• १७ वैशाख २०८३, बिहिबार

प्राकृतिक विपत्तिप्रति चनाखो रहन अनुरोध

blog

काठमाडौँ, असार ९ गते । मनसुनको देशव्यापी फैलावटसँगै भारी वर्षाको क्रम बढेपछि मुलुकका विभिन्न स्थानमा बाढीपहिरोलगायतका प्राकृतिक विपत्ति बढ्न थालेकाले एकजुट भएर जनजीवनको सुरक्षामा लाग्न अपिल गरिएको छ । स्थानीय तहले पनि आफ्नो क्षेत्रमा बाढीपहिरो र डुबानको जोखिम हुन सक्ने खतरालाई ध्यानमा राखेर चनाखो रहन पनि अनुरोध गरिएको छ । 

पश्चिमी वायुले रोकेका कारण केही दिन पूर्वी पहाडमा मनसुन खुम्चिन पुग्दा पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गालगायतका जिल्लामा एक साताभित्र जनधनको क्षति उच्च बन्यो । एक दिन ढिला गरी भित्रिएको मनसुन ढिला गरी नै देशव्यापी रूपमा फैलिएको छ । 

पश्चिमी वायु विस्थापित भएसँगै मनसुन देशका पूरै भेगमा फैलिएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागले मनसुनको देशव्यापी फैलावटका विषयमा विशेष बुलेटिन सार्वजनिक गर्दै मनसुन देशव्यापी सक्रिय हुने लक्षण देखिएकाले सचेतना अपनाउन आग्रह गरेको छ । विभागका अनुसार यस वर्ष देशव्यापी रूपमा मनसुन फैलन नौ दिनको लामो समय लागेको छ । सबैतिर वर्षा भएकाले बाढीपहिरोको खतरा अब केही दिनका लागि उच्च बनेको छ । मनसुन सक्रिय रहने दिन भएकाले बाढीपहिरो, भूक्षय, गेग्य्रान बहावका कारण जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित हुने सम्भावना रहेको विभागले औँल्याएको छ । 

पूर्वदेखि सुदूरपश्चिमका विभिन्न साना, मझौला तथा ठुला नदीमा बहाव बढ्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन कोशी, कनकाई, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, कर्णाली, पश्चिम सेती, महाकाली, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जल सतह उच्च खतराको तहभन्दा अलिक तलै रहने सम्भावना छ तर मझौला नदी तथा साना खहरेमा आकस्मिक बहावले क्षति पु-याउन सक्छ । 

अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान, बाँके, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी आसपासका साना नदीमा आगामी २४ घण्टा बाढीको उच्च जोखिम रहेको महाशाखाले जानकारी दिएको छ । जसका कारण ती क्षेत्रका तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । 

मौसमविद् राजु प्रधानाङ्गले आगामी तीन दिन कोशी, बागमती, मधेश, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको आकलन गरिएको बताउनुभयो । 

शुक्रबार सबेरैदेखि विभिन्न स्थानमा भएको भारी वर्षाले बागमती, तिनाउ र कनकाइ नदी आसपासमा भारी वर्षाको रेकर्ड भएको छ । जसले ती नदीमा बहाव बढ्ने अनुमान गरिएको छ । 

त्यस्तै भारी वर्षाका कारण पूर्व र पश्चिम नेपालका पहाडी भूभागमा पहिरो जाने उच्च सम्भावना भएकाले सतर्क रहन राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।