• ३१ जेठ २०८१, बिहिबार

विकासको मोडल बनाएका छौँ

blog

भारतीय सीमावर्ती क्षेत्रमा रहेको इलामको सूर्योदय नगरपालिका पर्यटन, कृषि, पशुपालन, शिक्षामा अब्बल नगरपालिका मानिन्छ । यो नगरपालिका इलामकै बढी चिया उत्पादन हुने क्षेत्र हो । अन्तु, कन्यामजस्ता पर्यटकीय क्षेत्रबाट पनि यो नगरपालिका परिचित छ । १४ वडा रहेको यो नगरपालिकाको जनसङ्ख्या ५४ हजार ७२७ छ । यो नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका तर्फबाट रणबहादुर राई रहनुभएको छ । दोस्रो कार्यकालको जिम्मेवारी वहन गरिरहनुभएका प्रमुख राईसँग गोरखापत्रका प्रेम अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :  

नगरपालिका प्रमुखका रूपमा तपाईंको दोस्रो कार्यकालको एक वर्ष बितिसकेको छ । सूर्योदय नगरपालिकाको अवस्था के छ ?

अहिले हामी दिगो विकास लक्ष्यका १६ वटा लक्ष्य पूरा गर्नेतर्फ अगाडि बढेका छौँ । ती लक्ष्यलाई आन्तरिकीकरण गर्दै अगाडि बढ्न सूर्योदय विकास मोडल बनाएका छौँ । आर्थिक विकासतर्फ यो नगरपालिका देशकै पहिलो भएको छ । हामी विषेशगरी ठुला योजना सञ्चालन गर्ने योजनासहित अगाडि बढेका छौँ । 

 विकास निर्माणका योजना चाहिँ कसरी अगाडि बढ्दै छन् ? 

यो नयाँ नगरपालिका भएकाले भवनलगायतका पूर्वाधारको कमी थियो । अहिलेसम्ममा धेरै भवन बनाइसक्यौँ । प्रत्येक वडासम्म हिउँद–बर्खा यातायत सञ्चालन हुने गरी सडक निर्माण गरेका छौँ । केही सडक कालोपत्रे भए र केही हुने क्रममा छन् । हामीले २८ वर्षमा नगरका सबै सडक निर्माण गरी सक्ने योजना बनाएर काम थालेका छौँ । स्वास्थ्यको भवन थिएन, अहिले १५ शøयाको अस्पताल निर्माण गरेका छौँ । त्यसका लागि मेसिन उपकरण जुटाएका छौँ । अस्पतालको भवन बन्दै छ । शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर काम भइरहेको छ । हामीले क्यानडाबाट उन्नत जातको गोरुको ‘सिमेन’ ल्याएर किसानलाई उपलब्ध गरायौँ, यसबाट बाछी जन्मिएका छन् । कृषिलाई यान्त्रिकीकरण र व्यावसायीकरण गराउने थुप्रै काम भएका छन् । पर्यटकीय क्षेत्र कन्याम अन्तु र फेन्सिङ गुम्बालगायतको विकासमा धेरै काम भएका छन् । 

 यो नगरपालिका चिया उत्पादनको मुख्य क्षेत्र हो । चिया खेतीका समस्या समाधानमा नगरपालिकाले कस्तो प्रयास गरेको छ ? 

चियाको समस्या समाधान नगरपालिकाले मात्र गर्न सक्दैन, सङ्घ र प्रदेश सरकार पनि लाग्नुपर्छ । अहिलेसम्म नेपालमा एउटा पनि टि टेस्टिङ र रिर्सच सेन्टर छैन, त्यो काम सूर्योदय नगरपालिकाले गर्दै छ । अक्सन मार्केट भयो भने न अन्तर्राष्ट्रिय व्यापारी र चियाका पारखी आउने हुन त्यसतर्फ ध्यान दिनुपर्छ । चिया क्षेत्रमा ‘क्रोनिक’ समस्या छन् । चियाका लागि अन्तर्राष्ट्रिय मापदण्ड किसान र व्यवसायी दुवैले पालना गरेका छैनन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड प्रभावकारी भएन । चियाको गुणस्तर नियन्त्रण, गुणस्तरीय उत्पादन, प्रशोधन र बजारीकरणका लागि कुनै पहल भएन । चिया किसानले उचित मूल्य पाएका छन् कि छैनन् भनेर हेर्ने निकाय भएन । बजारीकरणको समस्या समाधान गर्न असल चिया उत्पादन गर्नुपर्छ । 

 पर्यटन प्रवर्धनका लागि के हुँदै छ ? 

प्रदेश सरकारले सूर्योदयलाई पर्यटकीय नगरी घोषणा चाहिँ ग-यो तर यसको रणनीतिक योजना आजसम्म बनेन । प्रदेशले यी काम गर्न सक्दैन भने सङ्घीय सरकारले गरोस् भनिरहेका छौँ । हामीले कन्याममा ग्लास ब्रिज निर्माण गरिरहेका छौँ । ग्लास ब्रिज बनिसके पछि भारतीय पर्यटकको थप आर्कषण बढने पक्का छ । ट्र्याकिङ रुट र साइक्लिङ रुट निर्माण गरिरहेका छौँ । कन्याम र अन्तुको सौन्दर्यीकरण भइसकेको छ । 

 कृषि र पशुपालनमा पनि यो नगर अब्बल छ । कृषि र पशुजन्य उत्पादनको व्यावसायीकरण र बजारीकरणका लागि के गर्दै हुनुहुन्छ ? 

यो नगरपालिकाबाट सबभन्दा धेरै अमेरिका र क्यानडामा डक्चु (कुकुरले खाने छुर्पी) गइरहेको छ, युरोपमा पठाउन दूतावास, सरकारी निकाय र व्यवसायीसँग कुरा भइरहेको छ । दुग्धजन्य उत्पादन विदेशमा पठाउन खोरेत रोग मुक्त नगरपालिका बनाउनुपर्छ । यसलाई तीन–चार वर्ष लाग्ने भएपछि कार्यविधि बनाएर काम थालेका छौँ । पशु क्वारेन्टाइन निर्माण गर्ने, पशुमा खोप लगाउने, काउ म्याट वितरण गर्ने, गोठ सुधार गर्ने काम भइरहेको छ । कृषिको क्षेत्रमा सबभन्दा बढी चिया क्षेत्र सुधारमा लागेका छौँ । हामीले अक्सन सेन्टरको अभ्यास गरेका छौँ । यहाँ धेरै उत्पादन हुने इस्कुस हो । यहि सातादेखि भारतले नेपालको इस्कुस निर्यातका लागि क्वारेन्टाइन लिस्टमा राखेको छ । यो ठुलो उपलब्धि हो । वार्षिक रूपमा हामो नगरपालिकाबाट मात्र ५० लाख किलोग्राम इस्कुस भारत जाने गरेको छ । हामीले कन्याममा ठुलो कृषि उपज सङ्कलन केन्द्र निर्माण गर्दै छौँ । 

 आगामी आर्थिक वर्षको कार्यक्रम र बजेट ल्याउने बेला भएको छ । कस्ता योजना राख्दै हुनुहुन्छ ? 

हामी शिक्षालाई प्राथमिकतामा राख्छौँ । विज्ञान पढ्ने विद्यार्थीलाई व्यवहारिक बनाउन अनुसन्धान केन्द्र निर्माण गर्दै छौँ । लम्पी स्किन रोगबाट भएको क्षतिका लागि राहतका कार्यक्रम ल्याउँछौँ । 

 नगरको विकासमा प्रदेश र सङ्घीय सरकारको सहयोग त छ नि ? 

प्रदेश सरकार आफैँ अन्योलमा छ । हामीसँग समन्वय नै छैन । प्रदेश सरकार भएको महसुस स्थानीय सरकारले गर्न पाएको छैन । साझेदारीका कार्यक्रममा बाहेक खासै समन्वय छैन । सङ्घीय सरकारले पनि स्थानीय तहलाई खासै वास्ता गरेको छैन ।