• १२ साउन २०८१, शनिबार

कानुनसम्मत ढङ्गले काम गर्नु पर्छ

blog

कुनै बेला राजनीतिक, प्रशासनिक, न्यायिक, शैक्षिक क्षेत्रमा राजविराज सहरको अग्रणी नाम थियो तर अहिले देशकै पुरानामध्येको एक राजविराज नगरपालिका विकासका दृष्टिले पनि पछाडि परेको छ। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा राजविराज नगरपालिकाको उपप्रमुखमा निर्वाचित भए पनि इसरत परविनले २०७९ भदौदेखि नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। नगरका विकास चुनौती र सम्भावनाबारे कार्यवाहक प्रमुख इसरत परविनसँग गोरखापत्रका ललिता साहले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :  


एक वर्षको अवधि पूरा भएको छ, तपाईंको अनुभव के छ ?

सुरुको एक वर्ष सिकाइकै वर्ष रह्यो। यो एक वर्ष तीतो अनुभव भयो। कानुन सम्मत ढङ्गले जनताको अपेक्षा र चाहना पूरा गर्नुपर्छ भन्ने मेरो मान्यता हो तर यहाँ कसैले नियम र प्रणाली मान्न चाहँदैनन्। अधिकतम प्रयास गर्दागर्दै पनि गत वर्ष अधिकांश योजना अधुरा रहे तर समिति र ठेकेदारले पूरै पैसा निकासा लिन खोजे। मैले त्यो रोके। यसले गर्दा धेरैले असहज महसुस गरे र काममा भाँजो हालियो। यी सबै अप्ठेरा हुँदाहुँदै पनि राजविराज पोलिटेक्निकल इन्स्टिच्युट र स्वास्थ्य ल्याब सञ्चालन, जिल्ला प्रशासन कार्यालयमा टोकन प्रणाली व्यवस्थापनमा सहयोग, बसपार्क, हटियालगायत पुराना योजनाको काममा तीव्रता आएको छ। 

 नगर प्रमुख भएर काम गर्ने अवसर प्राप्त भएको छ। चुनौती थपिएको होला नि ?

म उपप्रमुख भएर आए तर नगर चलाउने अवसर पाएको छु। आफ्नै दल जनता समाजवादी पार्टीका केही व्यक्ति कामै नगरी भुक्तानी चाहन्छन्, त्यो कदापि हुँदैन भनिदिए तर अन्य पार्टीका नेतृत्वपङ्क्ति तथा नगरवासीले पूर्ण सहयोग गरेका छन्। वर्षौंदेखिको अपारदर्शी कर्मचारी तन्त्रको साथमा काम गर्नुपर्छ, मलाई जानकारी नदिई काम गर्छन्, खरिद र योजनाका रकम खर्चिन्छन्। यस्ता समस्या समाधानका लागि मैले प्रयास थालिसकेको छु। त्यसबाहेक काम गर्दै जाँदा नगरपालिकामा सरसफाइ, शिक्षा क्षेत्रको सुधार र सामाजिक क्षेत्रमा काम गर्न अलि बढी चुनौती देखिएको छ। कर्मचारी र नगरवासीसँग मिलेर सशक्त कार्ययोजनाका साथ यी क्षेत्रको सुधारको निम्ति मैले आगामी दिनमा काम गर्न सोचेको छु।

 तपाईं अल्पसङ्ख्यक, मुस्लिम समुदायको महिलाले नगर प्रमुख रूपमा काम गरिरहनुभएको छ। समाजको दृष्टिकोण कस्तो पाउनुभएको छ ?

समाजका लागि काम गर्न अगाडि आए तर त्यही समाजले तिमी महिला हो तिमी मुस्लिम समुदायको हो भन्ने अनुभूति गराउने प्रयास गरिरहेको छ तर पनि म नेपाली नागरिक हो र नागरिकको समान अधिकारको सदुपयोग गर्ने अवसर पाएको छु। त्यही समाजका लागि केही गर्ने अठोट लिएको छु र गर्छु ।

 नगरको काममा अनियमितताको चर्चा छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन र स्थलगत अनुगमन गरेको छ। यसलाई कसरी लिनुभएको छ ?

अख्तियारको टोली आएर आयोजना अनुगमन गर्नु भनेको मेरो आँखा पुग्न नसकेको ठाउँमा निगरानी गरेर नगरपालिकाको सम्पूर्ण टिमलाई सचेत गराएको छ। यसले मलाई सहयोग भएको छ। योसँगै कामै नगरी भुक्तानी लिन चाहनेलाई पनि सजग गराएको मैले ठानेको छु।

 लामो समयदेखि काम गरिरहेका धेरै कर्मचारी निकाल्नुभएको छ। नगरको कामकाजमा अप्ठ्यारो परेको छैन ?

कर्मचारीको अभावमा काम गर्न थोरै असहज भए पनि नगरपालिकाले कर्मचारी भर्नाको विज्ञापन गरिसकेको छ। निकालिएका कर्मचारीमध्येबाट प्रतिस्पर्धा गरेर आए भने तिनीहरूलाई प्राथमिकतामा राखेर नगरपालिकाले करारमा नियुक्ति दिने छ।

 सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर निकै खस्केको जनगुनासो छ। शिक्षा क्षेत्रका समस्या समाधान गर्न के योजना छ ?

मैले जिम्मेवारी सम्हालेदेखि सबभन्दा प्राथमिकतामा राखेको पाटो भनेको शिक्षा नै हो। सामुदायिक विद्यालयको निरन्तर अनुगमन गरेको छु। त्यहाँ मैले शिक्षाको गुणस्तर अत्यन्तै कमजोर देखेँ। हामीसँग भएका दक्ष र अनुभवी शिक्षकले पनि विद्यालयको पढाइ र विद्यार्थीको निगरानीमा बेवास्ता गर्ने गरेको मैले पाएँ। त्यसैले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ठोस कार्यक्रम ल्याउने सोचमा छु। 

 बाँकी अवधिका लागि कस्ता योजना कार्यक्रम अगाडि बढाउनुहुन्छ ? 

अबको एक वर्षभित्रै विगतदेखि सञ्चालित गौरवका आयोजनालाई पूर्णता दिइने छ। ग्रामीण बेरोजगार महिलाका लागि सिप र रोजगारीसहितको एकीकृत योजना ल्याउने तयारी गरेको छु। यसले कम्तीमा प्रतिवर्ष १०–१२ जना महिलाले स्वरोजगार हुनेछन्। शिक्षातिर नगरको बजेटमध्ये सबैभन्दा उच्च २० प्रतिशत रकम छुट्याएर सामुदायिक विद्यालयको गुणस्तर सुधारमा लगानी गर्ने छु। पहिलो चरणमा सबै सामुदायिक स्कुलमा टिनको छानो विस्थापित गरी पक्की भवन निर्माण, पङ्खा, खानेपानी, शौचालय, बाउन्ड्री वाललगायतका भौतिक संरचना बन्ने छन्। दोस्रो चरणमा योग्य शिक्षक पदपूर्ति र तेस्रो चरणमा गुणस्तरीय पठनपाठनमा जोड दिइने छ। स्वास्थ्य सेवा र सरसफाइ तथा कृषिलाई आगामी वर्षदेखि प्राथमिकतामा राख्ने तयारी गरेको छु।