• १२ असार २०८१, बुधबार

कवाडी सङ्कलन गर्दै बालबालिका

blog

लहान समाचारदाता

लहान, असार ९ गते ।  लहानको मुख्य चोकमा घामपानी जस्तो सुकै मौसममा चार/पाँच जनाको समूहमा बालबालिका कवाडी सङ्कलन गरिरहेका हुन्छन्। विद्यालय उमेर समूहका दलित बालबालिका कवाडी सङ्कलन गरेर नजिकै रहेको कवाडी पसलहरूमा बिक्री गरेर दिनको दुई सयदेखि पाँच सय रुपियाँसम्म कमाइ गरिरहेका छन्। 

बालबालिकाले कवाडी सङ्कलन गरी प्रत्येक दिन ल्याउने दुई/चार सय रुपियाँबाट दाल–चामल तरकारी खरिद गरी खाने आमाबुवाले नै कवाडी सङ्कलन गर्न लगाएका बालबालिकाले बताएका छन्। लहान नगरपालिकामा मुसहर समुदायका बालबालिका, केही मुस्लिम र गैरदलित बालबालिका  कवाडी सङ्कलन कार्यमा संलग्न रहेको अधिकारकर्मी रेणु कर्ण यादवले बताउनुभयो। 

बालबालिकालाई जोखिम कार्यमा नलगाई नियमित विद्यालय पठाउन चेतनामूलक कार्यक्रम विभिन्न गैरसरकारी सङ्घ संस्थाले गर्दै आए पनि त्यसको कुनै असर नपरेको उहाँले बताउनुभयो। उहाँले थप्नुभयो, “सरोकारवाला निकायले कवाडी सङ्कलन गरिरहेका बालबालिकालाई नियमित विद्यालय पठाउन निगरानीको आवश्यक छ।”

फोहोर नालाबाट समेत कवाडीका सामान, बोतल फलामका टुक्रा हातमा पन्जा नलगाई सङ्कलन गर्दा बालबालिकालाई विभिन्न रोगबाट संक्रमण हुन सक्ने खतरा रहने नागरिक समाजका अगुवा राम विहारी साहले बताउनुभयो। उहाँले भन्नुभयो, “बालबालिकासहित अभिभावकलाई पनि शिक्षासम्बन्धी सचेतना गराउनु पर्छ। यसलाई नियन्त्रण प्रयास जरुरी छ।”

ग्रामीण भेगभन्दा सहरी क्षेत्रस्थित दलित बस्तीका बालबालिका कवाडी सङ्कलन गर्ने, बसमा पानी बेच्ने र होटलमा काम गर्ने कार्य गरिरहेका प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो। यसप्रति स्थानीय तहको ध्यान जानुपर्ने उहाँले उल्लेख गर्नुभयो।

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले दलित तथा विपन्न वर्गका बालबालिकालाई नियमित विद्यालय पठाउन भर्नालगायतका विभिन्न योजना ल्याएको बताउनुभयो तर यति हुँदाहुँदै पनि बालबालिका विभिन्न जोखिमयुक्त काम गर्न बाध्य भइरहनु दुःखद पक्ष हो, उहाँले भन्नुभयो।