• १३ असोज २०८१, आइतबार

ताप्लेजुङ मिक्‍वाखोलाको गौरवका १३ योजना

blog

साँबाको थलङस्थित मिक्वाखोला गाउँपालिका कार्यालय।तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक 

ताप्लेजुङ, असार १२ गते। ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले विभिन्न १३ वटा योजनालाई गौरवको योजनाका रूपमा कार्यान्वयन गर्ने भएको छ।गाउँपालिकाले विभिन्न योजना छनोट गर्दै पालिकाभित्रको गौरवको योजनाका रूपमा कार्यान्वयन गर्ने भएको हो ।

मिक्वाखोला गाउँपालिकाको आइतबार सम्पन्न १५ औँ गाउँ सभा तथा अधिवेशनमार्फत विभिन्न १३ वटा योजनालाई प्राथमिकता दिँदै गौरवको योजनाका रूपमा कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ।पालिकाको गौरवको रूपमा छनोट भएका योजनालाई आगामी आर्थिक वर्षदेखि पाँच वर्षसम्म निरन्तरता दिने गाउँपालिकाले निर्णय गरेको छ ।

गाउँपालिकाले आगामी आवको नीति तथा कार्यक्रममा समावेश गरेको गौरवको योजनाअन्तर्गत खोक्लिङ–लिबाङ–साँबा–पापुङ जोड्ने मोटरबाटो, डाँडागाउँ बस्ती विकास आयोजनालाई मुख्य प्राथमिकतामा राखेको छ।

यस्तै फुङ्फुगे पर्यटकीय गन्तव्य विस्तार तथा प्रचारप्रसार, अध्यक्ष कृषि कोष परियोजना, उपाध्यक्ष स्वरोजगार कार्यक्रम, ग्याँस तथा विद्युतीय चुल्हो वितरण कार्यक्रम गौरवको योजनामा छनोट गरिएको छ ।

प्रमुख प्रशासकीय भवन निर्माण, पाँच शप्याको अस्पताल, विपन्न तथा दीर्घरोगी उपचार कार्यक्रम, डीपीआर, वडा २ को कार्यालय भवन, कृषि सडक विस्तार तथा स्तरोन्नति, न्यानो लुगा तथा कपडा वितरण र कृषि तथा पशुपालन कार्यक्रम पालिकाको गौरवको योजनामा समावेश गरिएको छ।गाउँपालिकाले अवलम्बन गरेको गौरवका योजनाहरूलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नेगरी गाउँ सभाले निर्णय गरेको पालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो।

मिक्वाखोला गाउँपालिकावासीको हितमा रहेका योजनाहरू भएकाले गाउँ सभाले गौरवका योजनाका रूपमा छनोट गरी कार्यान्वयन गर्ने निर्णय गरेको थापाको भनाइ छ।उहाँकाअनुसार उक्त १३ वटा गौरवका योजनासहित मानव जीवन व्यवहार तथा जीवनशैलीमा प्रत्यक्ष प्रभाव राख्ने अन्य थुप्रै महत्त्वपूर्ण योजना तथा कार्यक्रमहरू पनि गाउँ सभाले पारित गरेको छ ।

यता मिक्वाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ करोड ६६ लाख ४८ हजार ७०० रुपियाँ बराबरको बजेट ल्याएको छ।बजेट तथा योजनाहरू गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले प्रस्तुत गर्नुभएको थियो भने गाउँपालिकाको आगामी आवको नीति तथा कार्यक्रम पालिका अध्यक्ष भक्तबहादुर कार्कीले गाउँ सभामा प्रस्तुत गर्नुभएको थियो ।