• ७ मंसिर २०८२, आइतबार

तनहुँमा सुन्तला बगैँचा सुदृढीकरण अभियान तीव्र

blog

म्याग्दे गाउँपालिकको उमाचोकको बगैंचामा फलेका सुन्तला । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, मङ्सिर ७ गते ।
तनहुँका पहाडी बस्तीमा यतिबेला सुन्तलाको रङले डाँडा–काँडा झन् सुनौलो देखिन थालेको छ । किसानको मेहनत, अनुकूल मौसम र बजारको बढ्दो मागसँगै जिल्लामा सुन्तला बगैँचा सुदृढीकरण अभियान तीव्र बन्दै गएको छ । उत्पादन विस्तारका विविध कार्यक्रमले किसानमा उत्साह थपिएको छ भने सुन्तलालाई व्यावसायिक खेतीका रूपमा स्थापित गर्ने अभियानले गति लिएको छ ।

जिल्लामा सात हजार ९२५ रोपनी क्षेत्रमा रहेका विद्यमान बगैँचालाई व्यवस्थापन र विस्तार गर्न सुन्तला फलफूल बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन भइरहेको जिल्ला कृषि विकास कार्यालय तनहुँले जनाएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ मा बगैँचा सुदृढीकरणका लागि ३० लाख रुपियाँ, र नयाँ बगैँचा स्थापना तथा विस्तारका लागि सात लाख पाँच हजार रुपियाँ विनियोजन गरिएको कार्यालयका प्रमुख गोपाल शर्मा लामिछाने बताउनुहुन्छ । लामिछानेले भन्नुभयो, “सुन्तलाको माग अहिले अत्यन्तै राम्रो छ, किसानले उत्पादन बेच्न समस्या छैन । यही अवसरलाई उपयोग गर्दै हामीले क्षेत्रफल विस्तार र व्यावसायिकीकरणमा विशेष जोड दिएका छौँ ।” कार्यक्रमबाट हालसम्म ६ सयभन्दा बढी स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् । साथै ४३ रोपनी क्षेत्रफलमा नयाँ सुन्तला बगैँचा विस्तार भई २७ कृषक परिवार लाभान्वित भएका छन् ।

गत वर्ष बगैँचा व्यवस्थापन तथा रोग नियन्त्रणका लागि कार्यालयले ठुलो मात्रामा कृषि सामग्री वितरण गरेको थियो । नौ लाख ७५ हजार ५९० किलो गोठेमल, ५० हजार ८७८ किलो पिना, २ हजार ३०९ किलो चुना, १ हजार ५४५ किलो निलो तुथो, ४० किलो रेडिमेट बोर्डो मिश्रण र मल्चिङ प्लास्टिक वितरण गरिएको कृषि प्रसार अधिकृत दिनकरमणी आचार्यले जानकारी दिनुभयो । साथै ‘ग्रिनिङ रोग’ देखिएका करिब २० रोपनी क्षेत्रफलका बिरुवा हटाएर पुनः रोपण कार्यक्रम पनि सञ्चालन गरिएको थियो । विभिन्न कार्यक्रममार्फत थप २६१ रोपनीमा ५ हजार ५२२ बिरुवा रोपिएको छ ।

गत वर्ष मात्र तनहुँमा ४२ करोड ५० लाख रुपियाँ बराबरको सुन्तला बिक्री भएको तथ्याङ्क छ ।  उच्च माग, सुलभ बजार र सरकारले सञ्चालन गरेको प्रवद्र्धन कार्यक्रमका कारण किसानको रुचि वर्षैभरि बढ्दो छ । सुन्तलाको स्थिर बजार, उत्पादनमैत्री कार्यक्रम र किसानको बढ्दो आकर्षणसँगै तनहुँ अब प्रदेशकै प्रमुख सुन्तला उत्पादन केन्द्रका रूपमा उभिँदै छ । बगैँचा सुदृढीकरणदेखि नयाँ रोपाइँसम्मका अभियानले जिल्लाको पहाडी भू–भागमा कृषि सम्भावनाको नयाँ ढोका खोलिदिएको कृषकहरूको अनुभव छ । आगामी वर्ष अझै उत्पादन बढ्ने अपेक्षासहित तनहुँका पहाडहरू यतिबेला ‘सुन्तलामय’ बनेका छन् ।