काठमाडौँ, मङ्सिर ७ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज सातौँ दिन आइतबार खेल राखिएको छैन । नेपाल क्रिकेट सङ्घले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम दिन राखिएको थियो ।
भोलि सोमबार भने त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दुई खेल हुनेछन् । बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी, दोस्रो खेल दिउँसो ४ः०० बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।
हालसम्मको अङ्कतालिकाअनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार–चार अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन् । तीन खेल खेलिसकेको काठमाडौँ गुर्खाज भने दुई अङ्क जोड्दै तेस्रो स्थानमा छ । दुईवटा खेल खेलेको पोखरा भने दुवै पराजित हुँदै पुछारमा छ ।
मङ्सिर १ गतेदेखि सुरु एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । मङ्सिर २७ गते फाइनल हुनेछ । रासस