• १३ साउन २०८१, आइतबार

‘सरकार दुग्ध क्षेत्रको विकासका लागि गम्भीर छ’

blog

काठमाडौँ, असार ११ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्डको काममा सरकार असन्तुष्ट भएर होइन, खर्च कटौती पुनरवलोकन आयोगको सिफारिसका आधारमा त्यसलाई खारेजको सूचीमा राखेको बताउनुभयो । नेपाल डेरी एसोसिएसनले प्रकाशन गरेको ‘डेरी दर्पण’ आइतबार विमोचन गर्दै उहाँले बोर्डलाई खारेज होइन, पुनर्संरचना गर्न लागिएको बताउनुभयो । 

बोर्ड खारेज हुँदैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँदै मन्त्री भुसालले सरकार दुग्ध विकासको विरुद्ध रहेको भनेर गलत प्रचार भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बोर्ड खारेज हुँदैमा डेरी व्यवसायी आत्तिहाल्नुपर्ने अवस्था छैन । सरकारले कुनै न कुनै हिसाबले त्यसको व्यवस्थापन गर्छ । त्यसका बारेमा सबैसँग छलफल भइरहेको छ ।” 

सरकारले दुग्ध क्षेत्रको विकास गर्न नचाहेको भए मुर्रा राँगा ल्याउन पहल नै गर्ने थिएन भन्दै उहाँले दुध क्षेत्रको विकासका लागि कृषि मन्त्रालय गम्भीर रहेको धारणा राख्नुभयो । जुन उद्देश्य लिएर बोर्डको स्थापना गरेको थियो, त्यो अनुसार काम नभएको भन्दै उहाँले त्यसलाई कसरी पुनर्संरचना र व्यवस्थित गर्न सकिन्छ, त्यसका बारेमा छलफल भइरहेको जानकारी दिनुभयो । 

एसोसिएसनका अध्यक्ष दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक सम्झनाकुमारी काफ्लेले हाल नेपालमा दुध उत्पादन वृद्धि भइरहेको दाबी गर्नुभयो । लम्पी स्किन रोगले गर्दा केही समस्या निम्त्याए पनि समग्रमा दुधको उत्पादनमा वृद्धि भइरहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादव, कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेत, केन्द्रीय दुग्ध सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटालगायतले पनि आफ्नो धारणा राख्नुभएको थियो । डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले दुग्ध क्षेत्र एक संवेदनशील क्षेत्र रहेको र यो क्षेत्रको एक मात्र सरोकारवाला निकाय बोर्डको खारेजी प्रक्रिया अविलम्ब रोक्नुपर्ने कुरामा जोड दिनुभयो । भेटेरिनरी एसोसिएसन, अध्यक्ष रामकृष्ण खतिवडाले डेरी व्यवसायमा नेपाल डेरी एसोसिएसनको भूमिका ठुलो रहेको बताउँदै डेरी दर्पणले यस क्षेत्रको विकासमा ठूलो सहयोग गर्ने विश्वास लिएको बताउनुभयो । 

एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले कार्यक्रममा एसोसिएसनले सधैँ जस्तो प्रकाशन गर्ने डेरी दर्पण यस वर्ष पनि निकालेकामा प्रशंसा गर्नुभयो । उद्योग वाणिज्य महासङ्घ वस्तुगतका उपाध्यक्ष हेमराज ढकालले दुग्ध क्षेत्रमा आएका समस्याका लागि सधैँ साथ रहने प्रतिबद्धता जनाउँदै दुग्ध क्षेत्र हेर्ने निकाय बोर्डको खारेजी तुरुन्त रोक्नका लागि मन्त्री भुसाललाई आग्रह गर्नुभयो । कार्यक्रममा डेरी क्षेत्रका केही व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो ।