काठमाडौँ, वैशाख १५ गते । मुलुकमा चियाको आयातनिर्यात दुवै बढेको छ । स्वदेशी उत्पादन बाहिरी मुलुकमा निर्यात हुने र बाहिरी मुलुकबाट नेपालमा चिया आयात हुने क्रम बढेको तथ्याङ्कले देखाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको माग बढ्दा निर्यातमा वृद्धि भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कले देखाएको छ । उच्च प्रशोधन प्रविधिबाट प्रशोधन भएको चिया उपभोक्ताको रोजाइमा पर्ने भएकाले चिया आयातसमेत बढ्दै गएको तथ्याङ्कले देखाएको छ । नेपालमा उत्पादन भएको ४५ प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने र बाँकी निर्यात हुने गर्छ । नेपालमा उत्पादित ८५ प्रतिशत चिया भारतमा निर्यात हुने र आयात पनि भारतबाट धेरै हुने गर्छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८१/८२ मा चार अर्ब ५९ करोड रुपियाँ बराबरको एक करोड ५६ लाख केजी निर्यात भएको छ । आव २०८०/८१ मा तीन अर्ब ६२ करोड ५० लाख रुपियाँको एक करोड ३९ लाख १६ हजार केजी चिया निर्यात भएको छ ।
यस्तै आव २०८१/८२ बाहिरी मुलुकबाट नौ करोड २९ लाख रुपियाँ बराबरको एक लाख १३ हजार केजी चिया आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा तीन करोड ७८ लाख रुपियाँ बराबरको ४४ हजार ३१८ केजी चिया आयात भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा चिया आयातसमेत बढेको छ । बोर्डका प्रवक्ता डा. दीपक खनालले अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको माग बढ्दै गएकाले निर्यातमा समेत वृद्धि हुँदै गएको जानकारी दिनुभयो । विशेष गरी ग्रिन टी, ह्वाइट टी, गोल्डेन टी बढी निर्यात हुने गरेको उहाँको भनाइ छ । स्वदेशी चियाको उत्पादन बढाएर विदेशी मुद्रा भित्र्याउन सकिने ठुलो सम्भावना रहेकाले चिया खेती विस्तारमा जोड दिइएको उहाँले जानकारी दिनुभयो । निर्यातको तुलनामा न्यून परिणाममा चिया आयात भएकाले उत्पादन बढाएर आयातलाई प्रतिस्थापन गर्न सकिने उहाँको भनाइ छ । चिया खेती गर्ने क्षेत्रफल घट्दै गएकाले उत्पादनमा समेत कमी आएको तथ्याङ्कले देखाएको छ ।
यसैबिच विविध कार्यक्रम गरेर मङ्गलबार ३० औँ राष्ट्रिय चिया दिवस मनाइँदै छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ भन्ने नारासाथ चिया दिवस मनाउन लागिएको हो ।
इलामको सूर्यादय नगरपालिका फिक्कलमा चिया दिवस मनाउन लागिएको हो । चिया दिवसमा विभिन्न सात विधामा उत्कृष्ट चिया कृषक, उद्योग तथा सहकारीलाई सम्मान गरिने भएको छ । नेपालमा १५ हजार १३२ जना चिया कृषक, १७० वटा टी स्टेट र साना मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्रमार्फत ६० हजारले रोजगारी पाएका छन् ।