• ९ मंसिर २०८१, आइतबार

गैरसरकारी संस्थालाई विद्युत प्रसारण लाइन बनाउन दिनुहुँदैन : कुलमान घिसिङ

blog

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ।

काठमाडौं, असार ७ गते । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काठमाडौंमा विद्युतको तार भूमिगत गर्ने काम भइरहेको भन्दै केही महिना नागरिकले अप्ठ्यारो व्यहोर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्नुहुँदै प्रबन्ध निर्देशक घिसिङले काठमाडौंमा विद्युतको तार भूमिगत गर्ने काम भइरहेको बताउनुभयो । खानेपानीको पनि भूमिगत गर्ने काम भइरहेको भन्दै उहाँले प्राधिकरणले तार भूमिगत गरिसकेपछि खानेपानीको काम नसकिएसम्म सडक पिच गर्न नसकिने बताउनुभयो । उहाँले भूमिगत गर्ने काम निकै अप्ठ्यारो रहेको भन्दै सबै निकायको समन्वय आवश्यक पर्ने जिकिर गर्नुभयो । उहाँले तार भूमिगत गर्ने काम गरुन्जेल दुई, चार महिना अप्ठ्यारो व्यहोर्नुपर्ने बताउनु भयो ।

प्रबन्ध निर्देशक घिसिङले एनजिओ आइएनजिओहरुलाई विद्युत प्रसारण लाइन बनाउन दिनु नहुने बताउनुभयो । त्यस्तै, एउटा प्रसारण लाइनको क्याबिनेटबाट स्वीकृत भएपछि कटान आदेश आउन पाँच वर्ष समय लाग्ने भन्दै ढिलो नहुने कानुनी व्यवस्था गर्न सांसदहरूलाई ध्यानाकर्षण गराउनुभयो ।

‘‘भूमिगत हामीले गरिरहेका छौँ । अलिकति काठमाडौंमा तारमा मात्रै होइन खानेपानीको पनि धेरै भूमिगत कामहरू भइरहेको छ । हामीले गरिसकेपछि खानेपानीको नसकिएसम्म त्यसलाई पिच गर्नसक्ने स्थिति छैन । म काठमाडौंका सबै पब्लिकलाई म के अनुरोध गर्न चाहन्छु भने भूमिगत गर्नलाई धेरै नै अप्ठ्यारो स्थिति छ । सडकको, सबैको समन्वय भएन भने यो प्रोजेक्ट सम्पन्न गर्न गाह्रो छ ।,’’ निर्देशक घिसिङले भन्नुभयो, ‘‘अलिकति राम्रो देख्नका लागि दुई, चार महिना अप्ठ्यारो पनि व्यहोर्नुपर्ने स्थिति म देख्छु । अर्को कुरा, एनजिओ, आइएनजिओहरुको कारणले नेपालमा प्रसारण लाइन बनाउनु हुँदैन । एउटा प्रसारण लाइनको क्याबिनेटबाट स्वीकृत भएपछि कटान आदेश आउन पाँच वर्ष लाग्छ । यी विषयहरूलाई माननीयज्यूहरूले सम्बोधन गर्नुपर्‍यो । यो सम्बोधन नभईकन यो काम भएन, ऊ काम भएन । गर्नसक्ने स्थिति छैन ।’’

उहाँले देशभरिको विद्युतका पोल सार्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पोल सार्न मात्रै प्राधिकरणलाई ५० अर्ब रुपियाँ चाहिने बताउनुभयो ।