बमोजिमको आवश्यक प्रक्रिया पुरा गरी गराई योग्यता पुगे नपुगेको हेरी अनलाइबाटै नविकरण विवरण भर्नेछ ।

यसरी नविकरण भएको व्यक्तिको सदस्यता नविकरण कार्ड अनलाइन वा प्रिन्ट गरेर जिल्ला कार्यसमितिले नै सदस्यलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ । कांग्रेस पार्टीको विधानमा योग्यता पुगेको व्यक्तिलाई अधिवेशनको वर्ष वाहेक अन्य समयमा नयाँ क्रियाशील सदस्यता निरन्तर वितरण गर्नुपर्ने व्यवस्था छ । यस वर्षदेखि निरन्तर रुपमा सदस्यता वितरण गर्ने काम प्रारम्भ भइसकेको छ । 

क्रियाशील सदस्यता लिन चाहने व्यक्तिले पार्टीको वडा तहमा आवेदन दिएमा विधान बमोजिमको प्रक्रिया पुरा भएका व्यक्तिको क्रियाशिल सदस्यता विवरण प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले अनलाइनबाट भर्नेछ र सबै विवरण अभिलेख भएपछि सदस्यता कार्ड उपलब्ध गराइनेछ । 

नेपाली कांग्रेसको क्रियाशील सदस्यता खुल्ला भइसकेको छ । अनलाइनबाटै क्रियाशील सदस्यता पनि भर्न पाउने गरी आवश्यक प्राविधिक तयारी गरिसकिएको छ ।

यसका लागि विधान र नियमावलीमा रहेका केही विषयमा संसोधनको प्रकृया पुरा गरेपछि क्रियाशील सदस्यताको आवेदन पनि पार्टीको वेवसाइटबाट अनलाइनमै भर्न सकिने कांग्रेसका कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।