• १२ असार २०८१, बुधबार

दुधको गुणस्तर बढाउन किसानलाई मन्त्रीको आग्रह

blog

मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोबिन्द न्यौपानेसहित सहभागीहरु । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, असार ८ गते । मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोबिन्द न्यौपानेले दुधको गुणस्तर बढाउन पशुपालक किसानलाई आवश्यक सहयोग गर्न मन्त्रालय तयार भएको बताउनुभएको छ । 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा दुग्ध विकास बोर्डले शुक्रबार आयोजना गरेको स्वच्छ तथा गुणस्तरीय दुध उत्पादन, संकलन तथा बजारीकरणसम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

दुधको गुणस्तरमा देखिएको कमीका कारण मुल्यमा एकरुपता नभएको भन्दै गुणस्तरीय दुध उत्पादनगरी आफु र देशलाई समृद्ध बनाउनेतर्फ अग्रसर हुन हामी सबै लाग्नुपर्ने बताउनुभयो । भारतले पञ्जाव र हरियाणालाई केन्द्रबिन्दु बनाएर कृषिमा लगानी गरेजस्तै नेपाल सरकारले पनि कृषिप्रधान प्रदेश रहेको मधेश प्रदेशलाई केन्द्रबिन्दु बनाएर कृषिमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो । 

उन्नत जातका पशु किन्न नसक्ने भएकाले नश्ल सुधारका कार्यक्रम सञ्चालनगरी आफनै पशुचौपायालाई उन्नत जात बनाउने काममा मन्त्रालय लागिपरेको उहाँले बताउनुभयो । अब हाम्रो आवश्यकता भनेको देशलाई समृद्ध बनाउने हो, त्यसैले हामी सबै आफनो कामको क्षेत्रमा इमान्दारीपूर्वक लागेर देशलाई समृद्ध बनाउनेतर्फ अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो । 

कार्यक्रममा दुग्ध विकास बोर्डका उपाध्यक्ष शम्भु साहले वोर्डले गोठदेखि ओठसम्म गुणस्तरीय दुध पुगाउन पशुपालक किसानको जनचेतना वृद्धि गर्न विभिन्नखालको कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो । 

कार्यक्रममा दुग्ध बिकास वोर्ड मधेश प्रदेशका निर्देशक शंकर साहले गुणस्तरीयताप्रति उपभोक्ता सजग भएको भन्दै गुणस्तरीय दुध बिक्री वितरणका लागि पशुपालक किसानलाई आग्रह गर्नुभयो । उहाँले दुधको गुणस्तर उत्पादन नभए निर्यात प्रबद्र्धनमा समस्या हुने बताउनुभयो । 

दुधको गुणस्तर नियन्त्रण गर्न मधेश प्रदेशमा अत्याधुनिक प्रयोगशालाको निर्माण हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख विजय खनालले अबान्छित किटाणुको प्रवेश भएपछि दुध विगार्ने काम हुन्छ त्यसैले उत्पादकले सरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा पशुपालक किसानसहित डेरी सञ्चालकको सहभागिता थियो ।