• १४ असार २०८१, शुक्रबार

पशु चौपायालाई निःशुल्क भ्याक्सिन

blog

जनार्जन खत्री

सर्लाही, असार १२ गते । सर्लाहीको हरिपुर नगरपालिका–७, चितायनस्थित मुसहर बस्तीमा स्थानीयले पालेका पशु चौपायालाई मङ्गलबार निःशुल्क भ्याक्सिन लगाइएको छ । 

मुसहर समुदायको उत्थानका लागि कार्यरत साउथ एसिया पार्टनशीप नेपाल (साप–नेपाल) ले एक महिनाअघि सो बस्तीमा बसोबास गर्ने २६ जना मुसहरमध्ये १० परिवारलाई पाडी र १६ परिवारलाई बाख्रा वितरण गरेको थियो । सोही संस्थाले मङ्गलबार फेरि हरिपुर नगरपालिकाको पशु स्वास्थ्य शाखासँग समन्वय गरी बाँडिएका ती चौपायालाई निःशुल्क रूपमा भिटामिन तथा जुका, नाम्लेसहित भित्री तथा बाहिरी किरा नियन्त्रण गर्ने भ्याक्सिन लगाएको हो । 

नगरपालिकाका पशु शाखा प्रमुख दिव्य श्रेष्ठ, पशु स्वास्थ्यकर्मी प्रमोद सत्याल र विद्यानन्द रायलाई मुसहर बस्तीमै ल्याएर पाडापाडी तथा बाख्रा पाठालाई भ्याक्सिन लगाउन लगाइएको साप–नेपालका प्रादेशिक संयोजक जनक कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार संस्थाले एक महिनाअघि वितरण गरेकासहित मुसहर समुदाय आफैँले पहिलेदेखि नै पाल्दै आएका चौपायालाई समेत भ्याक्सिनेसन सेवा प्रदान गरिएको छ । 

पशुपालन गर्दै आएका मुसहर महिलालाई पशु स्वास्थ्यकर्मीबाट पशुपालनका सम्बन्धमा अभिमुखीकरण समेत प्रदान गरिएको कार्कीले बताउनुभयो । शिविरमा केही किसानले आ–आफ्ना चौपायामा लागेको रोगबारे पशु स्वास्थ्यकर्मीलाई ल्याएर देखाएका र पशु स्वास्थ्यकर्मीले आवश्यक परामर्श तथा औषधि सिफारिस गर्नुभएको संस्थाले जनाएको छ । 

कार्यक्रममा हरिपुर नगरपालिका–७, का वडाध्यक्ष मनोजकुमार चौधरीले संस्थाबाट प्राप्त सहयोगले अत्यन्त पिछडिएको दलित अन्तर्गत मुसहर समुदायको आयआर्जनमा टेवा पुग्ने बताउँदै आगामी दिनमा वडाबाट पनि यस बस्तीको विकासका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मुसहर महिला सशक्तीकरण मञ्च चिताइनकी अध्यक्ष उर्मिलादेवी माझीले साप–नेपालबाट निरन्तर सचेतनामूलक कार्यक्रम प्रदान गरिएपछि बस्तीमा सरसफाइ गर्ने, आफ्ना बालबालिकालाई विद्यालय पठाउने, बचत गर्नेजस्ता सकारात्मक परिवर्तन आइरहेको बताउनुभयो । 

अहिले पुनः पाडी र बाख्रा सहयोग गरेपछि धेरैलाई आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको माझीको भनाइ छ ।