• ११ असार २०८१, मङ्गलबार

सामुदायिक विद्यालयमा शैक्षिक सुधार

blog

विद्यालय अनुगमनको क्रमममा श्री जनता आधारभूत विद्यालय बैरिया गुदीगाउका प्रधानाध्यापक र शिक्षकहरुसँग छोटो अन्तरक्रिया गर्नुहुँदै नगरप्रमुख महेश प्रसाद चौधरी ।

जीवछ यादव

लहान, असार ७ गते । लहान नगरपालिकाको सामुदायिक विद्यालयहरूको शैक्षिक सुधारको लागि नगर शिक्षा शाखा र जनप्रतिनिधिहरूले निरन्तर अनुगमन गरेपछि शैक्षिक सुधार देखिन थालेको छ । 

लहान नगरपालिकाले सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेर शिक्षकहरूको आपूर्ति, विद्यालयहरूको पर्खाल निर्माण, जस्तापातामुक्त विद्यालय भवन निर्माण, बालविकास शिक्षिका र विद्यालय कर्मचारीहरूको तलब वृद्धि नियमित मासिक प्रधानाध्यापकहरूको बैठक र सघन अनुगमनले सामुदायिक विद्यालयहरूमा सुधार आएको स्थानीयहरूको भनाइ छ । 

बिहानी कक्षा सञ्चालनमा आएपछि कार्यालय समयअघि लहान नगरप्रमुख महेश प्रसाद चौधरी आफै यतिबेला अनुगमनमा सक्रिय भएको भन्दै यस वर्ष लहान नगरपालिकाको शिक्षा क्षेत्रमा मात्र ६ करोड बजेट विनियोजन गर्न लागेको बताउनुभयो । 

नगरप्रमुख चौधरीले भन्नुभयो, “देशभरिमा बालविकास र विद्यालय सहयोगीले सात हजार मात्रै तलब खाइरहेको अवस्था छ तर आफू निर्वाचित भएको वर्ष नै लहान नगरपालिकाका बालविकास शिक्षिकाहरूको तलब १७ हजार र विद्यालय सहयोगीको तलब १५ हजार पुर्‍याउनुको साथै अपुग शिक्षकहरू भर्नाको लागि नगरपालिकाले १२५ जना शिक्षक भर्ना गरेको छ ।”

विद्यालय अनुगमनको क्रममा लहान–१० स्थित श्री जनता आधारभूत विद्यालय बैरियाा गुदीगाँउ लहान आइपुगेको नगरप्रमुख चौधरीले विद्यालयका प्रधानाध्यापक, शिक्षक र अभिभावकहरूसँग कुरा गर्दै थप्नुभयो, “सामुदायिक विद्यालयको भौतिक र शैक्षिक अवस्था सुधार गर्न सरोकारवालाहरू आफ्नो दायित्व निर्वाह गर्न पछि पर्नु हुँदैन । आफ्नो कार्यकालमा सामुदायिक विद्यालयहरूको अवस्था सुधार गरेर प्रेरक नगरपालिका बन्ने सोचका साथ अघि बढेका छौँ ।’

नियमित पौष्टिक खाजा आहार, प्रधानाध्यापकहरूलाई सक्रिय र शिक्षकहरूलाई समेत नियमित तालिम र आवश्यक सहयोग नगरपालिकाले गर्नुको साथै निरन्तर अनुगमनले निकै सुधार भएको श्री जनता माध्यमिक विद्यालय सो समिति गढाका प्रधानाध्यापक अरविन्द कुमार दासले बताउनुभयो