• ८ मंसिर २०८१, शनिबार

कामकाजी महिला (कविता)

blog

यौटै नै  पद हो र काम छ उही एकै छ झन् वेतन

फर्कन्छन् घरमा दुबै सँगसँगै थाकेर उस्तै तन

आई सुत्छ तुरुन्त झन् पति उता डङ्ग्रङ्ङ ओछ्यानमा

पत्नीले घरका सबै चिजहरू राख्छिन् यथा स्थानमा  । 


छन् सन्तान कहाँ र काम तिनको खोज्छिन् तुरुन्तै उनी

धोएका कपडाहरू कुन कता ल्याई समाल्छिन् अनि

लाग्यो प्यास भनेर माग्छ पतिले दिन्छिन् तुरुन्तै जल

लाग्ने गर्छ थकाइ ता तर उनै छन् काममा तत्पर  । 


खाजा खान्छु भनेर पिर्दछ यता छोरा र छोरी पनि

के के माग सबै सुनेर उनले खाजा तयारी अनि

के के कार्य भए नयाँ पठनमा छन् के अरू योजना

आफ्ना बालकका सुनी सब कुरा ती माग पूरा सदा । 


कापी पेन्सिल वा अरू कति कुरा के माग्दछन् ती  सबै

सारा थोक जुटाउँदा तन बढी थाक्दो छ धेरै अझै

खानाको पनि जोरजाम उनले गर्नै छ छिट्टै उता

ती श्रीमान् पनि फुत्त बाहिरतिरै निस्के कता हो कता ? 


यस्तै हाल छ आज दैनिकजसो ती कामकाजी हुँदा

दोहोरो अझ मारमा हुन गए नारीहरू सर्वदा

बाडौँ काम भनेर सोच बटुले राम्रो हुनेथ्यो अति

केही फुर्सद पाउँथिन् र तनमा आराम मिल्थ्यो कति ।